
१३ वैशाख, काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोली आगलागी प्रभावित महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवा गाउँमा पुगेको छ ।
प्राधिकरणका सहसचिव गोगनबहादुर हमाल नेतृत्वको टोली आगलागीबाट नष्ट भएका संरचनाका बारेमा वास्तविक अवस्था पहिचान गर्न तथा राहत एवं पुनर्स्थापनाका लागि सम्बन्धित निकायहरूसँग समन्वय र सहजीकरण गर्न गएको हो ।
टोलीमा सहसचिव हमालसँगै गृह मन्त्रालयका उपसचिव रमा आचार्य, प्राधिकरणका उपसचिव डा. डिजन भट्टराई र प्राधिकरणकै उपसचिव एवं डढेलो विज्ञ सुन्दर शर्मा छन् ।
टोलीले क्षतिको पहिचानका साथै पीडितहरूलाई राहत तथा पुनर्स्थापनाका लागि संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय तहसँग आवश्यक समन्वय गरी आगामी दिनमा गर्नुपर्ने कार्यका बारेमा सुझाव दिने प्राधिकरणका उपसचिव गोमादेवी चेम्जोङले जानकारी दिइन् । साथै जिल्ला विपद् व्यवस्थापन समितिलाई आवश्यक सहयोग तथा सहजीकरण पनि गर्ने कार्यादेश दिइएको छ ।
जरलहवा टोलमा बुधबार दिउँसो आगलागी हुँदा ९१ वटा कच्ची र ९ वटा अर्धपक्की गरी जम्मा १०० वटा घर जलेको प्राधिकरणको तथ्यांक छ । सो आगलागीबाट ४५५ व्यक्ति प्रभावित भएका छन् ।
प्रभावित व्यक्तिलाई स्थानीय तह, स्थानीय प्रशासन र विभिन्न संघसंस्थाबाट खाद्यान्न एवं आपतकालीन राहत सामग्री उपलब्ध गराइएको प्राधिकरणले जनाएको छ ।
प्रतिक्रिया 4