+
+
लोकतन्त्रका १८ वर्ष :

को असफल ? नेता, दल, संविधान वा व्यवस्था !

नेताहरूले देशको अपरिहार्य तारणहार भएर राजनीति अँगालिरहेका हुन् कि मालिक भएर कम्पनी छोड्न नसकेका हुन् ? कुनै मान्छे कति पटक मन्त्री वा प्रधानमन्त्री भएपछि देश बन्छ ? उत्साह जगाउने अनुहारको अभाव पनि यो निराशाको कारण हो ।

डा. नवराज लम्साल डा. नवराज लम्साल
२०८१ वैशाख ९ गते २०:२२

हेराइ वा अवलोकनका लागि साहित्यमा प्रयोग हुने यी दुई शब्दावली मलाई खूब मनपर्छ : एउटा, विहङ्गम दृष्टि र अर्को, सिंहावलोकन । चराले आकाशबाट हेरेझैं माथिबाट तल हेर्नुलाई विहङ्गम दृष्टि भनिन्छ भने धर्तीमा सिंहले हेरेझैं हेर्नुलाई सिंहावलोकन ।

सिंह १२ कदम हिंडेपछि पछाडि फर्केर हेर्छ र आफू सुरक्षित छु भन्ने लागेपछि मात्रै अघि बढ्छ । यो होशियारी हो । विहग अर्थात् चराले आकाशबाट धर्तीलाई हेर्ने विहङ्गम दृष्टि भन्नु पूर्णता खोज्नु हो । हुन त हेराइका कोण र आयाम धेरै छन्, अझै हुनसक्छन् । दृष्टिबिन्दु र दृश्य चेतनाका बीच देखिने प्रक्रिया वा वाद, सिद्धान्त र उपयोगिताको सापेक्षता आफैंमा दर्शन हो ।

समालोचनाका शैली, शिल्प र संरचना अनेक छन् । ती अर्कै सन्दर्भ हुन् तर अघाएकाहरू डाँडापारि खाऊँ र भोकाएकाहरू डाँडावारि खाऊँ भन्ने बिम्ब पुरानो हो तर लोकतान्त्रिक परिवर्तन र उपलब्धिहरू तथा तिनका न्यायिक वितरणको लोकतान्त्रिक सीमा आज पनि यही बिम्ब जस्तै छ ।

अचेल अरूको मुखमा दाग देख्ने तर आफू ऐना नहेर्ने समय हो । कसलाई फुर्सद विहङ्गम दृष्टिका लागि र कसलाई आवश्यकता सिंहावलोकनको ? कसलाई फुर्सद पिंधका मान्छे खोज्न, जनताको आर्थिक जीवन हेर्न र राष्ट्रिय समृद्धिको खाका कोर्न ?

वर्तमानसँग निराशा छ, घोर निराशा । कुण्ठा छ । बेथिति छ । असुरक्षित भविष्य र अन्यमनस्क भाव छ । नागरिक अन्योलका बीचमा छन् । अझै कडा शब्द प्रयोग गर्ने हो भने वर्तमान मानवीय संवेदनाको हत्यामा उद्यत छ ।

मान्छेलाई मान्छेकै आँसु सस्तो लाग्न थालेको छ । फूलको रङ बेकार लाग्न थालेको छ । बाँच्नुको उच्चता आफैंभित्र मारेर मान्छे आत्मदाह र आत्महत्याको बाटोमा छ । बाँच्नलाई मान्छेले हरकोसिस गर्नुपर्छ, गर्छ तर यसको ठीक विपरीत मान्छे आफैं मर्ने बाटो खोज्न थाल्छ भने मानव सभ्यता, विधि, व्यवस्था, लोककल्याण नामको राज्य र समाजवाद उन्मुख भनिने यो व्यवस्थाप्रति योभन्दा ठूलो व्यङ्ग्य अरू के हुनसक्छ ?

तर सत्ताकै सरलरेखामा एकएक झोला बोकेर हिंडिरहेकाहरूलाई यो अतिशयोक्तिपूर्ण बयान हुनसक्छ । केही हदसम्म लोकतन्त्र विरोधी पनि हुन सक्छ । निराशाको स्वर र अतिरञ्जना पनि हुन सक्छ । तर निकट विगतको करिब दुई दशक नागरिकले सोचेझैं हिंडेको, हिंडिरहेको छैन, छँदैछैन । किन त ? लाग्छ, आज राजनीतिक समीक्षा वा समालोचनाको मानवीय बिन्दु यही हुनुपर्छ ।

अघिअघि साहित्य पछिपछि समाज

यी हरफहरू लेखिरहँदा म एउटा सानो पुस्तकालयमा छु । पुस्तकहरूले हेर, मलाई हेर भनेझैं लाग्छ । पुस्तकहरू भन्छन्, मुलुकमा लोकतन्त्र भएको बेलामा होस् वा नभएको बेलामा नेपाली समाजमा आलोचनात्मक चेत नयाँ होइन । राजनीतिको गाली र पक्षधरता निर्माणमा मात्र होइन, साहित्यको सुललित मूलप्रवाहमा समेत आलोचनात्मक काव्यिक दृष्टि लेखनको मूलबिन्दु भएकै हो ।

दुई सय वर्षअघि नै आदिकवि भानुभक्त आचार्यले सरकारी कार्यालय, अड्डा–अदालतको कामगराइप्रति व्यङ्ग्य गर्दै भनेका थिए : भोलि भोलि हुँदैमा सब घर बितिगो बक्सियोस् आज झोली । उनले लोकको परिभाषा रामायणको पहिलो हरफमै दिएर भने : एक् दिन् नारद सत्यलोक् पुगिगया लोक्को गरूँ हित् भनी

उनले भनेको सत्यलोक भूमि, भूगोल हो तर हित गरिनुपर्ने लोक जनता हुन् । जनतालोक र जगत्लोकको फरक चेतना उनमा त्यही बेला थियो । आज बल्ल हामी लोकतन्त्र, लोकतन्त्र भन्न थालेका छौं । २०४६ को जनआन्दोलनसम्म पनि राजनीतिको मूल नारा प्रजातन्त्र मात्रै थियो ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाले ‘हे प्रभु मलाई भेडो बनाऊ’ भने । मान्छे भएर मान्छे हुन नपाउँदाको पीडामाथि कति ठूलो सकस र शासकमाथि कति ठूलो प्रहार । भूपीले हल्लै हल्लाको देश भने । बैरागी काइँलाले मातेको मान्छेको भाषण मध्यरातपछिको सडकसित भने ।

त्यति मात्रै होइन, माधवप्रसाद घिमिरेले ‘तिम्रो नीति यही छलेर पिठमा हिर्काउने दाउ छ’ भने । युद्धप्रसाद मिश्रले ‘ताकेका जिमिदारले युवतीका लोग्नेहरू हो उठ’ भने । सिद्धिचरण श्रेष्ठले क्रान्ति विना शान्ति सम्भव छैन भने । यी हिजोका केही काव्यिक अभिव्यक्ति, केही आलोचनात्मक बिम्ब हुन् । समय र समाजले भोगेको/भोगिएको आजको स्थिति/परिस्थिति पनि किन उस्तै उस्तै लाग्छ ?

आज गणतन्त्र आइसक्दा पनि, जनताकै प्रतिनिधिले संविधान बनाएर लागू भइसक्ता पनि र जनताकै लागि भनिएका दलहरू पटक–पटक सत्तामा पुग्दा पनि किन समाज उही छ, उस्तै छ ? दोष कसको ? भनिएको थियो, ‘लोकतन्त्र आएपछि सब ठीक हुन्छ । संविधान आएपछि सब ठीक हुन्छ । हाम्रो पार्टीको नेतृत्वमा सरकार बनेपछि ठीक हुन्छ । मै मन्त्री, प्रधानमन्त्री भएपछि ठीक हुन्छ ।’

सबै भयो तर देशको गति र गन्तव्य ? गति किन स्थिर ? गन्तव्य किन अस्थिर ? नियमित रूपमा समय आफैंले ल्याउने प्रगतिको सरलरेखा बाहेक समृद्धिको कुनै लोभलाग्दो राजमार्ग बनेन । किन ? यो भावुक निराशा मात्रै हो कि सही विश्लेषण ? छ यस्तै कि भनिएको मात्रै हो ?

प्रशस्त बहस गर्न पाइन्छ, सकिन्छ तर लोकतन्त्रको काखमा नागरिकको हत्या, आत्महत्या र आत्मदाह भनेको आमाको काखमा शिशुको स्वेच्छिक मृत्युवरण जस्तो हो कि होइन ? दुई सय वर्ष पहिले एउटा कविले लेखेको हरफ प्रयोग गर्दा आजको सामाजिक र राजनीतिक चरित्रसँग ठ्याक्क मिल्छ भने समाज र राजनीतिको अन्तरतन्तु खुस्केको मान्ने कि नमान्ने ?

इनारबाट आकाश देखिन्छ, पहाडबाट बेंसी

उज्यालो र अँध्याराका भित्री र बाहिरी कारण हुन्छन् । यो भित्रबाहिरको तह मान्छे आफैंभित्र पनि छ । मान्छे दुइटा भएर हिंड्छ हरदम । समस्याको छिद्रमा छिरेको छैन मान्छे । पत्र पल्टेको छैन दिलको । सतहमा छन् सबै । पार्टीले कार्यकर्तालाई हेप्यो, हेपिनुमै उनीहरूले संसार देखे ।

पार्टीहरूले बौद्धिकहरूलाई भाडाका वस्तु ठाने, उनीहरू यस्तो हुनमै राजी भए । सरकार म्यादी पुलिस जस्तो भयो, बर्दी लाउने र फुकाल्नेको समय निश्चित छैन । आफैं भयको भारी बोकेर हिंड्नेहरूले जनतालाई कसरी निर्भय बनाउलान् र ?

आज राजनीतिक अस्थिरता र भ्रष्टाचार मात्रै समस्या होइन, चिन्तनशील भनिनेको चेतनामै अस्थिरता छ र विचारवान् भनिनेको विचारमै भ्रष्टाचार छ । यसो भएपछि जनताका लागि खाद्यान्न, लत्ताकपडा, स्वास्थ्य, शिक्षा, आयआर्जन र आवासतिर कसको ध्यान जान्छ ?

गिट्टी कुटेको हातको पसिनाले भिजेको पैसा अस्पताल र स्कुलको लेखामा जम्मा गर्दा त्यो गरीब नागरिक के सपना बुन्दो हो ?

जाँदैन, कसैको ध्यान गएकै छैन । आज सबै दलीयकरण भन्छन् तर त्योभन्दा बढी खतरा पैसै पैसाकरण छ, आफन्तै आफन्तकरण छ । पार्टीकरण छ र पार्टीको पनि गुटगुटकरण छ । परिणामतः राज्य संवेदनहीन वस्तुकरणतिर र जिम्मेवारीहीन अराजकतातिर उन्मुख छ ।

सामाजिक सुरक्षा आज केवल नारा भएको छ । कुनै अस्पतालमा भर्ना भएपछि उपचार गराउनभन्दा डिस्चार्ज गरेर निकाल्न कठिन छ । किनभने विरामीले नभरिएको अस्पतालले नाफा दिन सक्तैन । ऊ नाफा खोज्छ, विरामी निकाल्न मान्दैन । ४ जना डाक्टर मिलेर १० वर्षपहिले खोलेको क्लिनिक आज कुन स्तरको अस्पताल बनेको छ ? स्रोत के ? राज्यले हेर्छ ?

दुई जना शिक्षक मिलेर भाडाको एउटा कोठामा खोलेको नर्सरी आज कुन तहको स्कुल र कलेज बनेको छ ? स्रोत के ? राज्यलाई थाहा छ ? शिक्षा र स्वास्थ्यमा तिनले पुर्‍याएको योगदान पनि होला । झोलाभरिका जम्मै किताब पढेका नागरिक पनि दिए होलान् देशलाई तर गिट्टी कुटेको हातको पसिनाले भिजेको पैसा अस्पताल र स्कुलको लेखामा जम्मा गर्दा त्यो गरीब नागरिक के सपना बुन्दो हो ? राज्यलाई हेक्का छ ?

धनीले प्रशस्त कमाउने र कमाएको कमायै गर्ने तर समाजप्रति कुनै दायित्व नहुने र त्यही डिलबाट राजनीति फस्टाउने यस्तो पनि लोकतन्त्र हुन्छ ? कुनै ठूलो स्कुल–कलेज चलाएर अकुत सम्पत्ति कमाएको मान्छे कुनै दलको केन्द्रीय मुखिया छान्ने हैसियत राख्छ ।

उसले नै टिकट दिने, चुनाव जिताउने, हराउने र सरकार बदल्ने हैसियत राख्छ । ऊ शिक्षाविद् हो कि राजनीतिको शकुनि ? व्यवसायीहरू राजनीतिमा आउनुहुन्न भन्ने छैन तर यहाँ त व्यवसायी होइन, व्यवसायीको ज्यान बोकेर पैसाको गोडा हिंड्छ राजनीतिक दलको मूल आँगनमा । यस्ता पार्टीहरू पनि समाजवादी हुन्छन् ? यस्तो राज्य पनि लोककल्याणकारी हुन्छ ? यस्तो देश पनि समाजवाद उन्मुख हुन्छ ?

ठूला दलका ठूला नेतालाई स्वास्नी जोगाउनु छ, ठूला दलका ठूला नेतृहरूलाई लोग्ने जोगाउनु छ । नेतालाई कार्यकर्ता जोगाउनु छ, कार्यकर्तालाई नेता । आफू आफैं जोगिनु छ, जोगाउनु छ, खानु छ खुवाउनु छ । यी जनता तहबाट आएका शब्द र आक्रोश हुन् । यी गलत हुन् भनेर प्रमाणित कसरी गर्ने ? इनारबाट आकाश हेरेर नीलो छ भन्ने कि पहाडबाट बेंसी हेरेर मैदान फराक छ भन्ने ? कि बस्ने मौन ? मौनता पनि आफैंमा शत्रु हो प्रगतिको ।

वैचारिक विरासत र चिन्तनको फैलावट

अलिअघि एउटा पार्टीको केन्द्रीय नेतृत्वबीच एउटा ठूलै डकुमेन्टमाथि छलफल चल्दैथियो । दुर्भाग्य कि सौभाग्य म पनि त्यहाँ आमन्त्रित थिएँ । देश बनाउन भनेर दशकौंदेखि हिंडेको, पटक–पटक सांसद, मन्त्री भइसकेको र दलीय राजनीतिको पनि त्यो उपल्लो नेतृत्वबीच हुने छलफलमा सहभागी हुने त्यो निम्तो मेरा लागि केही जान्ने अवसर हुनसक्छ जस्तो लाग्यो ।

मजस्तै अरू साथीहरू पनि थिए । सांसद र मन्त्री भएर जनताको दुःखको भार उठाइसकेका ठान्ने तीमध्येका एक जना भन्दैथिएः ‘देशको अर्थतन्त्र लयमा फर्केको छैन भनेर लेखेको रहेछ । अर्थतन्त्रको पनि लय हुन्छ, लय त गीतको पो हुन्छ । यो भएन, झिक्नुस् । यता पनि भएन, यता पनि भएन भन्ने भाष्य तयार पारे भनिएको रहेछ, यस्तो पनि भाष्य हुन्छ ? यो भाष्य भन्ने शब्द झिक्नुस् । संविधान सभाको कुरो २००६ सालमै उठेको थियो भनिएको रहेछ, २००६ सालमै होइन, २००६ सालमा भन्नुपर्छ । सच्याउनुस् ।’

म सुन्न चाहन्थें– आज देशको आर्थिक स्थिति कस्तो छ ? सुशासनको खास समस्या के हो ? युवा मस्तिष्कलाई राष्ट्र हितमा कसरी प्रयोग गर्ने ? कसरी औद्योगीकरण गर्ने ? जनतामा बढेको निराशालाई कसरी सम्बोधन गर्ने ? तर तिनलाई न अर्थतन्त्रको चिन्ता न धुजाधुजा भएको लोकतान्त्रिक मूल्यको महत्ता ! न आत्मानुशासन न त विकासको पहलु । जो जान्दैन ऊ धेरै बोल्छ भन्थे, हो रहेछ ।

कुनै विज्ञ सुझाउँदै थिए– जनतामा ठूलो निराशा छ । यो डकुमेन्टले त्यसलाई चिर्नुपर्छ तर उनको जवाफ थियो– भन्नेले भन्छन् नि कसले कसको मुख थुन्न सक्छ र ? एक जनाले त भने : ‘यो भ्रष्टाचार, भ्रष्टाचार कति भन्नु ? आफैंले भ्रष्टाचार न्यून गर्ने भन्यो भने त भ्रष्टाचार रहेछ भन्ने बुझिन्छ नि ! सुशासन कायम गर्ने भनौं भ्रष्टाचार शब्दको प्रयोग नै नगरौं ।’

अर्काले आक्रोश पोखे : ‘पाए आफूले छोड्छन् यिनीहरू ? हाम्रा आदरणीय फलानालाई भ्रष्टाचारी भन्या छ भन्या छ । त्यसलाई चिर्नुपर्‍यो ।’ लोकतन्त्रको मूल के हो ? देशको अवस्था कस्तो छ ? जनताका खास समस्या के हुन् ? कहाँ हामी चुक्यौं ? शासनसत्तामा पुग्दाका कमजोरी के हुन् र सच्याउन, सच्चिन पर्ने ठाउँ कहाँ हो ? के हो ? हाम्रा आनीबानी र आचरणले सामाजिक नैतिकतामा पारेको प्रभाव र राष्ट्रिय चरित्र निर्माणको मूलमा कस्तो असर परेको छ भन्ने विषय बहसका वरिपरि नै छैनन् । कोही सुन्न तयार छैनन् । आफ्नो गल्ती सुधार्न होइन, गल्ती छ भन्ने कल्पना गर्नसम्म तयार छैनन् । खराबी चेतनामै छ, बोधशक्तिमै छ, संगठन निर्माणमै छ र मान्छेको नियतमै छ । तिनले देश बनाइदेलान् भनेर अब कतिन्जेल कुरिरहने ?

दलहरूमा अनुहार छ, अन्तर्य छैन

हामी बहुलतामा छौं र बहुदलीयतामा छौं । बहुपन हाम्रो विशेषता हो तर यही मूल मर्म नै असहिष्णु छ । सहअस्तित्व र प्रेम त सत्ता साझेदारीको लगनगाँठो कस्ने नैनसुत कपडा मात्रै हो । दलीय प्रेम र लोकतन्त्रको सैद्धान्तिक सीमा निर्धारण भएकै छैन ।

नेपाली कांग्रेससँग लोकतान्त्रिक चिन्तनको छवि थियो । राजनैतिक स्वतन्त्रतासँग उसको जगको ढुङ्गो उभिएको मानिन्थ्यो तर ऊ आफैंले आफ्ना भ्रातृ संस्थाको अधिवेशनसम्म गर्दैन । ऊ आफ्नै महाधिवेशन पनि बेलैमा नगरेर पार्टी नै खारेज हुन्छ हुन्छ झैं भएपछि बल्ल तात्छ । उसको आन्तरिक जीवन लोकतान्त्रिक छैन ।

२००७ सालपछि राणा छिराएर र २०४६ पछि पञ्च पसाएर कांग्रेसले गाउँगाउँमा ठालुलाई नेता बनाएकै हो र उसकै कार्यकर्ता स्वयं ती ठालुका जी–हजुरीको घेरामा कैद भए । ऊ नयाँ प्रवेशीलाई आफू अनुकूल होइन, आफू नवप्रवेशी अनुकूल भए जस्तो छ । राणा फाल्यो तर आफैंभित्र राणाशासन छ कांग्रेसमा । संगठन संवेदनाहीन छ र उसको समाजवाद निजी स्कुल र अस्पतालमा विलय भइसक्यो ।

जसरी कांग्रेस लोकतान्त्रिक सन्दर्भमा स्पष्ट थियो, सामाजिक मुद्दा र लोककल्याणको विषयमा एमाले लगायत नेपाली वामपन्थी दल पनि त्यत्तिकै अगाडि थिए । सामाजिक मुद्दा र सीमान्तकृतहरू माथिको सामन्ती शोषण विरुद्ध सामाजिक जागरण भर्ने काममा वामपन्थी दलहरूको उच्च भूमिका थियो ।

तर, आज तिनै दलका नेता आफैं ठूला सामन्त भएकै छन् । तिनका दरबारमा सर्वसाधारणको प्रवेश राणादरबार छिर्नभन्दा कठिन छ । ठूला ठूला ठेक्कापट्टा, एनजिओ, आईएनजिओ र आर्थिक चलखेलको जक्सनमा उनै छन् । यति अराजकता त पञ्चायतको मन्त्रीमा पनि थिएन ।

देश त बनेन बनेन तर देश बनाउने सपना पनि मारे यिनले र अर्को पुस्तालाई गालीको पाठ पढाएर सहिष्णुहीन बनाए ।

माओवादीले विद्रोह गर्नुअघि गाउँगाउँमा एउटा मनोरोग थियो । कोही पाहुना नामको परिचित वा अपरिचित आयो भने साँझको देउता ठानेर सित्तैंमा खुवाउने चलन थियो । आफ्ना छोराछोरीलाई खोले खुवाएर साँचेको चामल पकाएर सित्तैंमा खुवाउँथे । खोरको कुखुरा काटेर पाहुनाको निःशुल्क सेवा गर्थे । लाज पचेका पाहुना डकारेर फर्कन्थे ।

तर, माओवादी विद्रोहले एउटा कुरा सिकायो, महोदय खुवाउँछु तर पैसा चाहिन्छ । सित्तैमा खुवाउन्न भन्न सक्ने चेतना उसले सिकाएको हो । पिंधका जनतामा उसले यसरी आवाज भरेकै हो तर ऊ अब पिंधको जनताको साथी रहेन । राणा र शाहको अर्को उत्तराधिकारी जस्तो भइसक्यो । अब सुन आयात निर्यात, एअरपोर्ट कब्जा र सत्ता परिवर्तनमा रूपान्तरण भइसक्यो उसको सम्पूर्ण समाजवाद ।

क्षेत्रीय विभेद र धेरै हदसम्म आफूआफू बीचको अन्तरसम्मान नभएको स्थितिमा तराई मधेशमा विद्रोह भएकै हो । त्यो विद्रोह मानवीय मूल्य र समान हैसियतका लागि जायज थियो । नागरिक कित्ताबाट त्यसको स्वागत भएकै हो तर तिनकै नेता अहिले कसरी जिइरहेका छन् र के के गरिरहेका छन् ? रैतीलाई नागरिक बनाउन उठेकाहरू आफैं अरूलाई रैती ठान्न थालिसके ।

यसरी सबै दलहरू आ–आफ्ना सैद्धान्तिक सीमाबाट स्खलित र आदर्शबाट च्युत भएका छन् । पुग्ने कहाँ भन्ने सीमा निर्धारण नभएपछि गन्तव्यको अर्थ रहन्न । दलहरू गन्तव्यहीन छन् । नयाँ भनेर आएका दल त राजनीतिमा आउनुअघिकै कर्मको कालो छायाँ बोकेर आएका छन् । कांग्रेस, एमालेबाट जनताको मोहभङ्ग हुन ३० वर्ष लाग्यो । माओवादी आकर्षणले एक दशक थेग्यो तर नयाँहरूको आकर्षणले आधा दशक पनि नथेग्ला जस्तो छ ।

अति दैवीकरण, अति दानवीकरण

अब देशमा स्वतन्त्र नागरिक बाँकी छैनन् । व्यावसायिक बाँकी छैनन् । विज्ञ बाँकी छैनन् र विद्वान् बाँकी छैनन् । सबै कुनै न कुनै दलको कार्यकर्ता । पार्टीको चिर्कटो छातीमा टाँसेर पार्टीकै प्रवक्ता, कार्यकर्ता । अर्को पार्टीको कोही कतै भेटियो भने झम्टनुमै छ तिनलाई मज्जा ।

कक्षामा पढाउने शिक्षक फलानो पार्टीको, निजामती कर्मचारी फलानो पार्टीको, डाक्टर, इन्जिनियर फलानो पार्टीको, स्कुल फलानो पार्टीको, कलेज फलानो पार्टीको, पत्रिका, एफएम, अनलाइन र टिभी फलानो पार्टीको र हुँदाहुँदा बिहेका लागि पार्टी प्यालेस छान्दा पनि पार्टी पार्टीको फरक ।

दलहरू र तिनका नेताबीच पनि गुच्चा खेलाडी शैलीको झगडा छ । आफैंभित्र पनि कि अति प्रशंसा कि अति गाली । दैवीकरण, दानवीकरण । ठूला–ठूला आन्दोलन सँगै गरेको, निरङ्कुशता फालेको, संकटको बेलामा सहकार्य गरेका, एकअर्काले एकअर्काको झन्डा बोकेर सडकमा निस्केको विगत अब हरायो ।

अप्ठ्यारो अवस्थामा एकले अर्कालाई काँध हालेको र देशलाई निकास दिएको सबै बिर्सेर कार्यकर्ता तहमा गाली बाँडेको छ, घृणा बाँडेको छ । मञ्चमा उक्लेपछि आज सत्तोसराप गरेको छ, भोलि बिहानै अँगालो हालेको छ ।

आन्दोलनमा सबैको हिस्सा थियो तर प्राप्तिको अवसरमा भने नेताको मात्रै हालीमुहाली भयो । अवसरको समान वितरण छैन । निराशाको प्रमुख कारण यो हो ।

न सहिष्णुता न विश्वास । ठूला नेताका भाषण, उनका व्यवहार, उनले सिकाएको संस्कार, चिन्तन र बोध क्षमताबाट नयाँ पुस्ताले के सिक्दै छन् ? देश त बनेन बनेन तर देश बनाउने सपना पनि मारे यिनले र अर्को पुस्तालाई गालीको पाठ पढाएर सहिष्णुहीन बनाए ।

एकले अर्कालाई गाली गरिरहेछन् र भनिरहेछन् : त्यो भएर वा त्यसका कारण देश नबनेको हो । म एकदम ठीक हुँ । आत्मरति, आत्मप्रशंसा । यी सबैलाई दैवीकरण वा दानवीकरण गर्ने प्रत्येकको एउटा एउटा सानो–ठूलो जमात छ । वस्तुनिष्ठ नहुनु, सापेक्षतामा नहेरिनु र मन परेपछि देवत्वकरण गर्नुु ठूलो बौद्धिक समस्या हो । कुन नेताले कसलाई गाली गर्ला र ठीक भयो भनेर भाष्य तयार पारुँला भनेर एक टुकडी कलम उठाएर बसेको हुन्छ ।

यही बौद्धिक जगमा हौसिएर हो नेताहरूले गलत निर्णय गर्ने बानी बसेको । एक वर्षभित्र प्रधानमन्त्री प्रचण्डले संसद्मै उभिएर एकपल्ट देउवाले ठीक गरेनन् म ओलीसँग छु भने । अर्कोपल्ट ओलीले ठीक गरेनन् देउवासँग छु भने । फेरि देउवाले ठीक गरेनन् ओलीसँग छु भने ।

यी सबै भन्नुभन्दा अगाडि देउवासँग थिए र त्यो भन्दा तुरुन्तै अगाडि ओलीसँगै थिए । प्रत्येक पटक उनले ओकलेको तिक्त शब्द र वमन गरेको रोषको कुनै सीमा छैन । यही हो वर्तमानको राजनीति र बौद्धिकताको सीमा ? तर दोष उनको मात्र होइन यसरी साथ लिने, दिने दुवैको छ । उनले मात्र चाहेर यी सबै हुन्नथ्यो । दोषी देउवा र ओली पनि हुन् ।

तर, सार्वभौम संसद्‌मा उभिएर भनिएको, गरिएको यो द्रुत परिवर्तन ठीक भएन भन्नु भन्दा आफूतिर आउँदा ठीक नआउँदा बेठीक भन्ने भाष्य तयार पार्ने र त्यही भाष्यलाई आफू अनुरूप समीक्षा र समालोचना गर्ने तप्का यही देशको बौद्धिक होइन ? समस्या यहाँ पनि छ र यो झन् ठूलो, डर लाग्दो र वैचारिक स्खलनको समस्या हो । देश नेताले मात्रै होइन, सबै मिलेर बिगारेको हो ।

परिवर्तनको अपनत्व र लाभांश वितरणमा न्याय

आन्दोलनमा सबैको हिस्सा थियो तर प्राप्तिको अवसरमा भने नेताको मात्रै हालीमुहाली भयो । अवसरको समान वितरण छैन । निराशाको प्रमुख कारण यो हो । २०६२/६३ मा सडकमा को को थिए भन्नु भन्दा पनि को को थिएनन् भन्न सजिलो छ । तर ती अग्रमोर्चाका लडाकुहरूको सूची र त्यसपछि दलहरूले लाभको पदका लागि सिफारिस गरेका नामहरूको सूची एकै ठाउँमा राख्ने हो भने धेरै प्रष्ट हुन्छ ।

कुनै नियुक्ति पाएका, माननीय, मन्त्री भएका, राजदूत वा ठूला पदमा पुगेकाहरूमध्ये आर्थिक चलखेल कति छ र नातापाता कति छन् ? नेताहरूले नराखे पनि त्यो हिसाब जनताले राखेका छन् । जनताको जन्म कुनै एक नेतालाई जीवनभर भोट हाल्नका लागि मात्रै भएजस्तो छ ।

२०४६ को पुस्ताले विश्व–राजनीतिमा जे जति नेताका नाम सुनेका थिए, अहिले २०८१ मा आइपुग्दा विश्वका ती नेताहरू को को कहाँ छन् तर २०४६ मै सुनिएका, देखिएका वा सत्तामा गएका नेपाली नेताहरू अहिले पनि तिनै छन् ।

अमेरिका, बेलायत, जापान, भारत जस्ता देशको नेतृत्व गर्ने नेताहरू अयोग्य भएर यथासमयमा रिटायर्ड हुने हाम्रा नेता चाहिं देशको अपरिहार्य तारणहार भएर राजनीति अँगालिरहेका हुन् कि यिनीहरू मालिक भएर कम्पनी छोड्न नसकेका हुन् ? कुनै मान्छे कति पटक मन्त्री भएपछि देश बन्छ ? कतिपटक प्रधानमन्त्री भएपछि देश बन्छ ? यसको कुनै उत्तर छैन । उत्साह जगाउने अनुहारको अभाव पनि निराशाको कारण हो ।

संकट पनि संकटमै छ !

वाद एउटा कुरा हो । व्यवस्था अर्कै कुरा हो । संविधान एउटा कुरा हो । सुशासन अर्कै कुरा हो तर यी सबै अन्तर सम्बन्धित छन् । यी सबैभन्दा माथि उच्च चेतना, संयोजन र संयमको जरुरत पर्छ । यिनै जगबाट उठ्ने, उठाउने हो समृद्धि तर यी सबै भत्किएका छन् आज ।

कहिलेकाहीं समयले विशिष्ट परिस्थिति निर्माण गर्छ । फुलेकै बेला टिपेन भने फूल पनि ओइलाउँछ । २०१५ को विशिष्ट अवस्थामा बीपीले मौका पाए, विभिन्न कारणले त्यो गयो । २०४८ मा गिरिजाप्रसाद कोइरालाले परिवर्तनपछिको सानदार मौका पाए, उनकै अहङ्कारले खायो ।

यस्तै २०६३ पछि प्रचण्डलाई अपूर्व अवसर थियो, उनको उत्ताउलोपनले उनैलाई हिर्कायो । २०७४ पछि केपी शर्मा ओलीलाई खास मौका थियो, आफूबाहेकका सबैलाई पुड्का र आफू नयाँ राजा ठान्नाले अवसर गयो । अब के ? प्रश्न फेरि उही बिन्दुमा आइपुग्छ ।

आस्था र संलग्नताको बिर्खे टोपी फुकालेर हेर्दा देश चौबाटोमा र संकटमा छ । कहाँ छ जनताले मन बिसाउने ठाउँ ? कहाँ छ परिवर्तन र तिनले दिएको एजेन्डा ? भन्न सकिन्छ स्वतन्त्रता छ । प्रतिनिधित्व छ । खुलापन छ । जनताका छोराछोरीले देश चलाएका छन् आदित्यादि ।

तर, स्वतन्त्रता पनि अघाएपछिको अभ्यास मात्रै हो । अघाएकाहरूको भाषणमा स्वतन्त्रताको जति मीठा धुन सुनिए पनि हाँडी नै फुटेको दिन कहाँ भुटौला तिम्रो स्वतन्त्रताको मकै ? विहङ्गम दृष्टि त परको कुरा तर यी दल र नेताहरूले १२ कदम हिंडेपछि आफैं सुरक्षित छु कि छैन भनेर सिंहावलोकनसम्म पनि गरेनन् । निर्लज्जहरू !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?