+

युथ एसियन एथ्लेटिक्समा पदक जित्ने लक्ष्यमा बादल कार्की

२०८१ वैशाख  ९ गते १३:५२ २०८१ वैशाख ९ गते १३:५२
युथ एसियन एथ्लेटिक्समा पदक जित्ने लक्ष्यमा बादल कार्की

९ वैशाख, काठमाडौं । बागलुङको काठेखोला गाउँपालिका ७ का १७ वर्षीय बादल कार्कीले भर्खरै सकिएको १४ औँ केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्डअन्तर्गत एथ्लेटिक्स खेलमा दुई स्वर्ण पदक जिते । मध्यम दूरीमा दौडिएका उनले १५०० र ८०० मिटर इभेन्टमा पहिलो हुँदै स्वर्ण जितेका हुन् ।

राष्ट्रपति रनिङ शिल्डमा तेस्रो प्रयासमा उनले स्वर्ण पदक जित्न सफल भएका हुन् । यसअघि १२औं संस्करणमा ३ हजार मिटरमा तेस्रो भएका उनी १३औं संस्करणमा १५०० मिटरमा दोस्रो भएका थिए ।

‘तेस्रो प्रयासमा दुई स्वर्ण जित्न सफल भएँ । एकदमै खुशी छु । यस पटक राष्ट्रपति रनिङ सिल्डमा राम्रो भयो’, श्री रेशा नुनथला सेकेण्डरी स्कूलमा कक्षा ११ मा अध्ययनरत बादलले अनलाइनखबरसँग भने ।

बादलले छात्रतर्फ ८०० मिटर दूरी २ मिनेट ०५.५५ सेकेन्डमा पूरा गरेका थिए । यस्तै उनले १५०० मिटर ४ मिनेट १९.१ सेकेन्डमा पूरा गर्दै स्वर्ण जिते । यसमा उनले कर्णालीका अजय विकलाई थोरैले मात्र पछि पारेका थिए । अजय ४ मिनेट १९.६ सेकेन्डमा पूरा गर्दै दोस्रो भए ।

स्थानीय तहको पालिका जिल्ला र प्रदेशमा विजयी हुँदै केन्द्रीय राष्ट्रपति रनिङ शिल्डमा छनोट भएका बादलले प्रतिस्पर्धा गरेको दुवै इभेन्टमा स्वर्ण जितेका हुन् । बादलले यु-२० साउथ एसियन क्रस कन्ट्री च्याम्पियनसिपमा समेत पदक जितेका छन् ।

केही दिनपछि यूएईको दुबईमा हुने एसियन यु-२० एथ्लेटिक्समा च्याम्पियनसिपमा भाग लिने तयारीमा रहेको बादलको अबको लक्ष्य अर्को वर्ष हुने युथ एसियन एथ्लेटिक्समा पदक जित्नु हो ।

यसरी लागे दौडमा

बादल स्कुलमा पढ्दा खेलकुदमा रुचि थियो । दौडमा लाग्नका लागि भने उनी अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका सोमबहादुर कुमालबाट प्रभावित भए ।

सोमले टिकटकमा हालेको भिडियोहरु देखेर बादललाई पनि त्यस्तै धावक बन्ने इच्छा जागेको थियो र उनले त्यसेलाई फलो गर्दै दौडमा लागे । ‘सोम दाइले टिकटकमा भिडियोहरु हाल्नुहुन्थ्यो । त्यही देखेर नै म धावक बन्न इन्स्पायर भएको हुँ । उहाँले हालेको ट्रेनिङकै भिडियोहरु हेरेर म दौडन थालेको हुँ’, बादलले दौडमा लाग्नुको रहस्य खोले, ‘पछि उहाँसँग कुराकानी पनि भयो । नवौँ राष्ट्रियमा भेट पनि भएको थियो ।’

सोमबाट प्रभावित भएका बादल आफ्नो आइडल भने १५०० मिटरमा राष्ट्रिय च्याम्पियन भइसकेका सिद्धान्त अधिकारीलाई मान्छन् । नवौँ राष्ट्रियमा भने बादलले ३ हजार मिटर स्टपलचेजमा दौडेको थिए । त्यसमा उनी छैठौं भएका थिए ।

बादलले २ वर्षअघि पोखरामै भएको सफल पोखरा म्याराथनमा पनि भाग लिएका थिए । युवा उमेरमै जोशिएर उनले ४२ किमी दूरीको म्याराथन दौडेका थिए । म्याराथन पूरा पनि गरे । तर, गुरुहरुले उनलाई यसरी जोशमा दौडन नहुने सल्लाह दिए । त्यसपछि बादलले पनि म्याराथन दौडनका लागि जोशमात्र भएर नहुने कुरा बुझे ।

उनले स्यावास भन्दा पनि सुझाव पाए ।
बादलले नेपालबाट अन्तर्राष्ट्रिय स्तरमा समेत दौडेर पदक जितिसकेका छन् । उनले भारतको नागाल्यान्डमा भएको यु-२० साउथ एसियन क्रसकन्ट्री प्रतियोगितामा भाग लिएका थिए । ८ किमी दौडमा उनले तेस्रो हुँदै कांस्यस्य जिते । त्यसमा भारतका खेलाडीले स्वर्ण र श्रीलंकन खेलाडीले रजत जितेका थिए ।

अबको लक्ष्य

बादल अब यही अप्रिल २४ देखि युएईको  दुबईमा हुने एसियन यु-२० एथ्लेटिक्स च्याम्पियनसिप खेल्न जाने तयारीमा छन् । त्यसमा उनले ८०० र १५०० मिटरमा चुनौती प्रस्तुत गर्नेछन् ।

यस पटक राष्ट्रपति रनिङ शिल्डमा व्यस्त जाँदा अन्तर्राष्ट्रिय प्रतियोगिताको लागि धेरे समय तयारी गर्न पाएनन् । ‘लामो समय क्लोज क्याम्प नहुँदा अन्तर्राष्ट्रियस्तरमा प्रदर्शन गर्न गाह्रो हुन्छ’, उनले भने । तैपनि बादलले आफ्नो व्यक्तिगत समयमा सुधार गर्ने लक्ष्य राखेका छन् ।

उनले दुबईमा सकेसम्म राम्रो प्रदर्शन गर्ने बताए । ‘मेरो लक्ष्य पर्सनल बेस्ट गर्नेमा छ । सकेसम्म जुनियरको राष्ट्रिय कीर्तिमान पनि बनाउने लक्ष्य छ’, उनले भने । यस्तै यसै वर्ष मंसिरमा सुर्खेतमा हुने दशौं राष्ट्रिय खेलकुदमा पनि स्वर्ण जित्ने उनको लक्ष्य छ ।

बादलको अबको मुख्य लक्ष्य भनेको २०२५ मा हुने एसियन युथ एथ्लेटिक्स च्याम्पियनसिपमा (यु-१८) मा पनि पदक जित्नु हो । उनले भने, ‘मेरो लक्ष्य भनेको २०२५ को युथ एथ्लेटिक्स च्याम्पियनसिपमा पदक जित्नु हो । राम्रो तयारी भयो भने त्यसमा स्वर्ण नै जित्ने लक्ष्य छ ।’

त्यसको लागि आफूले गरेरमात्र नहुने भन्दै सरकार र संघको पनि सहयोग हुनुपर्ने बादल बताउँछन् । ‘यसमा नेपाल सरकारले पनि ध्यान दिनुपर्छ । स्पोनसर, किटहरु भयो भने राम्रो हुन्छ’, उनले भने, ‘नियमित ट्रेनिङ गर्ने र राम्रो डाइटको व्यवस्था भयो भने हामी पनि पदक जित्न सक्षम हुन्छौं ।’

किशोरावस्थामै रहेका बादल राष्ट्रपति रनिङ शिल्डबाट राइजिङ स्टारको रुपमा उदाएका छन् । उनी राम्रो सम्भावना भएको खेलाडी हुन् । उनले भने जस्तै अवसर पाए अझै धैरै गर्न सक्छन् ।

तर, बादलले भविष्य बारे भने धेरै सोचेका छैनन् । ‘अहिले धेरै सोचेको छैन । अब २-३ वर्ष दौडन्छु त्यसपछि के हुन्छ हेरौं’, बादलले भने ।

पछिल्लो समयमा नयाँ आएका खेलाडीहरु केही समयपछि नै विभागमा पुग्छन् । बादलले भने अहिले विभागमा जाने सोचेका छैन । तर, अहिलेकै जस्तै अवस्था रहिरहे भविष्यमा विभागीय टिममा जानुपर्ने अवस्था आउने उनी बताउँछन् ।

एथ्लेटिक्स बादल कार्की राष्ट्रपति रनिङ शिल्ड
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय