+
+

गोरखाको वीरेन्द्र तालमा हिमपहिरो, बाढीले एउटा पुल बगायो

सतर्क रहन तल्लाे क्षेत्रका बासिन्दालाई आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ९ गते ९:५५
फाइल फोटो

९ वैशाख, काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिकाको मनास्लु क्षेत्रमा रहेको वीरेन्द्र तालमा *हिमपहिराे खसेको छ । हिमपहिरो खस्दा तालको पानी छचल्किएर तल्लो क्षेत्रमा बाढी आएको छ ।

बाढीले साम्दु र सामागाउँ जोड्ने एउटा पुल बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख बासुदेव पाठकले जानकारी दिए । उनका अनुसार स्थानीयले ताल फुटेको भनेर खबर गरेपछि सामागाउँ प्रहरी चौकीको टोली ताल रहेको क्षेत्रमा पुगेको थियो ।

साे टाेलीले ताल फुटेको नभई हिमपहिरोका कारण पानी बाहिर आएको जानकारी जिल्ला प्रहरी कार्यालयमा गराएको थियो । ‘बाढीले एउटा कच्ची पुल बगाएको छ । हाम्रो प्रहरी टाेलीका अनुसार बाढीले थप क्षति पुर्‍याउने सम्भावना छैन’, उनले भने ।

२०७१ सालमा पनि वीरेन्द्र तालमा हिम पहिरो खसेर बाढी आउँदा सामागाउँ-साम्दो जोड्ने पुल बगेको थियो ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालले तालको पानी बाहिर आएको र क्षतिको विवरण प्राप्त हुन बाँकी रहेको बताए । बाढीले क्षति पुर्‍याउन सक्ने भन्दै धार्चे, आरुघाट लगायत क्षेत्रमा सतर्क रहन भनिएको उनले जानकारी दिए ।

गृह मन्त्रालयले भने वीरेन्द्र ताल फुट्दा बुढीगण्डकी नदीमा ठूलो बाढी आएको जनाएको छ ।

चुमनुब्री गाउँपालिका उपाध्यक्ष लक्ष्मी गुरुङले प्रारम्भिक जानकारी अनुसार तालमा हिमपहिरो खसेको र त्यसपछि तालको पानी छचल्किएर बाहिर आएको खबर आफूहरुले पाएको बताइन् ।

‘ताल नै फुटेको नभई तालमा हिमपहिरो आएकाले पानी बाहिर पोखिएको र बाढी आएको भनेका छन्, बाँकी कुरा बुझ्दैछौं’, उनले भनिन्, ‘अहिले तल बूढीगण्डकीमा धमिलो पानी र बाढी आएको छ । अरु अवस्था के छ, बुझ्न खोजिरहेका छौं ।’

वीरेन्द्र ताल गोरखा सदरमुकामदेखि ५२ कोस टाढा तथा सामागाउँ बजारदेखि करिब आधा घन्टाको दुरीमा पर्दछ । तालबाट निस्केको पानी बूढीगण्डकी नदीमा मिसिन्छ ।

*यसअघि समाचारमा ताल फुटेको उल्लेख भएकाले सच्याइएको छ । सम्पादक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?