१३ वैशाख, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा हुने एन्फा अन्तरकलेज फुटसल च्याम्पियनसिपमा १६ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
यसअघि एन्फाले २४ टोली सहभागी हुने जनाए पनि १६ टोलीको मात्र टिम दर्ता भएको एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए ।
प्रतियोगिता वैशाख २२ देखि जेठ ५ गतेसम्म लगनखेलस्थित नेपाली सेनाको शारीरिक प्रशिक्षण केन्द्रको कभर्ड हलमा हुनेछ ।
प्रतियोगिता ड्र बिहीबार एन्फा कम्प्लेक्सका गरिएको छ । जसमा सहभागी १६ टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।
समूह ए मा इनफरमेटिक्स कलेज, एआईटीएम कलेज, आईआईएमएस कलेज र सफ्टवरिका कलेज छन् । समूह बी मा कलेज अफ बायोमेडिकल, टेकस्पायर कलेज, विनायकसिद्ध कलेज र एपेक्स कलेज छन् ।
यस्तै समूह सी मा ब्राइट भिजन कलेज, इनसाइट भिजन, किंग्स कलेज र ट्रिनिटी कलेज तथा समूह डी मा थेम्स इन्टरनेशनल कलेज, डीएभी, काठमाडौं इन्जिनियरिङ कलेज र हिमालयन ह्वाइट हाउस कलेज छन् ।
लिग कम नकआउट शैलीमा प्रतियोगिता हुनेछ ।
प्रतियोगिताको विजेताले नगद ५ लाख तथा उपविजेताले ३ लाख प्राप्त गर्नेछन् । यसैगरी मोस्ट भ्यालुयबल प्लेयरले ५० हजार तथा सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरले समान २५ हजार प्राप्त गर्नेछन् ।
प्रतियोगिताको कुल बजेट ३० लाख रहेको छ ।
प्रतिक्रिया 4