+
+

भूकम्पमा ज्यान गुमाउनेको नाम नपाउँदा बारपाकमा स्मृति पार्कको काम रोकियो

विकास मरहट्टा विकास मरहट्टा
२०८१ वैशाख १३ गते १८:०१

१३ वैशाख, गोरखा । २०७२ सालको भूकम्पमा ज्यान गुमाएकाहरुको नाम नपाएपछि बारपाकमा निर्माणाधीन स्मृति पार्कको काम दुई बर्षदेखि रोकिएको छ ।

पार्क निर्माण गरिरहेको संघीय आयोजना कार्यान्वयन इकाइ कास्कीका इन्जिनियर वीरबल सुनारका अनुसार भूकम्पमा ज्यान गुमाउनेहरुको नामावली गृह मन्त्रालयबाट प्राप्त नभएकाले काम रोकिएको हो । ‘हामीलाई गृह मन्त्रालयले नामावली दिने हो, तर अहिलेसम्म दिएको छैन’, उनले भने ।

पार्कभित्र भूकम्प अति प्रभावित १४ जिल्लामा भूकम्पमा परी ज्यान गुमाएकाहरुको सम्झनामा ‘स्मृति स्तम्भ’ निर्माण गरिएको छ । त्यहाँ १४ जिल्लाको छुट्टाछुट्टै स्तम्भ छन् ।

सोही स्तम्भको भित्तामा नाम लेख्ने काम बाँकी रहेको इन्जिनियर एवं सूचना अधिकारी गोपीचन्द्र आचार्यले बताए । ‘स्तम्भको भित्तामा नाम लेख्ने बाहेकको अरु सबै काम लगभग सकिइसक्यो’, उनले भने, ‘तर नाम नभएर काम रोकिएको छ ।’

उनका अनुसार २०७४ साल मंसिर १४ गते पार्क निर्माणका लागि स्वच्छन्द/होम निर्माण सेवा जेभीसँग ठेक्का सम्झौता भएको थियो । सम्झौता अनुसार २०७७ जेठ १३ गते काम सक्नुपर्ने थियो । तर ठेकेदारले काम सक्ने समय चार पटक थप भइसकेको छ ।

अन्तिम पटक २०८० साल माघ ३० गते थप भएको म्याद पनि सकिइसक्यो । काम सम्पन्न नभएपछि पुनः म्याद थप्ने तयारी भइरहेको कार्यालयले जनाएको छ ।

होम निर्माण सेवाका प्रोपाइटर होमबहादुर बानियाँले सरकारले नाम नदिएका कारण पार्कको काम बाँकी रहेको बताए । ‘तीन बर्ष भयो नाम दिन्छु भनेको तर अहिलेसम्म पाएका छैनौं’, बानियाँले भने ।

सरकारका कारण काम नहुँदा पनि निर्माण कम्पनीले दोष खेप्नुपरेको उनको गुनासो छ । ‘नाम दिदैनन् तर म्याद थप मात्र भयो भन्छन् । म्याद थप गर्दा बैंकिङ र इन्स्योरेन्स कमिसन बुझाउनुपर्छ, करिब पाँच लाख खर्च हुन्छ’, उनले भने ।

अहिले पार्कभित्र निर्माण भएका अरु संरचना पनि बिग्रिन थालिसकेको बानियाँले बताए । ‘गत भदौ महिनासम्म पार्कमा कुरुवा राखेका थियौं, तर सरकारले नाम कहिले दिने टुंगो नभएपछि हटायौं’, बानियाँले भने ।

संघीय आयोजना कार्यान्वयन इकाइसँग पटक पटक नामावली माग गर्दा पनि उपलब्ध गराउन नसकेको उनले बताए । ‘केन्द्रमा पटक पटक चिठी लेख्यौं, मौखिक रुपमा पनि धेरै पटक भन्यौं, हामीले गृहलाई भनेका छौं तपाई नआत्तिनुस् नामावली आउँछ भन्नुभयो तर अहिले सम्म छैन’, बानियाँले भने । नामावली पाएको एक महिनाभित्र काम सकिने उनले बताए ।

गृह मन्त्रालयको विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव भरतमणि पाण्डेले भने भूकम्प पार्कमा राख्नका लागि नाम माग भएको आफूलाई जानकारी नभएको जवाफ दिए । ‘हामीसँग माग भएको छैन, मलाई अहिलेसम्म यो बारेमा जानकारी पनि छैन’, उनले भने ।

पार्क निर्माणको कुल लागत १२ करोड १४ लाख ६१ हजार रहेको छ । सरकारी स्वामित्वको २१६ रोपनी क्षेत्रफलमा पार्क निर्माण भएको हो । पार्कभित्र बगैंचा, शौचालय, चमेना गृह, पार्किङ स्थल र सडक निर्माण भएका छन् ।

लेखकको बारेमा
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?