+
+

मिरुना भन्छिन्- यस वर्ष धेरै प्रश्न गर्छु, किताब पढ्छु

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १० गते १६:५८

काठमाडौं । मिरुना मगर अहिलेकी व्यस्त अभिनेत्री हुन् । उनी अभिनित ‘मनसरा’ वैशाख २१ गतेबाट प्रदर्शन तयारीमा छ । यो फिल्मको केन्द्रीय चरित्रको रुपमा उनले एकल महिला र आमाको भूमिका निर्वाह गरेकी छन् । ‘जारी’पछि उपेन्द्र सुब्बासँग यो उनको दोस्रो सहकार्य हो ।

पछिल्लो समय घरेलु फिल्ममा मिरुना यति ‘डिमान्डेड’ छिन् कि २०८१ सालभर उनी व्यस्त छिन् । ‘मनसरा’पछि ‘घरज्वाइँ’ मिरुनाको रिलिज तयारीमा रहेको फिल्म हो । यसबाहेक ‘गाउँ नै रमाइलो’, ‘लोकल हिरो’, अशोक शर्माको एक अनटाइटल फिल्म, ‘ऊनको स्वीटर’ र बाँसुरी फिल्म्सको अर्को एक फिल्म उनको लाइनअपमा छन् । ‘मनसरा’बारेको पत्रकार सम्मेलनमा मिरुनाले अनलाइनखबरसँग संक्षिप्त कुरा गरेकी छन् ।

मनसरा’को अभिनयमा तपाईंले आफ्नो ‘ग्रोथ’ पाउनुभएको छ ?

एउटा एक्टरले यत्तिको राम्रो क्यारेक्टर पाउनु मेरो लागि खुसीको कुरा हो । मैले आफ्नो काम कस्तो गरें भन्ने त डर नै छ । रिलिजपछि प्रतिक्रिया कस्तो आउँछ, त्यसपछि विश्लेषण होला । म आफैंले महसुस गर्दा अभिनयमा ग्रोथ भएको पाएकी छु । आफूले देख्दै नदेखेको कुरा पनि देखियो, भोगियो । यसकारण मेरो अभिनयमा निश्चितरुपमा ग्रोथ त भएको छ ।

यो पात्रले तपाईंको करिअरमा के अर्थ राख्छ ?

यसले म आफैंलाई पनि एक्टरको रुपमा बलियो बनाएको महसुस हुन्छ । ‘जारी’को हाङ्मामा पनि यस्तै महसुस भएको थियो । यसको श्रेय निर्देशक उपेन्द्र सुब्बालाई जान्छ । उहाँले लेख्नुभएको कथामा काम गर्दैगर्दा आफू सक्षम भएको महसुस हुन्छ । सामान्यरुपमा लेख्दा एकल महिला कमजोर हुन्छिन्, उनलाई साथ चाहिन्छ, दुःख पाइरहेको हुन्छ । हाँस्दै हाँस्दैनन्, दुःखी हुन्छन् भन्ने देखिएकोमा, ‘मनसरा’मा चाहिं ऊ छिमेकीलाई जिस्काउन पनि भ्याउँछे, काम गर्न पनि भ्याउँछे । एउटा महिला कत्तिको बलियो हुनसक्छिन् भन्ने मैले महसुस गरें ।

तपाईंलाई पीडित महिला पात्रभन्दा बोल्ड टाइपका पात्रमा काम गर्न मन छैन ? 

अवश्य पनि छ । मैले ‘रंगेली’मा पनि यस्तै गरेकी थिएँ । मलाई लाग्छ, फिल्ममा जुन सफरिङ (पीडा) पाएको देखाइन्छ । यसलाई भोग्न सक्नु, त्यो अनुभव गर्न सक्नु र त्योविरुद्ध लड्न सक्नु चाहिं त्यसमा बढी बोल्डनेस छ जस्तो लाग्छ । बोल्डनेसको परिभाषा कहिलेकाहीं उल्टो पनि हुन्छ ।

हाउभाउ र लुगाले मात्र बोल्ड हुन्छ जस्तो लाग्दैन । भावनात्मकरुपमा ऊ कसरी परिस्थितिसँग जुध्छ । सहरमा आएर एउटा छोरालाई एक्लै हुर्काउनु, अनि त्यहीमाथि ती छिमेकीसँग व्यवहार गर्नु, दैनिक जीवनमा भोग्नु नै त्यो ठूला कुरा हो । हाङ्मा, मनसरा र ‘घरज्वाइँ’ पनि आउँदैछ । हेर्दा सफर गरेको देखिन्छ । अभिनेत्रीको रुपमा पात्रको बोल्डनेस देखेर मेरो वास्तविक जीवन त्यति बोल्ड छैन कि जस्तो महसुस हुन्छ मलाई ।

यो फिल्मका लागि शारीरिक र मानसिकरुपमा आफूलाई कसरी तयार पार्नुभयो ?

मानसिकरुपमा आमाले छोराछोरीको लागि कसरी नि:स्वार्थरुपले काम गर्नुहुन्छ, जसले छोराको रुपमा चरित्र निर्वाह गर्नुभएको थियो । यसका लागि सम्बन्धको विकासमा काम गर्‍यौं । सुँगुर पालन, साग बेच्ने, छिमेकीसँगको सम्बन्धबारे त स्क्रिप्टमै राम्रोसँग लेखिएको थियो । काम गर्न परेको भनेको छोरासँग हो । सुरुमा मेरो तौल बढेको थियो । प्रवीण दाइले तौल बढाउनुपर्ने थियो । सुटिङको रुपमा खाएको अभिनय गर्दा पनि मेरो तौल बढेको थियो । (हाँसो..)

अभिनेत्रीको रुपमा यो फिल्ममा आफूलाई कति परिपक्व महसुस गर्नुभएको छ ?

आफू कस्तो टिमसँग काम गरिन्छ, को–एक्टर कस्तो हुन्छ त्यसमा पनि निर्भर हुन्छ । जस्तै, मैले दया दाइसँग धेरै प्रोजेक्टमा काम गरें । अब्जर्भेसन गरेर पनि धेरै कुरा सिकिन्छ । सामान्य रुपमा रिसाउँदा, झनक्क रिसाउँदा अर्कै हुन्छ । इमोसनको रुपमा पनि आफूलाई मच्योर्ड पाएकी छु । ल्याउने कोसिस हुन्छ, जहिल्यै पनि । वातावरणले पनि फरक पर्ने रहेछ ।

२०८० सालमा तपाईंले के सिक्नुभयो, २०८१ को संकल्प के छ ?

मैले बितेको वर्षमा सिकेको भनेको पढ्न निकै जरुरी छ, रिसर्च गर्न जरुरी छ । पृष्ठभूमि बनाउन हामीले गर्न त गर्छौं तर साहित्य र समाज बुझ्नलाई एक्टरले कति जरुरी छ भन्ने पाठ सिकें । नयाँ वर्षको संकल्प पनि त्यही हो- अझै धेरै किताब पढ्ने, साहित्य पढ्ने । मैले प्रश्न सोध्न पनि सिकेको छु अलिकति । २०८१ सालमा लागेको कुरामा धेरै प्रश्न गर्न र पढ्न मन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?