
४ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारीको रकम अपचलन गर्ने रवि लामिछाने र गृहमन्त्री रवि लामिछाने एउटै हुन् कि होइनन् छुट्याउन संसदीय समिति आवश्यक रहेको बताएका छन् ।
यो जाँच्ने क्षमता प्रहरीमा नरहेको भन्दै उनले मंगलबार कञ्चनपुरमा संवाद यात्राका क्रममा भने, ‘अब सहकारी ठग्ने र गृहमन्त्री रवि लामिछाने एउटै हुन् कि होइनन् भनेर संसदीय छानबिन समिति बनाएर खोज्न पर्यो कि परेन ?’
बुटवलको सुप्रिम वचत तथा ऋण सहकारी संस्थाका वचतकर्ताले दिएको उजुरीका आधारमा प्रहरीले गरेको अनुसन्धानका क्रममा गृहमन्त्री रवि लामिछानेको नाममा उक्त सहकारीबाट २ करोड रुपैयाँ लिएको पाइएको थियो । प्रहरी अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले २८ जनाविरुद्ध सहकारी ठगी मुद्दा चलाएको छ ।
यो मुद्दामा प्रहरीले गरेको अनुसन्धानले पनि संसदीय छानबिनको आवश्यकता पुष्टि गरेको महामन्त्री थापाको भनाइ छ । थापाले भने,‘प्रहरीले केलाई आधार बनायो भने सहकारीमा ठगी गर्ने रवि लामिछाने र अहिलेको गृहमन्त्री रवि लामिछाने एउटै हुन् कि होइनन् भन्ने थाहा नभएकाले त्यो अनुसार प्रतिवादी बनाउन सकिएन ।’
सर्वसाधारणले कानुन मिच्दा जुन दण्ड पाउँछन् ठूला भनिएका व्यक्तिले पनि त्यसै अनुसार दण्ड पाउनुपर्ने उनले बताए । पुरानाले सजाय पाउने तर नयाँले नपाउने भन्ने नहुने थापाको भनाइ छ । ‘आफ्नै पार्टीको होस्, अरु पार्टीको होस्, यो पार्टीको त्यो पार्टीको भन्दैनौं’ थापाले भने ।
जनतामा लोकप्रिय र सरकारमा शक्तिशाली छु भन्दैमा कानुन भन्दा माथि कोही पनि नहुने उनको भनाइ छ ।
प्रतिक्रिया 4