
१२ वैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ ।
बुधवार बसेको मन्त्रिपरिषद् बैठकले हिउँदे अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए ।
प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले अधिवेशन अन्त्यको घोषणा गर्ने व्यवस्था छ ।
प्रदेश सरकार आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट निर्माणको तयारीमा छ । त्यसैले हिउँदे अधिवेशन अन्त्य गरेर जेठबाट प्रि–बजेट छलफल सुरु गर्ने तयारी रहेको मन्त्री श्रेष्ठले बताए ।
१५ फागुन २०८० बाट हिउँदे अधिवेशन सुरु भएको थियो ।
५ दिनमा ५ घण्टा बैठक
हिउँदे अधिवेशन अन्तर्गत ५ दिनमा ५ घण्टा ११ मिनेट मात्रै बैठक चलेको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।
५७ दिनको अधिवेशन अवधिमा ६ वटा मात्रै बैठक बसेको प्रदेशसभा सचिवालयका प्रवक्ता मनोज गुप्ताले जानकारी दिए । उनकाअनुसार अधिवेशनभर शून्य समय भएन भने विशेष समय एउटा चलेको थियो ।
विधेयक अधिवेशनको रुपमा चिनिने हिउँदे अधिवेशनबाट हस्तकला ग्राम स्थापना तथा सञ्चालन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल भएर उद्योग, पर्यटन तथा वातावरण समितिमा पठाइएको छ ।
हिउँदे अधिवेशनको पहिलो बैठक प्रदेशका पूर्व भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम पौडेलको शोक प्रस्ताव पारित गरेर स्थगित भएको थियो ।
१७ फागुनमा बसेको दोस्रो बैठकले बजेट तथा कार्यक्रम व्यवस्थापन विशेष समिति गठन, १७ फागुनमै बसेको तेस्रो बैठकमा हस्तकला ग्राम विधेयक पेस तथा विधेयकमाथि सैद्धान्तिक छलफल भएको थियो ।
२९ फागुनमा बसेको अधिवेशनको चौथो प्रदेश सभा बैठकमा विशेष समितिको प्रतिवेदन पेस, ३० फागुनमा भएको पाँचौं बैठकले प्रतिवेदन पारित गरेको थियो ।
१९ चैतमा भएको हिउँदे अधिवेशनको अन्तिम तथा छैठौं बैठकबाट मुख्यमन्त्री शालिकराम जम्कट्टेलले तेस्रो पटक विश्वासको मत लिएका थिए ।
प्रतिक्रिया 4