+
+

उपेन्द्र सुब्बा निर्देशित ‘मनसरा’को ट्रेलर : चरित्रको गहिराइमा विवाहेत्तर सम्बन्धको कथा

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ५ गते १७:०२

काठमाडौं । ‘जारी’ निर्देशक उपेन्द्र सुब्बाको दोस्रो कथानक फिल्म ‘मनसरा’को ट्रेलर सार्वजनिक भएको छ । बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सोसल–ड्रामा फिल्मको ट्रेलर सार्वजनिक गरियो ।

अन्तरजातीय प्रेम र विवाहेत्तर सम्बन्धको कथावस्तुमा निर्माण भएको फिल्ममा मिरुना मगर, प्रवीण खतिवडा, दयाहाङ राई र मेनुका प्रधानको अभिनय छ । फिल्मको केन्द्रीय कथावस्तु प्रवीण र मिरुना वरपर घुम्छ ।

ट्रेलरले कथा, चरित्र चित्रण र द्वन्द्वको आयामलाई प्रकाश पार्छ । घरमा पत्नी हुँदाहुँदै सन्तान भएकी लिम्बू महिलासँग सम्बन्ध गाँस्न र गाँस्दा आउने सामाजिक र मनोवैज्ञानिक उतारचढाव यसको केन्द्रीय कथावस्तु हो ।

फिल्ममा एकातिर दयाहाङ र मिरुनाको सम्बन्धको पाटोलाई प्रस्तुत गरिएको छ भने अर्कोतिर प्रवीणसँग उनको सम्बन्धलाई दर्शाइएको छ । प्रवीण दूध बिक्री गर्ने किसानको भूमिकामा देखिएका छन् भने मेनुका उनकी पत्नीको भूमिकामा छिन् । उनको लवज सुन्दा उनले नेवारी चरित्र निर्वाह गरेको देखिन्छ । मेनुका र प्रवीणका पात्रको नोकझोंक रोचक छ ।

दूध बाँड्ने क्रममा प्रवीण र मिरुना निकट हुन्छन् र कथा त्यहीअनुसार अघि बढ्छ । पालम गाउँदै गरेका दयाहाङको ‘इन्ट्री’ पनि रोचक छ । उनको पात्रलाई विस्तृत नखुलाई ‘सस्पेन्स’ राखिएको छ ।

निर्देशक सुब्बाले यसअघि मिरुना र दयाहाङलाई लिएर ‘जारी’ निर्देशन गरेका थिए, जुन व्यावसायिक रुपमा ब्लकबस्टर सावित बन्यो । यसपटक पनि उनले पूर्वी नेपालको जातीय, सांस्कृतिक, सामाजिक र लैंगिक पक्षलाई कथावस्तुको मियोको रुपमा प्रस्तुत गरेका छन् ।

चर्चित कवि विप्लव प्रतीक पनि फिल्ममा देखिएका छन् । एक्टरको रुपमा यो उनको डेब्यु फिल्म हो । फिल्ममा शान्ति गिरी, हेमन्त बुढाथोकी, विप्लव प्रतीक, नीनाहाङ राई, जीवन बराल, सुवासचन्द्र पोखरेल लगायतको अभिनय छ । यो फिल्मबाट छायाकार समेत रहेका शैलेन्द्रध्वज कार्कीले निर्माण थालेका छन् ।

पत्रकार सम्मेलनमा वितरण कम्पनी एप्पल इन्टरटेनमेन्टका प्रमुख तथा क्यूएफएक्स हलका निर्देशक नकिम उद्दिन, डीसीएनका प्रबन्ध निर्देशक अशोक शर्मा, निर्देशक नवीन सुब्बा लगायतले शुभकामना दिए ।

‘मनसरा’ फिल्म वैशाख २१ गतेबाट प्रदर्शन तयारीमा छ । फिल्म निर्माणमा कबड्डी फिल्म्स र बाँसुरी फिल्म्सले सहकार्य गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?