११ वैशाख, काठमाडौं । प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा २२ देखि २५ वैशाखमा प्रकाश दाहाल स्मृति बागमती प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता हुने भएको छ ।
प्रतियोगिता ललितपुरको महांकाल गाउँपालिकामा आयोजना हुनेछ । मंगलबार भएको पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक डोल्मामाया गोलेले प्रतियोगिता सम्पन्न गर्नका लागि जिल्ला, पालिका र वडा तहमा विभिन्न समिति गठन गरिएको जानकारी दिइन् । उनले भनिन्, ‘समितिहरूले द्रूत गतिमा विभिन्न तयारीका कार्य गरिरहेका छन् ।’
ललितपुर जिल्ला खेलकुद विकास समिति प्रतियोगिताको सहआयोजक रहेको छ । प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद् र बागमती प्रदेश खेलकुद विकास परिषद्को सहयोग रहने छ । यसैगरी नेपाल भलिबल संघको प्राविधिक सहयोग छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालका छोरा प्रकाश दाहाल र छोरी ज्ञानु दाहालको स्मृतिमा प्रज्ञा स्मृति प्रतिष्ठान स्थापना गरिएको थियो । प्रतिष्ठानले आफ्नो स्थापनाकालदेखि नै खेलकुद लगायतका कार्यक्रम गर्दै आइरहेको छ ।
प्रतियोगितामा प्रदेशभरका ११९ पालिकामध्ये ५० पालिकाबाट सहभागिता रहने अपेक्षा गरिएको छ । कुल पुरस्कार राशि १२ लाख रुपैयाँ रहेको प्रतियोगिताको विजेतालाई ३ लाख, उपविजेतालाई २ तथा तृतीय हुने २ टिमलाई १/१ लाख रुपैयाँ प्रदान गरिने छ । साथै उत्कृष्ट प्रशिक्षक तथा खेलाडी ५ जनालाई जनही ५० हजार रुपैयाँ पुरस्कार रहेको छ ।
प्रतिक्रिया 4