
४ वैशाख, जनकपुरधाम । मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको मधेश प्रदेशसभाको बैठक अझै सुरु हुन सकेको छैन ।
दिउँसो २ बजे बसेको बैठक जनमत पार्टीको अवरोधका कारण १० मिनेटका लागि स्थगित गरिएको थियो । त्यसपछि भने बैठक सुरु नै हुन सकेन ।
बैठक सञ्चालनका विषयमा दलहरुबीच सहमति खोज्न भएको छलफल निर्णयमा पुग्न सकेको छैन । प्रदेशसभा स्थगित भएपछि बसेको सर्वदलीय बैठक चारघण्टादेखि जारी छ । तर, सरकार छानबिन समिति गठन गर्न तयार नहुँदा निष्कर्षमा नपुगेको जनमतका सांसद सतीशकुमार सिंहले बताए ।
जनमतले गत ८ माघमा सप्तरीको राजविराजमा कृषि विश्वविद्यालयको भवन शिलान्यासको क्रममा तत्कालिन शिक्षामन्त्री महेश प्रसाद यादव लगायतमाथि भएको आक्रमणको विषयमा छानबिन समिति बनाउन माग गरेको छ ।
माग पूरा नगरेसम्म सदन चल्न नदिने भन्दै जनमतले अवरोध गरेपछि एमालेले प्रतिवाद गरेको थियो । त्सस क्रममा काँग्रेसका सांसदहरुसमेत जनमतको पक्षमा उभिएर नाराबाजी गरेका थिए ।
प्रतिपक्षी र सत्तापक्षका सांसदहरुबीच चर्काचर्की हुन थालेपछि सभामुख रामचन्द्र मण्डलले बैठक १० मिनेटको लागि स्थगित गरेका थिए ।
प्रतिक्रिया 4