
काठमाडौं । नेपाली डायस्पोरा यतिबेला संगीतमय भइरहेको छ । कलाकार र ब्याण्डको लाइनअप हेर्दा यस वर्ष अरु खास हुने देखिन्छ ।
यसैबीच मुलुकका तीन चर्चित रक ब्याण्ड एल्बाट्रस, द एलिमेन्ट्स र कबवेभले एउटै स्टेजबाट अष्ट्रेलियामा सांगीतिक प्रस्तुति दिने भएका छन् । मे १६ देखि अष्ट्रेलियाको क्यानबेरामा आयोजना हुने हिमालय फेस्टमा उनीहरु एकैसाथ गुञ्जिन लागेका हुन् ।
एमआईएमपी अष्ट्रेलियाले यी तीनै रक–मेटल ब्याण्डलाई एउटै स्टेजमा उभ्याउन लागेको हो । क्यानबेराको द बासोमा १६ मेदेखि सुरु हुने यो अष्ट्रेलिया टुर २० मेमा सिड्नीको राउण्ड हाउस, २२ मेमा मेलबर्नको ट्रयाक लाउन्ज, २५ मेमा एडिलेडको लायन्स आर्ट फ्याक्ट्री र २७ मेमा ब्रिस्बेनको द टिभोलीमा कन्सर्ट हुनेछन् ।
सम्भवतः पहिलोपटक विदेश टुरमा यी चर्चित नेपाली रक ब्याण्ड सँगै गुञ्जिन लागेका हुन् । आयोजकका अनुसार एल्बाट्रसले आफ्ना चर्चित पाँच गीत बचाऊ मलाई, अभिमान, निश्चल, खसेका तारा र तिमी भने गाउनेछ ।
कबवेभले नमस्ते, मेरो लागि, मार्यो नि मार्यो, तिम्रो माया र मर्सिडिज बेञ्जजस्ता हिट गीत प्रस्तुति दिने जनाइएको छ । द एलिमेन्ट्सले पनि आफ्ना हिट गीत प्रस्तुत गर्ने आयोजकले उल्लेख गरेको छ ।
प्रतिक्रिया 4