+
+

काठमाडौं र ललितपुरका शिक्षकले किन रोके उत्तरपुस्तिका परीक्षण ?

नुनुता राई नुनुता राई
२०८१ वैशाख ११ गते १९:४६

११ वैशाख, काठमाडौं । पारिश्रमिक कम भएको भन्दै शिक्षकहरुले काठमाडौं र ललितपुरको परीक्षण केन्द्रमा माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण रोकेका छन् ।

प्रमुख तीन दल निकटका शिक्षक संगठनले विज्ञप्ति नै निकालेर पारिश्रामिक नबढाएसम्म उत्तरपुस्तिका परीक्षण गर्न नसक्ने बताएका छन् । सरकारी अधिकारीहरु भने राजनीतिक दलमा आवद्ध भए कारबाही गर्ने निर्णय गरेपछि रुष्ट बनेका शिक्षकहरुले शिक्षामन्त्रीलाई च्यालेञ्ज गर्न खोजेको आशंका गर्छन् ।

परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का अनुसार गत चैतमा भएको एसईई परीक्षाको एसईईको उत्तरपुस्तिका परीक्षणमा सहभागी हुन चाहने शिक्षकका लागि आह्वान गर्छ ।

त्यही सूचनाका आधारमा सम्पर्कमा आएकाहरुबाट विषयगत शिक्षकहरु छनोट गरिन्छ । छनोट भएका शिक्षकहरुलाई एक दिने अभिमुखीकरण तालिम पनि दिइन्छ ।

आइतबार ललितपुर र सोमबार काठमाडौंका शिक्षकहरुको अभिमुखीकरण भयो । ललितपुरमा सोमबार र काठमाडौंमा (आज) मंगलबारबाट उत्तर पुस्तिका परीक्षण सुरु हुनुपर्ने थियो ।

परीक्षा नियन्त्रक नन्दलाल पौडेल आफैंले उत्तर पुस्तिका जाँचका लागि इच्छा गरेको र तालिम लिइसकेपछि पारिश्रामिकमा चित्त नबुझेको भनेर अवरोध गर्नु शंकास्पद भएको बताउँछन् ।

तर नेपाल राष्ट्रिय शिक्षक संगठनका उपाध्यक्ष प्रकाश घिमिरे, नेपाल शिक्षक संघका अध्यक्ष सुरेशप्रसाद घिमिरे, एकीकृत अखिल नेपाल शिक्षक संगठनका सचिव शैलेशबहादुर प्रधान र प्रगतिशील शिक्षक संगठनका अध्यक्ष गोविन्द चिलवालले विज्ञप्ति निकालेर पारिश्रामिक नबढाएसम्म उत्तरपुस्तिका परीक्षण गर्न नसक्ने बताए ।

कक्षा १२ को उत्तरपुस्तिका परीक्षणका लागि दिइने समान (प्रतिउत्तर पुस्तिका ३० रुपैयाँ) दिनुपर्ने उनीहरुको माग छ । तीन वटा शिक्षक संगठनले दुबै परीक्षा केन्द्रको मुख्य गेटमा ताला समेत लगाएका छन् ।

शिक्षा विकास समन्वय इकाइ, ललितपुरका प्रमुख निमप्रकाश राठौरका अनुसार मावि तहमा अध्यापनरत स्थायी शिक्षक परीक्षक हुन पाउने व्यवस्था छ ।

अघिल्लो वर्ष परीक्षणमा सहभागी भएका शिक्षकले ‘रोष्टर’ अनुसार स्वतः पाउँछ भने नयाँ शिक्षकले सम्बन्धित विषय शिक्षक भएको प्रधानाध्यापकको सिफारिस पत्र ल्याएपछि परीक्षक हुन पाउने व्यवस्था रहेको छ । संपरीक्षणमा भने वरिष्ठता र विज्ञताको आधारमा जिम्मेवारी दिइन्छ ।

हाल एसईईको उत्तरपुस्तिका परीक्षणको २४ र संपरीक्षणको ६ रुपैयाँ पारिश्रमिक तोकेको छ । कर कट्टा गर्दा एउटा उत्तरपुस्तिका परीक्षणको २० रुपैयाँ जति आउँछ । साथै एक जना शिक्षकले औसतमा ३०० विद्यार्थीको उत्तरपुस्तिका जाँच्न पाउने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

केन्द्राध्यक्षको ८०० (कर काटेर ६८०), सहायक केन्द्राध्यक्षको ५०० (कर कटाएर ४२५) र निरीक्षकको ३५० (कर कटाएर २५७) रुपैयाँ दैनिक हुन आउँछ ।

परीक्षा नियन्त्रक नन्दलाल पौडेल आफैंले उत्तर पुस्तिका जाँचका लागि इच्छा गरेको र तालिम लिइसकेपछि पारिश्रामिकमा चित्त नबुझेको भनेर अवरोध गर्नु शंकास्पद भएको बताउँछन् ।

उनले भने, ‘उहाँहरुले उत्तरपुस्तिका परीक्षणको पारिश्रामिक निहुँ भए पनि अरु केही हो कि भन्ने लागेको छ ।’

कार्यालयका एक कर्मचारी भने राजनीतिक दलमा आवद्ध शिक्षकहरुलाई कारवाही गर्ने निर्णयलाई असफल बनाउनको शिक्षक संगठनहरु लागेको बताउँछन् ।

‘राजनीतिक दलका शिक्षक संगठनहरुले यसलाई अस्त्र बनाएका हुन्’, उनी भन्छन्, ‘आफ्नो शक्ति देखाएर मन्त्रीलाई च्यालेञ्ज दिएका हुन् ।’
शिक्षा, विज्ञान तथा प्रविधि शिक्षामन्त्री सुमना श्रेष्ठले ४ वैशाखमा शिक्षक राजनीतिक दलमा आवद्ध भएको पुष्टि भए कारवाही गर्ने मन्त्रीस्तरी निर्णय गरेकी थिइन् ।

त्यसअनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्रले स्थानीय तहहरुलाई पत्राचार गरेको छ । यसप्रति प्रमुख दलआवद्ध शिक्षक संगठन रुष्ट छन् ।

तर नेपाल शिक्षक संघ ललितपुरका अध्यक्ष सुरेशप्रसाद घिमिरे भने राजनीतिक दलमा आवद्ध शिक्षकलाई कारबाही गर्ने निर्णयसँग अहिलेको मुद्दामा नजोडेको बताउँछन् । ‘त्यसको विषयमा छुट्टै छलफल हुन्छ, महासंघले पनि पहल गर्ला’, उनले अनलाइनखबरसँग भने, ‘त्यसलाई अहिले जोडेका छैनौं ।’

नेपाल राष्ट्रिय शिक्षक संगठनका काठमाडौं जिल्ला अध्यक्ष डिल्ली शर्माले पनि पारिश्रामिक वृद्धि भन्दाबाहेक कुनै आसयले आन्दोलन नगरेको जिकिर गरेका छन् ।

‘नेपाल राष्ट्रिय शिक्षक संगठनलाई कसैले राजनीतिक दलको भातृसंगठन भनेर बुझ्छ भने गलत बुझाइ हो’, उनले अगाडि भने, ‘हामीलाई न्यायोचित पारिश्रमिकको व्यवस्था भए भोलिदेखि नै परीक्षण सुरु गर्छौं ।’

लेखकको बारेमा
नुनुता राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?