+
+

पढेको मानिस नेतृत्वमा हुँदा फरक पर्छ : सीके राउत

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ११ गते १५:३६

११ वैशाख, सुर्खेत । जनमत पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य सीके राउतले जुनसुकै क्षेत्रमा नेतृत्व गर्ने व्यक्तिले अध्ययनलाई महत्व दिनुपर्ने बताएका छन्।

कर्णाली लिट्रेचर फेस्टिभल (कर्णाली साहित्य महोत्सव) मा मंगलबार ‘नेतृत्व र पठन’ विषयक सत्रमा राउतले नेतृत्व वर्गले आफू र नागरिकका लागि ज्ञान लिन जरुरी रहेको धारणा राखे ।

उनले नेतृत्व वर्गले सामाजिक, आर्थिक लगायत देश–विदेशको अवस्थाका बारेमा जानकार हुनुपर्ने बताए । ‘अहिले किन पढ्नुपर्‍यो भन्ने खालको भाष्य पैदा भइरहेको छ, तर त्यो गलत हो’,  उनले भने, ‘पढ्नु एकदमै आवश्यक छ ।’

अहिलेको सूचना प्रविधिको युगमा पढ्ने प्रचलन कम भएको राउतले बताए । मानिसले बर्षमा कति किताब पढ्छ र कस्ता किताब पढ्छन् भन्ने कुराले व्यक्तित्व झल्काउने राउतको भनाइ छ । ‘म हरेक दिन पढिरहेको हुन्छु, कुनैबेला बिहान मैले दुई घण्टा पढिन भने त्यो दिन बर्बाद भएजस्तो ठान्थें’, राउतले भने ।

हिजोआज धेरैले ‘पढेलेखेकाहरुले देश बिगारे’ भन्ने गरेको भन्दै उनले पढेलेखेका मानिसहरुको कदर नभएको धारणा राखे । ‘पहिले गाउँघरमा पढेलेखेका मान्छे भेटिँदा सम्मान हुन्थ्यो, अहिले त आक्रोश पोखिन्छ,’ उनले भने, ‘यो देश पढेलेखेकाहरुले बिगारे भनिन्छ, यहाँ पढेलेखेका मान्छेको कदर भइरहेको छैन।’

उनले अहिलेको सरकार संसदप्रति जिम्मेवार नभएको टिप्पणी गरे । पहिलेका तुलनामा अहिले संसदमा सैद्धान्तिक छलफलको महत्व घटेको पनि उनको भनाइ छ । संसदमा पनि पढेका मानिसको उपस्थितिले फरक अर्थ राख्ने गरेको अनुभव सुनाए ।

उक्त सत्रमा वक्ताका रुपमा रहेका वीरेन्द्रनगर नगरपालिकाका मेयर मोहनमाया ढकालले पछिल्लो पुस्तामा पठन र लेखन संस्कृतिको विकास गर्न आवश्यक रहेको बताइन् । अहिलेको समयमा युवाहरुले सामाजिक सञ्जालमा बढी समय दिने भएकाले पढ्ने प्रचलन घटेको उनको भनाइ छ ।

मेयर ढकालले इतिहासको बारेमा जान्न अध्ययन गर्नु अनिवार्य हुने बताइन् । ‘हामीले विद्यालय शिक्षालाई निकै महत्व दिएर लागिरहेका छौं, कोही पनि विद्यालय बाहिर नरहने गरी अघि बढेका छौं’, उनले भनिन्, ‘यसबाहेक पुस्तक अध्ययनको बानी पनि बसाल्न पठन संस्कृतिको विकास गर्नु जरुरी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?