+
+

‘फर्की फर्की’ ट्रेलर २२ लाख पटक हेरियो, फेन्टासी विधालाई प्रवर्द्धन गर्ने मौका

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ९ गते २२:१७

काठमाडौं । पछिल्ला वर्ष नेपालमा सामाजिक यथार्थवादी फिल्मको बाढी आइरहँदा अनमोल केसी स्टारर ‘फर्की फर्की’को ट्रेलर भने भिन्न देखिन्छ ।

यो फिल्म यस्तो समयमा रिलिज हुँदैछ जतिबेला ‘सोसल रियालिज्म’ टाइपका फिल्मबाट मुक्त हुनुपर्ने बहस चलेको छ । सुयोग गुरुङ निर्देशित यो फेन्टासी जनराको फिल्मको ट्रेलरले कथावस्तु, चरित्र चित्रण र मुडबारे प्रकाश पार्छ ।

यो समाचार लेखिरहँदा ट्रेलरलाई युट्युवमा २२ लाख पटक हेरिएको छ । झण्डै ६ हजार कमेन्ट प्राप्त भएका छन् । प्रतिक्रिया हेर्दा दर्शकमाझ यो फिल्मलाई लिएर उत्साहजनक हाइप रहेको देख्न सकिन्छ ।

नेपाली फिल्ममा फिक्सनको अभाव भैरहेको भन्ने दर्शकीय असन्तुष्टिबीच आउन लागेको ‘फर्की फर्की’ले के त्यो सिनेम्याटिक भोक पुरा गर्ला ? त्यो त रिलिज पछि नै थाहा लाग्ला तर, ट्रेलरले प्राप्त गरेको प्रतिक्रिया, स्टाइल र प्रस्तुतिकरण यसको सकारात्मक पक्ष हो ।

ट्रेलरमा के छ ?

साढे तीन मिनेट लामो ट्रेलरमा मोटामोटी मुख्य पात्रले अलौकिक शक्ति प्राप्त गरेपछि समयलाई बदल्न सक्ने उसको खुबी र उक्त शक्ति पाएपछि पात्रको जीवन, सम्बन्ध र भोगाइमा ल्याउने उतारचढाव समेटिएको छ । सुपरपावरको ट्रयापमा परेको पात्र कसरी मान्छे बन्न संघर्ष गर्छ भन्ने कथावस्तु यसमा छ ।

ट्रेलरको सुरुवात कात्तिक पूर्णिमामा मुख्य पात्रले सोचेअनुसारको वरदान पाएपछिको दृश्यदेखि सुरु हुन्छ । तर, यसले पाएको त्यो आशिर्वाद कसरी आफ्नै लागि बोझ बन्छ भन्ने द्वन्द्व चित्रण यसमा छ । मुख्य पात्र म्याडीको दैनिकी प्रत्येक दिन पुनः सुरुवात हुन्छ र उसलाई लाग्छ, म भगवान हुँ ।’ यसपछि कथाले रोचक मोड लिन्छ । निर्देशक सुयोग गुरुङले यो पहिलो ट्रेलरमा दर्शकलाई केही संकेत त दिएका छन् तर यसबारे विस्तृत बुझ्न दोस्रो ट्रेलर पर्खनुको विकल्प छैन ।

वास्तविक जीवनमा यस्तो सम्भव नभएपनि यो कल्पनाशिलता दर्शकका लागि रोचक चाहिँ अवश्य हुनसक्छ । ‘मनोरञ्जन दिनु मेरो पहिलो प्राथमिकता हो’ निर्देशक गुरुङले ट्रेलर सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा भनेका थिए, ‘म कथा भन्न चाहन्छु । यसका लागि कथा बिक्री गर्नु पनि जरुरी छ ।’

रोहितलाई ह्याट्रिकको मौका

अभिनेता अनमोल केसीको करिअरका लागि यो फिल्म महत्वपूर्ण घुम्ती हुनसक्छ । एक्टरका लागि मात्र नभएर घरेलु फिल्मको ट्रेन्डका लागि पनि ‘फर्की फर्की’ एउटा परीक्षण अवश्य हो । फेन्टासी जनराका कल्पनाशिल फिल्मलाई दर्शकले कसरी लिनेछन् र यसको बजार कस्तो हुनेछ भन्ने बुझ्न पनि ‘फर्की फर्की’ एउटा महत्वपूर्ण विन्दु हुनसक्छ ।

यसका लागि फिल्मको वर्ड अफ माउथ महत्वपूर्ण हुनसक्छ । निर्देशक सुयोग गुरुङले जसरी ट्रेलरबाट सकारात्मक प्रतिक्रिया बटुले, फिल्मबाट यसलाई निरन्तरता दिन जरुरी छ । ‘फर्की फर्की’ रोहित अधिकारी फिल्म्सको तेस्रो फिचर हो । यसअघि उनले ‘गाजलु’ र ‘छ माया छपक्कै’ निर्माण गरेका थिए । अघिल्ला दुबै फिल्म बक्सअफिसमा हिट थिए । यसपटक उनीसामु ह्याट्रिकको मौका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?