गर्भावस्थाकै कारण महिलाको छालामा विभिन्न प्रकारको परिवर्तन देखा पर्छ । गर्भावस्थामा छाला सुख्खा र संवेदनशील हुन्छ, जसले गर्दा पनि छाला सम्बन्धी विभिन्न समस्या देखा पर्छ ।
छाला सुख्खा हुने, छाला चिलाउने, चाया पोतो आउने र डाबर आउने जस्ता छालाको समस्या गर्भावस्थामा देखापर्नु सामान्य हो । गर्भावस्थामा छालाको सामान्य देखि जटिल समस्या समेत देखिन सक्छ । यी समस्याहरू गर्भावस्थाको कुनै पनि चरणमा देखा पर्न सक्छन्, तर पनि अधिकतर समस्याहरू भने दोस्रो र तेस्रो त्रैमासिकमा देखिन्छन् ।
छाला चिलाउने समस्या ‘कोलेस्टेसिस’
गर्भावस्थामा प्रोजेस्टोन हर्मोनको मात्रा बढि हुन्छ । प्रोजेस्टोनको मात्रा बढि हुँदा त्यसले पित्तथैलीबाट आउने पित्तको प्रवाहमा असर गर्छ जसले गर्दा गर्भवती महिलाहरूमा शरीर चिलाउने समस्या देखा पर्छ । विशेष गरी हत्केला र पैताला धेरै चिलाउने समस्या हुन्छ । यो समस्या गर्भावस्थाको तेस्रो चरणमा देखा पर्छ ।
पेटको बच्चा ठुलो छ, पेटमा एक भन्दा बढी बच्चा हुर्किरहेको छ र पहिलो बच्चा जन्मने महिलाहरूमा यो समस्या देखा पर्ने जोखिम बढि हुन्छ ।
गर्भावस्थामा देखापर्ने अन्य छाला सम्बन्धी समस्याहरु
‘एक्जिमा’ एलर्जी
गर्भावस्थामा विभिन्न प्रकारका हर्मोनको गडबडी हुन्छ । साथै गर्भवतीको रोग प्रतिरोधात्मक क्षमता निकै कमजोर भएमा एक्जिमाको जोखिम बढ्न सक्छ । यो बेला छाला सुख्खा हुने हुँदा छालाको सङ्क्रमणको जोखिम बढ्छ, यसकै कारण महिलाहरू एक्जिमाको सिकार हुन सक्छन् ।
चाया पोतो
गर्भावस्थामा अनुहारको छालामा चाया पोतो देखिने समस्या पनि धेरैमा देखा पर्ने गर्छ । चाया पोतो गर्भावस्थाको दोस्रो तीन महिनाबाट देखिन थाल्छ । यो बढ्दै जान सक्छ । गर्भावस्थामा छाला संवेदनशील त्यसमाथि उच्च मात्राको ईस्ट्रोजेनको कारण अनुहारमा चाया पोतो आउने सम्भावना बढ्छ ।
स्ट्रेच मार्क
गर्भधारणको क्रममा वजन बढ्नु, स्तनको आकारमा परिवर्तन हुनु, गर्भाशय बढ्नु जस्ता कारणले गर्भवती महिलालाई स्ट्रेच मार्क हुन्छ । जब छालामा अचानक बढी परिवर्तन हुन्छ, तब छालामा समावेश कोलाजन र इलास्टिन, जसले छालालाई टाइट राख्छ, त्यो स्ट्रेच भएर टुक्रिन्छ । यही कारण गर्भावस्थामा स्ट्रेच मार्कको समस्या देखा पर्छ ।
डन्डीफोर
गर्भावस्थामा डन्डीफोरको समस्या पनि सामान्य रूपमा देखा पर्छ । यो बेलामा हुने हर्मोनको मात्रामा आउने परिवर्तनको कारण डन्डिफोरको समस्या निम्तिन्छ । गर्भावस्थामा छाला संवेदनशील हुने र एन्ड्रोजन हर्मोनको स्तर बढ्ने कारणले डन्डिफोरको समस्या देखा पर्छ ।
छाला कालो हुने
गर्भावस्थामा नाइटोदेखि तल कम्मरको हड्डीसम्म कालो धर्को देखापर्ने पनि हुन्छ । अनुहार, स्तनमा पनि कालो देखापर्ने र बिस्तारै सम्पूर्ण शरीर नै कालो हुने हुन्छ । यस्तोमा शरीरको छालामा भएको परिवर्तन कुनै रोग पो हो कि भन्ने पनि लाग्न सक्छ । तर, यो पनि गर्भावस्थामा हुने छालाको सामान्य समस्या हो यसबाट खासै आत्तिनु पर्दैन ।
डाबर आउने
गर्भावस्थामा आगोले पोले जस्तो हुने, फोका उठ्ने समस्या पनि देखिने सम्भावना हुन्छ । यस्तो समस्या देखिएको खण्डमा छाला रोग विशेषज्ञको परामर्श लिनुपर्छ । साथै केही गर्भवती महिलाहरूमा पेट तथा तिर्घामा सानो सानो बिमिरा आउने समस्या पनि हुन सक्छ ।
गर्भावस्थामा छालको समस्या देखिए के गर्ने ?
गर्भावस्थामा सामान्य देखि जटिल किसिमका छालाको समस्या देखा पर्छन् । यो अवस्थामा छालामा देखिने समस्याका लागि कडा प्रकारको उपचार वा औषधिको प्रयोग गर्न नहुने भएकाले छालाको स्याहारमा विशेष नै ध्यान दिनुपर्छ ।
गर्भावस्थामा सामान्य खाले छालाको समस्या देखियो भने छालालाई सुख्खा हुन नदिन नियमित मोस्चराइजरको प्रयोग गर्नुपर्छ ।
गर्भवती हुनु भन्दा पहिले नै छाला सम्बन्धी केही समस्या छ भने त्यसको उपचार गरेर मात्र गर्भवती भयो भने छालाको जटिल समस्या निम्तिने जोखिम कम हुन्छ ।
गर्भावस्थामा महिलाले एलर्जी हुने कुरा याद गरेर एलर्जीहरूबाट जोगिएर पनि छालाको समस्याबाट बच्न सक्छन् ।
छाला सम्बन्धी सामान्य समस्या देखिएमा जटिल हुन नदिन घाममा धेरै समय नबस्ने, सनस्क्रिनको प्रयोग गर्ने, पुरा बाहुला कपडा लगाउने ।
कतिपय अवस्थामा गर्भवती महिलाको अवस्था हेरेर यसको उपचार गर्नुपर्छ । गर्भावस्थामा जटिल प्रकारको छाला सम्बन्धी समस्या देखा पर्यो भने गर्भवती महिलाले जुन पायो त्यही औषधि सेवन गर्न मिल्दैन । त्यसैले अस्पताल गएर चिकित्सकको सल्लाहमा गर्भावस्थामा असर नगर्ने किसिमको औषधिको सेवन गर्नुपर्छ ।
प्रतिक्रिया 4