+
+
आरोहण/अनुभव :

सुन्दर हिमाल अब चित्रमा मात्र बाँकी रहनसक्छ …

हिमाल आरोहणको क्षेत्रमा दुई दशकदेखि काम गरेको अनुभवका आधारमा भन्दैछु– अहिले देखिने सेता र कञ्चन हिमालहरू निकट भविष्यमै काला चट्टानी पहाडमा रूपान्तरित हुँदैछन् र साहसिक आरोहणका लागि आतुर युवा यसको साक्षी बन्नुपर्नेछ ।

पासाङ ओंग्चु शेर्पा पासाङ ओंग्चु शेर्पा
२०८१ वैशाख ८ गते ७:५०

हिमाल आरोहण गर्न थालेको दुई दशक भइसकेछ । यसबीचमा मैले सगरमाथा आरोहण मात्रै पटकपटक गरिसकें । ८ हजार मिटरभन्दा माथिका ६ वटा हिमाल र ६ हजारमाथिका दर्जनौं हिमाल आरोहण गरिसकें ।

सगरमाथा, अन्नपूर्ण, मनास्लु, लाङटाङ लगायत हिमालका उचाइ नाप्ने मेरो यात्रा रहरबाट अब बाध्यता बनिसकेको छ । यही सिजनमा पनि म सगरमाथा आरोहणका लागि निस्किएको छु । हिमाल आरोहणका संघर्ष र उचाइका कथाले आम युवाहरूलाई पक्कै पनि आकर्षित गरिरहेकै हुन्छ । त्यसैले त विश्वभरबाट हिमाल आरोहणका लागि लाखौं खर्च गरेर नेपाल आउने गर्छन् ।

उनीहरूलाई हिमालको साहसिक यात्राले पक्कै लोभ्याउँछ । तर सेतो, सफा र कञ्चन हिमालको चित्र अब धुमिलिंदै गएकोमा हामी कति चिन्तित र सोचमग्न छौं ? पछिल्ला वर्षहरूमा हिमालको फेरिंदै गरेको कुरुप चित्रले विश्वभरका आम मानिसलाई पक्कै पनि चिन्तित बनाएको हुनुपर्छ ।

म हिमाली जिल्ला सोलुखुम्बुको शेर्पा र यही क्षेत्रमा दुई दशकदेखि काम गरेको अनुभवका आधारमा भन्दैछु-अहिले देखिने सेता र कञ्चन हिमालहरू निकट भविष्यमै काला चट्टानी पहाडमा रूपान्तरित हुँदैछन् । र, साहसिक आरोहणका लागि आतुर युवाहरू यसको साक्षी बन्नुपर्नेछ ।

१० वर्षअघिसम्म म हिमाल चढ्ने बेला अग्ला आइसपोलहरू प्रशस्त देखिन्थे । बाक्लो हिउँ आधारशिविरतिर जमेर बसेको हुन्थ्यो । विशेषगरी सगरमाथा आधारशिविरतिर सुन्दर र अग्ला आइसपोलहरू पर्याप्त थिए । गत वर्ष मात्रै म सगरमाथा आरोहणका लागि जाँदा पहिलेका आइसपोलहरू हराइसकेका थिए । आधारशिविरमा प्रशस्त क्याम्पहरू गाडिएका थिए । सेताम्मे देखिने हिउँ पग्लिएर काला चट्टानका चुच्चाहरू माथिसम्मै थिए । ठूलो संख्यामा आरोहीहरू एकै क्याम्पमा मिलेर बस्न सक्थे । हिमाल सुन्दर मात्रै थिएन, साँच्चिकै साहसिक पदयात्रा पनि थियो ।

हिमालको त्यो मौलिकता अब विस्तारै बिलाउँदै गइरहेको अनुभव हुन थालेको छ । बेसक्याम्पमा पुग्ने हो भने अचेल थुप्रै क्याम्पहरू अव्यवस्थित देखिन्छन् । पदयात्रीहरूले फाल्ने प्लास्टिक र अन्य वस्तुहरूले हिमाललाई कुरुप बनाइसकेका छन् । र कतिपय प्लास्टिकजन्य वस्तुहरू त हिमालमुनि नै जमेर कहिल्यै निकाल्न नसकिने अवस्थामा रहनेछन् ।

जति द्रुत गतिमा हिमालमा क्षति भइरहेको छ त्यसको संरक्षण झनै द्रुत गतिमा गरिनुपर्छ । आज हिमाली क्षेत्रमा जे–जस्ता समस्या देखिएका छन् यसभन्दा पनि अकल्पनीय र अनपेक्षित घटना जुनसुकै बेला हुन सक्छन्

हिमाल अब साहसिक नभएर ‘लग्जरी’मा परिणत हुन थालेको छ । सुन्दरता त अब चित्रमा मात्रै कैद हुने हो कि भन्ने चिन्ता उत्पन्न भएको छ । दशकअघि देखिने आइसपोलहरू अब गायब भइसकेका छन् । आधारशिविरमा मानिसहरू जाने–आउने क्रम अब नगरकोट घुम्न गएझैं हुन थालेको छ । यस्तो लाग्छ कि भविष्यमा युवाहरू मोटरसाइकल चढेरै सगरमाथा आरोहण गर्न सक्ने दिन पो आउने हो कि, चिन्ता छ ।

यसर्थ हिमाल अब पर्यटन र आम्दानीको स्रोत मात्रै नभएर मानव जातिको अस्तित्वसँग नै जोडिन थालेको विज्ञहरूले बताउन थालेका छन् । हिमाल संरक्षणको मुद्दालाई अब मूल बहसको विषय बनाइन्छ कि बनाइँदैन भन्ने कुराले नै हामी मानव सभ्यताको अस्तित्वप्रति कति चिन्तित छौं भन्ने पुष्टि गर्छ ।

यसका लागि हिमाली क्षेत्रमा पछिल्लो समय भइरहेका गम्भीर लापरबाहीहरू कसरी रोक्ने र संरक्षणका लागि अबका व्यावहारिक र वैज्ञानिक उपाय के हुन्छन् भन्ने विषयमा गम्भीर विमर्श हुनु जरूरी छ ।

पछिल्लो समय हिमालमा हिउँ पग्लिने र हिमालको मौलिक स्वरूप फेरिंदै जाने विश्वव्यापी चिन्ताको विषय बन्दै आएको छ । यसले हिमाली क्षेत्र मात्रै नभएर समग्र मानव सभ्यतामाथि नै संकट निम्त्याउँदै गरेको भन्दै सरोकारवालाहरूले गम्भीर चिन्ता व्यक्त गरिरहेका छन् ।

त्यसो त हिमाली क्षेत्रमा यसरी वातावरणीय असर देखिनुको पछाडि अरू केही नभएर मानवीय कारण नै हो । तर हिमालयको देशको रूपमा चिनिने नेपालले यो क्षतिलाई रोक्न के–कस्ता पहल गरेको छ र अब लागू गर्नुपर्ने व्यावहारिक उपाय के हुनुपर्छ भन्ने चाहिं आजको मूल बहस हुनुपर्ने हो ।

हिमाल संरक्षणको उपाय

विश्वभरबाट धेरैले प्रश्न उठाउन थालेपछि नेपाल सरकारले पछिल्ला केही वर्षयता हिमाल सफा राख्न भन्दै नेपाली सेनाको टोलीलाई हरेक वर्ष हिमाल आरोहण गराउँदै आएको छ । करोडौं रुपैयाँ खर्च गरी नेपाली सेनाको टोलीलाई आरोहण सीप सिकाएर त्यहाँ थुप्रिने फोहोर संकलन गर्न थालिएको छ । तर के यो उपाय व्यावहारिक र प्रभावकारी छ त ? त्यसमाथि भने कुनै विमर्श भएको छैन ।

यसको विकल्पमा सदियौंदेखि हिमालमै जिउन सिकेका स्थानीय शेर्पाहरूलाई पो फोहोर संकलनको काममा प्रयोग गर्ने हो कि ? कुनै हिमालको फोहोर संकलन गर्न सम्बन्धित हिमालकै आधारशिविरतिर बसोबास गर्ने शेर्पा वा स्थानीयहरूलाई नै नयाँ उपकरण दिएर फोहोर संकलन गर्न लगाउँदा झनै प्रभावकारी र व्यावहारिक पनि हुनेथियो कि ? यसबारे न त सरकारको न अन्य निकाय कसैको चासो पुगेको छैन ।

नदी, जंगल, जमिन लगायत प्राकृतिक स्रोतहरू संरक्षणको जिम्मा त्यहींका स्थानीय आदिवासी समुदायलाई दिइँदा त्यो नै सबैभन्दा प्रभावकारी हुने गरेको यसअघिका प्रशस्त उदाहरण छन् । नेपालकै सामुदायिक वन संरक्षणको मोडेल हेर्ने हो भने त्यो पुष्टि हुन्छ । स्वाभाविक पनि के छ भने सगरमाथा संरक्षणको हजारौं गुणा चिन्ता कुनै अमेरिकी पर्यटकलाई भन्दा सोलुखुम्बुकै शेर्पालाई हुन्छ र हुनु पनि पर्छ ।

ठीक त्यसैगरी हिमालमा भइरहेको लापरबाही रोक्ने चिन्ता हामीलाई बढी नै छ । विशेषगरी हिमाली क्षेत्रका बासिन्दालाई त्यहाँको संरक्षणको जिम्मा दिनु व्यावहारिक र वैज्ञानिक पनि हुन्छ । बरु त्यसका अनेक तरिका हुनसक्छन् । तर हिमाल आरोहीहरूसँग कर उठाउने र प्लास्टिकहरू संकलन गरेर मात्रै अब हिमालको संरक्षण सम्भव छैन ।

जति द्रुत गतिमा हिमालमा क्षति भइरहेको छ त्यसको संरक्षण झनै द्रुत गतिमा गरिनुपर्छ । आज हिमाली क्षेत्रमा जे–जस्ता समस्या देखिएका छन् यसभन्दा पनि अकल्पनीय र अनपेक्षित घटना जुनसुकै बेला हुन सक्छन् भन्ने सोचेर दूरगामी उपायहरू अपनाउनुपर्ने अवस्था आइसकेको छ ।

(अन्तर्राष्ट्रिय माउन्टेन गाइड समेत रहेका लेखक आरोहणको क्षेत्रमा दुई दशकयता सक्रिय छन् । साथै जाडो मौसममा ६ हजार मिटरभन्दा माथिको हिमाल आरोहणको रेकर्ड पनि उनीसँग छ ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?