+
+

मानवअधिकार आयोगको सचिवमा मुरारी खरेल नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ६ गते १८:३१

६ वैशाख, काठमाडौं । सरकारले राष्ट्रिय मानवअधिकार आयोगको सचिवमा मुरारीप्रसाद खरेललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले खरेललाई आयोगको सचिवमा बढुवा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

हाल आयोगको कायममुकायम सचिव रहेका खरेल दोस्रोपटकको सिफारिसमा सचिवमा नियुक्त भएका हुन् । गतसाता राष्ट्रिय मानवअधिकार आयोगले उनलाई सचिवका लागि पुनः सिफारिस गरेका थियो ।

खरेललाई यसअघि १३ कात्तिकमा आयोगले मानवअधिकार सेवातर्फको विशिष्ट श्रेणीको सचिवमा बढुवाका लागि सिफारिस गरेको थियो ।

तर, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले प्रक्रिया नमिलेको भन्दै आयोगलाई पुनः सिफारिस गर्न भनेको थियो । फेरि आयोगले पुरानै प्रक्रियालाई नै पछ्याएर खरेलको मात्रै नमा सचिव बढुवाका लागि सिफरिस गरेको थियो ।

आयोगका सदस्य प्रा. सूर्यप्रसाद ढुंगेलको संयोजकत्वमा बनेको समितिले गरेको मूल्यांकन प्रतिवेदनमा खरेल र यज्ञप्रसाद अधिकारीले समान अंक पाएका थिए थिए भने अर्का प्रतिस्पर्धी टिकाराम पोखरेलले केही कम अंक पाएका थिए ।

तर, करिब अढाई वर्ष कामु सचिव भएर काम गरिसकेको भन्दै आयोगले बहुमतको निर्णयका आधारमा खरेललाई सचिवका लागि सिफारिस गरेको थियो ।

प्रतिस्पर्धी रहेका अधिकारीले प्राप्तांकप्रति असन्तुष्टि पनि जनाएका थिए । तर, २१ माघमा सो सिफारिसलाई प्रधानमन्त्री कार्यालयले विभिन्न कारण देखाएर फिर्ता गरेको थियो ।

प्रक्रिया पूरा गरेर फेरि सिफारिस पठाउन भन्दै प्रधानमन्त्री कार्यालयले आयोगमा पत्र पठाएको थियो । तर, यसले आयोगको स्वायत्ततामाथि हस्तक्षेप हुने भन्दै विरोध भएको थियो ।

आयोग ३४ महिनादेखि सचिवविहीन छ । कायममुकायम सचिवले लामो समय चलाइसकेको आयोगमा सचिव नियुक्तिका लागि अघि बढेको प्रक्रियासमेत अलमलमा परेको ५ महिना बितिसकेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?