
१३ वैशाख, नेपालगञ्ज । बाँकेका विभिन्न सामुदायिक वनमा लागेको डढेलोका कारण वनमा रहेका खरायो, सर्प र विभिन्न प्रजातिका चरा मरेको अवस्थामा फेला परेका छन् ।
राप्तीसोनारी गाउँपालिका–६ को सामुदायिक वनमा खरायो, सर्प र विभिन्न प्रजातिका चरा मरेको अवस्थामा फेला परेको शम्शेरगञ्ज सबडिभिजन कार्यालय, बाँकेका वन अधिकृत सुशील सुवेदीले जानकारी दिए । तर कति सङ्ख्यामा मरे भन्ने विषयमा विवरण सङ्कलन भइरहेको उनको भनाइ छ ।
उनले डढेलोबाट हरिण र बँदेलजस्ता जनावर विस्थापित भएको पाइएको बताए । जिल्लाको २५ वटा सामुदायिक वनमा लागेको डढेलोका कारण मानवीय क्षति नभए पनि जीवजन्तु केही मरेको र सङ्कटमा रहेको छ ।
जिल्लाको राप्तीसोनारी गाउँपालिकाको वडा नं २, ८, ५ र ६ का समुदायिक वन डुडूवा गाउँपालिका–५ स्थित गोकुल सामुदायिक वन, वैजनाथ गाउँपालिका–२ को सुनगाभा सामुदायिक वन र कोहलपुर नगरपालिकाको सामुदायिक वनमा डढेलो लागेको थियो ।
जिल्लाको २५ वटा सामुदायिक वनको दुई सय ५० हेक्टर क्षेत्रफल र चक्ला वनको पाँच सय हेक्टरमा डढेलो लागेको थियो ।
‘हामीलाई दिउँसो डढेलो निभाउन सहज छैन, त्यसैले राति परेपछि धेरै सामुदायिक वनमा काम गरेका थियौ’, उनले भने । गत वर्षभन्दा यस वर्ष धेरै सुक्खा भएकाले डढेलो झन् फैलिएको छ । वन अधिकृत सुवेदीले डढेलो अहिले नियन्त्रणमा आएको उल्लेख गर्दै फाटफुट केही स्थानमा डढेलो रहेको बताए ।
डढेलो लागेको वनमा सात सय लिटर ट्याङ्की भएको पाइपसहितको गाडीमार्फत पनि अग्नि नियन्त्रणमा लिइएको जानकारी दिँदै उनले अग्नि हेरालु आठजना परिचालन भएको उल्लेख गरे । ‘फायरलाइन निर्माण गर्ने र त्यसलाई सफा गर्ने, समुदाय रूपमा जनचेतना फैलाउने र समुदायलाई नै परिचालन गर्ने काम गरिरहेका छौं’, उनले भने ।
बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत मनोजकुमार शाहले गाउँघरबाट भएको बदमासीका कारण निकुञ्जमा डढेलो लागेको उल्लेख गर्दै डढेलोका कारण विभिन्न प्रजातिका चरा र केही प्रजातिका बच्चा र अण्डा नष्ट भएको जानकारी दिए ।
‘बासस्थान नष्ट भएको छ, त्यसैले केही जनावर विस्थापित पनि भएका छन्’, उनले भने । संरक्षण अधिकृत शाहले डढेलो नियन्त्रणमा आएको उल्लेख गर्दै पहिले केही दिनअघि अहिले डढेलो कम हुँदै गएको बताए ।
प्रतिक्रिया 4