+
+

कस्तो छ नेपाल आउने वेष्ट इण्डिज ए टोली ?

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ११ गते १७:५९

११ वैशाख, काठमाडौं । दुई पटक एकदिवसीय र टी-२० विश्वकप बिजेता टिम वेष्ट इण्डिजले पहिलो पटक नेपाल भ्रमणमा आउने अन्तिम टोली घोषणा गरेको छ ।

पाँच टी–२० खेलको सिरिज खेल्न वेष्ट इण्डिज ए ले सिनियर टोलीबाट खेलेका १२ खेलाडी नेपाल पठाउने भएको छ । १५ सदस्यीय  टोलीमा कदिम एलियन, जोशुवा विशोप र मार्क दयालले मात्रै सिनियर टोलीबाट खेलेका छैनन् ।

सन् २०१२ र २०१६ मा वेष्ट इण्डिजले टी–२० विश्वकप जित्दा शीर्षक्रमका ब्याटर ३५ वर्षीय जोनसन चार्ल्सले ४८ टी–२० आईमा १ शतकसहित १ हजार ८५ रन बनाएका छन् । उनले गतवर्ष दक्षिण अफ्रिकाविरुद्ध सेन्चुरियनमा ४६ बलमा १० चौका र ११ छक्कासहित ११८ रनको शानदार शतकीय इनिङ खेलेका थिए ।

२०१६ को टी–२० विश्वकपको सेमिफाइनलमा घरेलु टोली भारतलाई हराउन वानखडे स्टेडियममा ३६ बलमा ७ चौका र २ छक्कासहित ५२ रन बनाएका थिए । ओपनिङ र तेस्रो नम्बरमा खेल्ने उनी ठूला सटका लागि चिनिन्छन् ।

२६ वर्षीय शीर्षक्रमका ब्याटर आन्द्रे फ्लेचर वेष्ट इण्डिजले सन् २०१६ मा टी–२० विश्वकप जित्दाका सदस्य हुन् । वेष्ट इण्डिजबाट उनले २५ ओडीआई र ५४ टी–२० आई खेलेका छन् ।

वेष्ट इण्डिजका ब्याटिङका भविष्य एलिक एथानाजले ४ टेस्ट र १० ओडीआई खेल खेलेका छन् ।

३२ वर्षीय रोस्टन चेसले वेष्ट इण्डिजको कप्तानी गर्नेछन् । स्पिन अलराउन्डर चेसले ४९ टेस्ट खेलमा ५ शतक र ११ अर्धशतकसहित २२ सय ६५ रन बनाउनुका साथै ८५ विकेट लिएका छन् । यस्तै ४५ ओडीआई र ११ टी–२० आई खेलेका छन् ।

२७ वर्षीय केसी कार्टी अर्का आशलाग्दा ब्याटर हुन् । अष्ट्रेलियाविरुद्ध दोस्रो ओडीआई खेलमा गत फेब्रुअरीमा ८८ रनको इनिङ खेलेका थिए । फिल्डिङका चर्चित स्पिन अलराउन्डर फबिएन एलेनले २० ओडीआई र ३४ टी–२० आई खेल खेलेका छन् ।

उत्कृष्ट बलिङ आक्रमण

२७ वर्षीय बायाँ हाते तीव्र गतिका बलर ओबेद म्याककोय ३१ टी–२० आईमा ४१ विकेट लिएका छन् ।

२०२२ मा पाँच खेलको टी–२० आई सिरिज अन्तर्गत दोस्रो खेलमा भारतलाई १३८ रनमा अल आउट गर्न एकै खेलमा (रोहित शर्मा, सूर्यकुमार यादव, भुवनेश्वर कुमार, दिनेश कार्तिक, रवीन्द्र जडेजा र रविचन्द्रन आश्विन) आउट गर्दै प्लेयर अफ द म्याच चुनिएका थिए । राजस्थान रोयल्सबाट २०२२ मा आईपीएल खेलेका म्याकोय स्वीङ र लेन्थ बलका लागि चिन्छिन् ।

अलराउन्डर किमो पल तीव्र गतिसँगै तल्लो क्रममा आक्रामक क्रिकेट खेल्ने गर्दछन् । उनी दिल्ली क्यापिटल्समा २०१८ देखि २०२० सम्म थिए । तीव्र गतिका बलर ओशान थोमस अर्का स्टार बलर हुन् । २१ वर्षीय तीव्र गतिका बलर म्याथ्यु फर्डले गत डिसेम्बरमा इंग्ल्यान्डसँग ओडीआई र टी२० आईमा डेब्यू गरेका थिए ।

मैदानको अवस्थालाई ध्यानमा राख्दै वेष्ट इण्डिजले दुबै प्रमुख स्पिनर हेडन वाल्स र गुडाकेस मोतीलाई पठाएको छ । फबिएन एलेन र रोस्टन चेस पार्टटाइम बलर हुन् ।

फबिएन, जोनसन, ओबेद, किमो पल र थोमस आईपीएल अनुभवी खेलाडी हुन् । वेष्ट इण्डिजका खेलाडी विश्वभरका टी-२० लिगहरुमा खेलेको अनुभव पनि छ । वेस्ट इण्डिजका मुख्य प्रशिक्षक ड्यारेन सामीले नेपाल भ्रमणमा राम्रो प्रदर्शन गर्ने खेलाडीले टी-२० विश्वकप टोलीमा स्थान बनाउने बताएका छन् । वेष्ट इण्डिज ए को मुख्य प्रशिक्षकमा फ्लोयड रेफर नेपाल आउनेछन् ।

नेपाल आउने सबभन्दा बलियो टोली

वेष्ट इण्डिज ए अन्तर्राष्ट्रिय स्तर अनुसार नेपाल आउने सबभन्दा उच्च स्तरको टोली हो ।

जिम्बावे र आयरल्यान्डपछि तेस्रो टेस्ट ए टोली हो । जिम्बावे ए २०२२ समान तीन टी–२० र एकदिवसीय सिरिज खेलेर फर्किएको थियो । टी–२० सिरिज १–१ को बराबरीमा र एकदिवसीय नेपालले २–१ ले जितेको थियो ।

आयरल्यान्ड ए अघिल्लो महिना नेपाल भ्रमणमा पाँच टी–२० र तीन एकदिवसीय खेल खेलेर फर्किएको थियो । आयरल्यान्ड ए ले नेपालसँग २–० ले टी–२० सिरिज हारेको थियो । नेपाल ए लाई तीन खेलको सिरिजमा ३–० ले हराएको थियो । तीन एकदिवसीय सिरिज आयरल्यान्डले २–१ ले जितेको थियो ।

एसोसिएटका प्रमुख दुई टोली नेदरल्यान्ड्स र स्कटल्यान्ड नेपाल आइसकेका छन् ।

वेष्ट इण्डिज ए टोली :

रोस्टन चेस (कप्तान), एलिक एथानाजे (उपकप्तान), फबिएन एलेन, कदीम एलियन, जोशुवा विशोप, केसी कार्टी, जोनसन चाल्र्स, मार्क दयाल, आन्द्रे फ्लेचर, म्याथ्यु फर्ड, ओबेद म्याककोय, गुडाकेश मोती, किमो पल, ओशान थोमस र हायडेन वाल्स ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?