+
+
जिज्ञासा र जवाफ :

नेपाल–कतार वाणिज्य परिषद्, नेपाललाई फाइदा के ?

दुई देशका निजी क्षेत्र सम्मिलित परिषद्ले व्यापार र लगानी आदान प्रदानमा काम गर्ने छ । यसले नेपालको अर्थतन्त्रलाई उकास्न सघाउने नेपाली पक्षको विश्वास छ ।

कमल नेपाल मस्त केसी कमल नेपाल, मस्त केसी
२०८१ वैशाख १२ गते २०:३४

१२ वैशाख, काठमाडौं । नेपाल र कतारको निजी क्षेत्रको सहभागितामा ‘नेपाल–कतार संयुक्त वाणिज्य परिषद्’ स्थापना हुने भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र कतार चेम्बरका अध्यक्ष शेख खलिफा बिन जसिम अल थानीले नेतृत्व गर्ने गरी परिषद् स्थापनाको सम्झौता भएको हो ।

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा बुधबार भएको सम्झौताले दुवै मुलुकको आर्थिक क्रियाकलापमा सघाउ पुग्ने विश्वास लिइएको छ । यसले दुई देशका निजी क्षेत्र मिलेर काम गर्दा नेपाललाई आर्थिक रूपमा बढी फाइदा हुने जानकारहरू बताउँछन् ।

यिनै विषयको जवाफ खोज्ने प्रयास अनलाइनखबरको शृङ्‍खला जिज्ञासा र जवाफ’ मा :

नेपालमा कतारको लगानी आउँछ ?

परिषद्ले नेपालमा कतारको व्यापार विस्तार, लगानी प्रवर्द्धन, प्रविधि हस्तान्तरण, पर्यटन प्रवर्द्धन लगायत क्षेत्रमा काम गर्नेछ ।

‘नेपालमा लगानी गर्न कतारको निजी क्षेत्र इच्छुक छ, परिषद्को स्थापनापछि नेपालको जलविद्युत्, पर्यटन पूर्वाधार, सूचना प्रविधि र कृषि प्रशोधनका क्षेत्रमा कतारलाई लगानीका लागि सहजीकरण हुनेछ,’ महासंघ अध्यक्ष ढकालले भने, ‘त्यसका लागि हामी हरप्रकारले सघाउन र सहजीकरण गर्न तयार छौं ।’

परिषद् गठनले लगानीका उपयुक्त क्षेत्र पहिचान गर्ने, लगानीका लागि प्रक्रिया अघि बढाउने, आवश्यक सहजीकरण गर्ने कार्य अघि बढ्ने महासंघले जनाएको छ ।

‘कतारको निजी क्षेत्रलाई यहाँ लगानीका लागि सरकारका तर्फबाट गर्नुपर्ने कामको पनि नेपालको निजी क्षेत्रले सघाउने छ,’ ढकालले भने, ‘यसले गर्दा नेपालमा लगानी गर्न कतारको निजी क्षेत्र आउँछ भन्ने हाम्रो विश्वास हो ।’

नेपालबाट तरकारी, खाद्यान्न निर्यात सम्भव छ ?

कतार सबै हिसाबले सम्पन्न भए पनि खाद्यान्नमा भने आत्मनिर्भर छैन । त्यहाँको वातावरणले गर्दा कतारले खाद्यान्नमा बलियो हुने अवसर पाएको छैन । यसले गर्दा कतारले आफूलाई आवश्यक अधिकांश खाद्यान्न युरोपेली देशबाट भित्र्याउँछ । स्वच्छ र गुणस्तरीय खाद्यान्न उत्पादनमा युरोपेली देश मुलुक अग्रणी मानिन्छन् ।

धनी भएर पनि खाद्यान्न किनेर खानुपर्ने देशका लागि नेपालको हरियो तरकारी बेच्न सक्ने ठाउँ प्रशस्त छ । चालु आर्थिक वर्ष २०८०/८१ को चैतसम्म नेपालबाट ९ करोड रुपैयाँबराबर तरकारी, अदुवा, ग्रिन टी लगायत वस्तु कतारी बजार पुगेको छ । तर, यतिमात्रै पर्याप्त छैन । यसलाई परिषद्को सहयोगमा बढाउनुपर्ने निजी क्षेत्रको बुझाइ छ ।

कृषिलगायत क्षेत्रमा समेत कतारको लगानी आकर्षित गर्न र व्यापार विस्तार गर्न परिषद्ले प्रभावकारी भूमिका खेल्ने विश्वास भएको ढकालले बताए ।

‘खाडी मुलुकमा कृषिजन्य उत्पादन, पानी, जडिबुटी, मसला र मसलाजन्य वस्तुको अत्यधिक माग छ,’ उनले भने, ‘दुवै देशका निजी क्षेत्र मिलेर नेपालमै उत्पादन गरेका कृषिजन्य सामग्री कतार पठाउन हामी पहल गर्नेछौं ।’

तीव्र आर्थिक विस्तार गरिरहेका कारण कतार नेपाली व्यवसायीको प्रस्तावमा सकारात्मक हुने र नेपालको उत्पादन क्षेत्रमा प्रभावकारी भूमिका निर्वाह हुने ढकालले बताए ।

महासंघले ‘खेतदेखि खाडीसम्म’ भन्ने अभियान चलाइरहेको छ । नेपालबाट कतारमा हाल दैनिक ५–६ उडान भइरहेका छन् । ती उडानका क्रममा नेपालका खेतमा उत्पादन भएका कृषिजन्य उत्पादन कतारसहित खाडी मुलुकमा पठाउन पनि यो परिषद् महत्वपूर्ण हुने महासंघका महानिर्देशक गोकर्ण अवस्थीले बताए । ‘नेपालको कृषि उपजले राम्रो मूल्य पाउन, निर्यात प्रवद्र्धनका लागि परिषद्ले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ,’ उनले भने ।

परिषद् गठनले १/२ वर्षभित्रै नतिजा दिन सक्ने उनले बताए । दुवै देशका सरकार प्रमुखको उपस्थितिमा यो सहमति भएकाले राज्यले नै प्राथमिकता दिएको भन्ने विश्वास कायम हुन्छ ।

‘परिषद् गठन भइसक्यो, अब हामी कहिले कतार, कहिले नेपालमा निरन्तर संवाद गर्छौं,’ उनले भने ।

‘नेपाल–कतार संयुक्त वाणिज्य परिषद्’ स्थापना सम्झौतामा हस्ताक्षर गर्दै नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकाल र कतार चेम्बर अध्यक्ष शेख खलिफा बिन जसिम अल थानी ।

नेपालको पूर्वाधारमा कतारले सघाउला ?

सन् २०२३ जुलाईमा पाकिस्तानका तीन ठूला विमानस्थलको क्षमता विस्तारका लागि कतारले लगानी गर्ने सहमतिपत्रमा हस्ताक्षर भइसकेको छ ।

सहमतिअनुसार कतारले पाकिस्तानको इस्लामावाद, कराँची र लाहोर विमानस्थलमा ३ अर्ब अमेरिकी डलर लगानी गर्दैछ ।

परिषद्को सहकार्यमा पूर्वाधार क्षेत्रमा लगानी ल्याउन सकिने नेपाली व्यवसायीले बताएका छन् ।

नेपालले निजगढमा अर्को अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने भनेको दशकौं बितिसकेको छ । निजगढमा विमानस्थल बन्नुअघि नै पोखरामा नयाँ र भैरहवाको स्तरोन्नति गरी अन्तर्राष्ट्रिय बनाइसकिएको छ । तर, पर्याप्त उडान भने हुन सकेका छैनन् ।

नेपालका तर्फबाट निजगढमा लगानी आकर्षित गर्न सक्ने सम्भावना देखिन्छ भने बाँकी दुई विमानस्थल सञ्चालनमा पनि उसलाई थप घच्घच्याउन सकिन्छ ।

यसरी विविध क्षेत्रमा लगानी बढाइरहेको विश्वको धनीमध्येको एक देशसँग नेपाली निजी क्षेत्रको सहकार्यलाई कतारले नै सुखद सुरुवात भनेको छ ।

कतार चेम्बरका अध्यक्ष थानीले यो सम्झौताले सहकार्यको सुरुवात भइसकेको बताए । दुई मुलुकका निजी क्षेत्रबीच लगानी तथा व्यावसायिक सूचनाहरू आदानप्रदान गर्न सहज हुने उनको भनाइ छ ।

कतारले विश्वबजारमा के गरिरहेको छ ?

पछिल्लो समय कतारले आफ्नो लगानी विश्वभरि फैलाइरहेको छ । एसियाली देशमा मात्रै होइन, कतारको लगानी अमेरिका, बेलायत जस्ता ठूला अर्थतन्त्र भएका देशमा समेत अर्बौं डलर पुगिसकेको छ ।

जर्मनी, फ्रान्स, चीन, भारतजस्ता विश्वका महाशक्ति राष्ट्रका विभिन्न क्षेत्रमा समेत कतारको लगानी छ ।

कतार धनी भएको इन्धन त्यसमा पनि विशेष गरेर ग्यास निर्यात गरेर हो । पछिल्लो समय कतारले विश्वबजारका ठूला सहरमा इन्धनसँग सम्बन्धिन परियोजनामा लगानी बढाएको छ ।

अमेरिकाको टेक्सासमा गोल्डेन पास नामक ग्यास उत्पादक कम्पनीमा कतारले १० अर्ब डलर लगानी गरेको छ । यो ग्यास कम्पनी अमेरिकाको शीर्ष १० ठूलो कम्पनीमा पर्छ । जसले यही वर्षभित्र उत्पादन सुरु गरेर निर्यात समेत गर्ने छ । त्यसका साथै अमेरिकाको हाउजिङ, अटो, सपिङ मललगायत क्षेत्रमा कतारले बर्सेनि लगानी बढाउँदै लगेको छ ।

पूर्वाधारलगायत क्षेत्रमा पनि कतारले लगानी विविधीकरण गर्दै गएको छ । बेलायतको हिथ्रो विमानस्थलको ठूलो लगानीकर्तामध्ये एक कतार पनि हो । जसमा उसको २० प्रतिशत लगानी छ ।

लेखकको बारेमा
कमल नेपाल

अनलाइनखबर डटकमको आर्थिक ब्युरोमा कार्यरत नेपाल धितोपत्र बजार विषयमा रिपोर्टिङ गर्छन् ।

मस्त केसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?