१० वैशाख, काठमाडौं । पूर्वाधार निर्माण तथा परामर्श सेवाका लागि काठमाडौं महानगरपालिकाले नेपाल पूर्वाधार निर्माण कम्पनी लिमिटेडसँग सहमति गरेको छ ।
काठमाडौं प्लाजामा सोमबार भएको सहमतिमा महानगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार र कम्पनीका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र केसीले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।
महानगरभित्रका पूर्वाधार निर्माण तथा परामर्श सेवाका लागि सार्वजनिक साझेदारी अवधारणा अनुरूप सहमति भएको परियारले बताए ।
विभिन्न निर्माण तथा परामर्श, मर्मत सम्भार, आपतकालीन निर्माण, सडक तथा पुलसँग सम्बन्धित निर्माण/मर्मत, भवन निर्माण र पुनः निर्माण लगायतका काम सहमतिअनुसार गरिने समझदारीमा उल्लेख छ ।
कामको प्राथमिकता क्रम भने महानगरपालिकाले निर्धारण गर्नेछ । यसको कार्यप्रणाली संयुक्त रुपमा तयार पारिने समझदारीमा उल्लेख छ ।
वित्तीय दायित्व महानगरपालिकाले बहन गर्नेछ भने यसरी गरिने काममा महानगरको श्रम बैंकबाट कम्तीमा २० प्रतिशत जनशक्ति प्रयोगमा ल्याइने छ ।
कामको संयोजनका लागि महानगरको सार्वजनिक निर्माण विभाग र कम्पनीकातर्फबाट प्राविधिक शाखाले गर्नेछ ।
प्रतिक्रिया 4