+
+

गृहमन्त्री चुनावी अभियानमा व्यस्त हुँदा एक सातादेखि डीआईजी कामविहीन

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ११ गते १७:३८

११ वैशाख, काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने चुनावी अभियानमा व्यस्त हुँदा सशस्त्र प्रहरी बलका एक डीआईजी साता दिनदेखि कामविहीन बनेका छन् ।

१५ चैतमा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दीपक अधिकारी नायब महानिरीक्षकमा बढुवाका लागि सिफारिस भएका थिए । ४ वैशाखमा अधिकारीले डीआईजीको दर्ज्यानी चिह्न लगाइसकेका छन् । तर, दर्ज्यानी चिह्न लगाएको एक साता बितिसक्दा पनि उनको पदस्थापन हुन सकेको छैन ।

अधिकारी एसएसपी हुँदासम्म सशस्त्र प्रहरी बल नेपाल हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन पोखराको समादेशक थिए । डीआईजीमा बढुवा भएसँगै अधिकारीले अब शिक्षालय लामापाटनमा हाजिर गर्न मिल्दैन । अधिकारी जिम्मेवारी हस्तान्तरण गर्न सोमबार लामापाटन पोखरा पुगेका थिए ।

विगत एक सातादेखि भने उनी सशस्त्र प्रहरी हेडक्वार्टर हल्चोकस्थित मानव स्रोत विभागमा हाजिर गरेर फर्कने गरेका छन् । सामान्यता सुरक्षा निकायमा दर्ज्यानी चिह्न लगाएलगत्तै पदस्थापन गर्ने चलन छ । तर, अधिकारीले डीआईजीको दर्ज्यानी चिह्न लगाएको मंगलबार ८ दिन पूरा भए पनि अहिलेसम्म उनले जिम्मेवारी पाएका छैनन् ।

एक सातासम्म डीआईजी अधिकारी जिम्मेवारविहीन हुनुको मुख्य कारण उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेसँग जोडिएको सशस्त्र प्रहरी हेडक्वार्टर स्रोतको भनाइ छ । सशस्त्र प्रहरी बलको नियमावली २०७२ को दफा ३५ अनुसार एसएसपी र डीआईजीको पदस्थापन तथा सरुवाको अधिकार गृहमन्त्रीलाई छ ।

तर, गृहमन्त्री लामिछाने यतिबेला १५ वैशाखमा इलाम–२ मा हुने उपनिर्वाचनको प्रचारप्रसार तथा चुनावी सभाका लागि इलाममा छन् । उनी चुनावी अभियानमा व्यस्त रहेकै कारण डीआईजी अधिकारीको पदस्थापन हुन नसकेको हो ।

गृहमन्त्री लामिछाने मंगलबार पनि इलाम पुगेका छन् । उनी बुधबारसम्म इलाममै रहनेछन् । यसअघि पनि ७ र ८ वैशाखमा पनि गृहमन्त्री लामिछाने इलाममा थिए ।

लामिछाने चुनावी अभियानमा सक्रिय रहँदा अधिकारीको पदस्थापन सँगै अन्य डीआईजीहरुको सरुवा प्रक्रिया पनि लम्बिएको छ । १४ फागुन २०७९ मा १५ डीआईजीको पदस्थापन तथा सरुवा भएको थियो । इन्चार्जको कमाण्ड सम्हालेको एक वर्षमा सरुवा गर्ने मापदण्ड भए पनि उनीहरुको १४ महिना पुगिसक्दा समेत सरुवा हुन सकेको छैन ।

यता सशस्त्र प्रहरी हेडक्वार्टरले भने डीआईजी अधिकारीको पदस्थापन र अन्यको सरुवा एकै पटक गर्ने योजना भएको तर केही ढिलाइ भएको बताएको छ । ‘सरुवा र पदस्थापन एकै पटक गर्ने तयारी छ । सोही प्रक्रिया मिलाउनका लागि समय लाग्दा केही लम्बिएको हो । अब चाँडै पदस्थापन र सरुवा होला’, सशस्त्रको मानव स्रोत विभागका एक अधिकृतले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?