+
+
प्रहरीको फरेन्सिक रिपोर्ट :

‘दुर्गा प्रसाईंको बन्दुक अर्ध स्वचालित’

नारायण अधिकारी नारायण अधिकारी
२०८१ वैशाख १० गते १९:५८

१० वैशाख, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले लाइसेन्स लिएर राखेको बन्दुक सेमी अटोमेटिक (अर्ध स्वचालित) हतियार रहेको खुलेको छ ।

प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालाले जाँच गरेको रिपोर्टमा प्रसाईंको नाममा रहेको हतियार अर्ध स्वचालित रहेको खुलेको हो ।

५ चैतमा सर्वोच्च अदालतको गेटबाट अत्याधुनिक हतियारसहित प्रसाईंका दुई बडीगार्ड रामकुमार धिमाल र दीपक खड्का पक्राउ परेका थिए । उनीहरु पक्राउ परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

तर बडीगार्डद्वयले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले प्रसाईंको हतियारबारे छानबिन गर्न गृहमन्त्रालयलाई आदेश दिएको थियो ।

अध्याधुनिक हतियार र १०० राउण्ड गोली बरामद भएको यो घटनामा गृह मन्त्रालयले सहसचिव राजेन्द्रदेव पाण्डेको संयोजकत्वमासमिति बनाएर छानबिन सुरु गरेको थियो । समितिमा गृहका उपसचिव ऋषि पौडेल र एसपी सन्तोष भट्टराई सदस्य तथा एकदेव अधिकारी सदस्य सचिव थिए ।

समितिले हतियार परीक्षणका लागि भन्दै प्रहरीको फरेन्सिक ल्याबमा पठाएको थियो । हतियार जाँचको रिपोर्ट आइसकेको समितिका संयोजक पाण्डले अनलाइनखबरलाई बताए । ‘हतियार जाँचको रिपोर्ट प्रहरीको विधि विज्ञान प्रयोगशालाले हामीलाई पठाएको छ । तर रिपोर्टमा के छ भन्न मिल्दैन’ संयोजक पाण्डेले भने ।

प्रसाईले सामान्य हतियारको लाइसेन्स लिएर अत्याधुनिक हतियार लिएको समितिले प्रारम्भिक अनुमान गरेको थियो । तर प्रहरी जाँचको क्रममा भने लाइसेन्समा उल्लेख भएको मोडलअनुसारको अर्धस्वचालित हतियार रहेको खुलेको छ ।

‘प्रसाईंले बुझाएको लाइसेन्समा जुुन हतियार उल्लेख गरिएको छ, सोही हतियार राखेको देखिन्छ । प्रसाईंले राखेको बन्दुक अर्धस्वचालित हतियार हो’, समिति स्रोतले अनलाइनखबरसँग भन्यो ।

प्रसाईंले जिल्ला प्रशासन कार्यालय झापाबाट २१ असार २०७५ मा हतियारको लाइसेन्स लिएका थिए । प्रसाईंको लाइसेन्स नम्बर १०१३१ छ ।

झापाका तत्कालीन सीडीओ जनकराज दाहालले प्रसाईंलाई उक्त हतियारको लाइसेन्स दिएको खुलेको छ । बुद्धशान्ति–३ झापाका दीपक खड्काले बोक्न मिल्ने गरी हतियारको लाइसेन्स दिइएको थियो । खड्काले बोक्नुपर्ने हतियार अर्का बडिगार्ड धिमालले बोकेको भन्दै प्रहरीले पक्राउ गरेको थियो ।

४ सय युरोमा जर्मनीबाट खरिद

प्रसाईबाट बरामद भएको हतियार जर्मनीबाट खरिद गरिएको खुलेको छ । लाइसेन्स लिएपछि दुई तरिकाबाट हतियार राख्ने गरिन्छ । एउटा नेपालमै दर्ता भएको हतियार नामसारी गरेर पनि किन्न सक्ने प्रावधान छ भने अर्को बाहिरी मुलुकबाट पनि किनेर ल्याउन सकिन्छ ।

हतियार राख्नेका लागि हातहतियार तथा खरखजाना ऐन–२०१९ को व्यवस्थाअनुसार जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्छ । त्यसपछि जिल्ला सुरक्षा समितिबाट जाँच गराएपछि उपयुक्त देखिएको खण्डमा हतियार राख्न प्रमुख जिल्ला अधिकारी (सीडीओ)ले हतियारको लाइसेन्स दिन्छन् । त्यसपछि हतियार किन्ने प्रक्रियाका लागि गृह मन्त्रालयमा निवेदन दिनुपर्ने हुन्छ ।

गृहबाट पास भएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग हुँदै हतियार किन्ने प्रक्रिया अघि बढ्छ । सोही प्रक्रियामार्फत प्रसाईंले हतियार खरिद गरेको भन्सार तिरेर ल्याएको देखिएको समितिले औंल्याएको छ ।

गृह मन्त्रालयले १३ फागुन २०७४ मा वाणिज्य विभागलाई हतियार खरिद अनुमतिका लागि पत्राचार गरेको भेटिएको छ । त्यसको भोलिपल्ट १४ फागुन २०७४ मा शाखा अधिकृत सुशीलराज खनालले हतियार खरिदका लागि अनुमतिपत्र देखिएको छानबिनबाट खुलेको समिति स्रोतले जनाएको छ ।

वाणिज्यबाट खरिद अनुमति पाएपछि प्रसाईले जर्मनीबाट करिब ४ सय युरो (हालको नेपाली रुपैयाँअनुसार करिब ५७ हजार) मा खरिद गरिएको देखिएको समिति स्रोतले बतायो ।

हतियार ल्याइसकेपछि २१ असार २०७५ मा झापाबाट उनको नाममा उक्त हतियार दर्ता भएको खुलेको छ ।

अर्मेरिया पारिन एआरएल–इटाली, जीएसजी राइफल गज २२ एलआर नामको हतियार जर्मनीबाट प्रसाईंले खरिद गरेका हुन् । उक्त हतियार २०८१ असार मसान्तसम्मका लागि नवीकरण गरिएको छ ।

कसरी लिए प्रसाईंले अर्धस्वचालित हतियारको लाइसेन्स ?

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेलामा उनले २१ असार २०७५ मा झापाबाट उक्त हतियारको लाइसेन्स लिएको खुलेको छ । त्यतिबेला प्रसाईं ओलीसँग निकट सम्बन्ध थियो ।

हातहतियार तथा खरखजना ऐन २०१९ मा प्रष्ट नभए पनि प्रसाईंले लाइसेन्स लिइसकेपछि कार्यान्वयनमा आएको मुलुकी फौजदारी अपराध सहिता २०७४ मा लाइसेन्स लिएर कस्तो प्रकृतिको हतियार राख्न पाउने भन्नेबारे उल्लेख छ ।

संहितामा उल्लेख भएअनुसार प्रसाईंले उक्त हतियार लाइसेन्स लिएर पनि राख्न मिल्दैन । त्यस्ता हतियार बोक्ने र बोक्न अनुमति दिनेलाई समेत संहिताको दफा १३१ को उपदफा ३ अनुसार ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

तर प्रसाईले यी हतियार बाहेक अर्धस्वचालित हतियार लाइसेन्स लिएरै राखेको खुलेको छ । संहिता लागु हुनुपूर्व नै प्रसाईले हतियार लिएको देखिएको भन्दै समितिले उक्त कारबाही प्रक्रिया अघि नबढाउने संकेत गरेको छ ।

लेखकको बारेमा
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?