+
+

सुर्खेतमा भोलिदेखि ‘कर्णाली लिटरेचर फेस्टिभल’

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १० गते २०:१०

१० वैशाख, सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक ‘लिटरेचर फेस्टिभल (साहित्य महोत्सव)’ हुँदै छ । फ्युचर नेपालद्धारा सञ्चालित कर्णाली रिडर्स सोसाइटीको आयोजनामा मंगलबार साहित्य महोत्सव हुन लागेको हो ।

मंगलबार बिहान ११ बजेदेखि सुरु हुने महोत्सवको उद्घाटन कर्णालीका प्रदेश प्रमुख तिलक परियारले गर्ने कार्यक्रम रहेको छ । नेपाली भाषाको उद्गम स्थल कर्णाली प्रदेशमा भाषा, साहित्य र संस्कृतिको विकास गर्न लिटरेचर फेस्टिभल गर्न लागिएको महोत्सवका संयोजक नवराज केसीले बताए ।

‘महोत्सवमा कर्णालीका बारेमा लेखिएका र कर्णालीका लेखकहरुले विभिन्न विधामा लेखेका पुस्तकहरुको खोजी, संकलन र प्रर्दशनी गरिनेछ,’ संयोजक केसीले भने, ‘कर्णालीमा लेख्ने, प्रकाशन गर्ने र पढ्ने परिपाटीलाई प्रेरित गर्दै पठन संस्कृतिकको विकास गर्ने उद्देश्य राखिएको छ ।’

साहित्य महोत्सवमा स्थानीय, राष्ट्रिय तथा अन्तराष्ट्रिय ख्यातीप्राप्त लेखकहरुलाई आमन्त्रण गरिएको महोत्सवका आयोजकसमेत रहेका लेखक माधव चौलागाईले जानकारी दिए । कर्णाली साहित्य महोत्सवमा चारवटा सत्र रहेने छन् । पहिलो सत्र ‘किन पढ्ने, किन लेख्ने?’ शिर्षका हुनेछ । जसमा लेखकहरुले आफ्ना कुरा राख्नेछन् ।

त्यस्तै ‘पठन र नेतृत्व’ शिर्षकमा दोस्रो सत्र हुनेछ । यसमा नेतृत्वमा रहेका मानिसले पढ्न किन जरुरी छ भन्ने विषयमा वहस हुने छ । यो सत्रमा वीरेन्द्रनगर नगरपालिकाका मेयर मोहनमाया ढकाल र जनमत पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य डा. सिके राउत सहभागी हुनेछन् भने सत्रको सञ्चालन पत्रकार बसन्त बस्नेतले गर्ने छन् ।

तेस्रो सत्रका रुपमा डा. माईकल हटले आफ्नो प्रस्तुति राख्नेछन् । माईकलले नेपाली भाषामा विद्यावारिधी गरेका छन् । हाल कर्णाली प्रदेशको दलित साहित्यका बारेमा अनुसन्धान गरिरहेका छन् ।

अन्तिम सत्रका रुपमा ‘कर्णाली भाषा र शिक्षा’ विषयमा छलफल हुनेछ । जसमा यहाँको भाषा, साहित्य र शिक्षाको बारेमा विद्यावारिधी गरेका विज्ञहरुले छलफल गर्नेछन् । त्यस्तै खस गजल साँझ र ‘कवितामा कर्णालीकी छोरी’ विषयक सत्रहरु चल्नेछन् ।

उनका अनुसार फेस्टिभलको पहिलो चरणमा पठन संस्कृतिबारे बहस र विमर्श गरिनेछ । कर्णालीका बारेमा लेखिएका विभिन्न पुस्तक प्रदर्शनी, लेखक र पाठकसँग साक्षात्कार, लेखन प्रतियोगिता पनि तय गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?