+

ओमानलाई हराउँदै यूएई एसिया कपमा

२०८१ वैशाख  ९ गते १९:५२ २०८१ वैशाख ९ गते १९:५२
ओमानलाई हराउँदै यूएई एसिया कपमा

९ वैशाख, काठमाडौं । कप्तान मोहम्मद वासिमको शतकको सहयोगमा यूएईले एसीसी प्रिमियर कपको फाइनलमा घरेलु टोली ओमानलाई ५५ रनले हराउँदै एसिया कपमा पुगेको छ ।

युएई २०१६ पछि एसिया कपमा पुगेको हो । सन् २००४, २००८, २०१६ र २०२४ गरी उसले समग्रमा चार पटक एसिया कप खेल्नेछ ।

आइतबार २०५ रनको लक्ष्य पछ्याएको ओमानले २० ओभरमा ९ विकेट गुमाउँदै १४९ रन बनायो । ओमानका मध्यक्रमका ब्याटर प्रतीक अथभलेले ३० बलमा ४ चौका र ३ छक्कासहित ४९ र खालिद कैलले ३० रन बनाए । अकिब इल्यास ७, नसिम खुसी शून्य, जिशान मकसुद १४ र कश्यप प्रजापति १ रन बनाएर आउट भए ।

यूएईका जुनैद सिद्दिकले ४ ओभरमा ३८ रन खर्चेर ३ विकेट लिए । मोहम्मद फारुक र आयन खानले २/२ विकेट लिए ।

ओमानको अल अमरेत क्रिकेट ग्राउण्ड–१ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको यूएईले २० ओभरमा ४ विकेट गुमाउँदै २०४ रन बनाएको थियो । यूएईका कप्तान मोहम्मद वासिमले ५६ बलमा ६ चौका र ७ छक्कासहित १०० रन बनाए ।

टी-२० आईमा वासिमको यो तेस्रो शतक हो । अलिशान शराफू २८ बलमा २ चौका र २ छक्कासहित ३४ रनमा आउट भए । आशिफ खान १६ बलमा ५ चौका र २ छक्कासहित ३८ रनमा नट आउट रहे ।

पहिलो विकेटका लागि अलिशान र वासिमले ९.४ ओभरमा ९३ रनको राम्रो सुरुवात दिलाएका थिए । ओमानका बिलाल खानले २, शकिल अहमद र जिशान मकसूदले १/१ विकेट लिए ।

युएईले सेमिफाइनल खेलमा नेपाललाई ६ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो । ओमानले हङकङलाई ५ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

एसिया कपमा युएई, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तान हुनेछन् । भारत र पाकिस्तानको समूहमा यूएई पर्ने सम्भावना छ ।

एसिया कप एसीसी प्रिमियर कप क्रिकेट युएई
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय