
१४ वैशाख, काठमाडौं । चौधरी ग्रुपले उत्पादन गरेको वाईवाई चाउचाउको गुणस्तर फेल भएको भेटिएको छ । काठमाडौं महानगरपालिकाको बजार अनुमगन समितिले गरेको अनुगमन पछिको परीक्षणबाट वाईवाईमा गुणस्तर नभएको पुष्टि भएको महानगरले जनाएको छ ।
महानगरको अनुगमन निरीक्षक डा.अवधेश झाका अनुसार चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना तिराउँदै गुणस्तरहीन चाउचाउ सबै फिर्ता गर्न निर्देशनसमेत दिइएको छ । ‘बजारभरी रहेको उक्त लटका सबै चाउचाउ फिर्ता ल्याउन हामीले निर्देशन समेत दिइसकेका छौं । उक्त लटको चाउचाउमा एसिड भ्यालु अस्वाभाविक देखिएकाले यस्तो निर्देशन दिएका हौं,’ डा. झाले भने । चाउचाउ पकाउन प्रयोग गरिने तेल बारम्बार प्रयोग भएर गुणस्तरहीन देखिएको उनले बताए ।
चाउचाउमा पनि अस्वाभाविक ढुसी देखिएपछि एक उपभोक्ताले महानगरमा उजुरी गरेका थिए । उक्त उजुरीपछि महानगरको अनुगमन टोलीले उक्त लटका केही चाउचाउका प्याकेट बजारबाट ल्याएर जेस्ट ल्याब्रोटरीमा परीक्षणको लागि पठाएको थियो । ‘परीक्षणमा चाउचाउमा हुनुपर्ने एसिड भ्यालु नभएको देखिएको थियो । सोही आधारमा हामीले कारबाही सुरु गरेका हौं । अन्य लटको चाउचाउमा पनि अब अनुगमन हुन्छ,’ झाले अनलाइनखबरसँग भने ।

कसरी गरियो अनुगमन ?
महानगरपालिकाको वडा नम्बर ६, सरस्वतीनगरको किराना पसलबाट वैशाख २ गते चाउचाउ जफत गरिएको थियो । २०८० सालको चैत महिनामा उत्पादित ६० ग्राम तौल भएका, अधिकतम बिक्री मूल्य २० रुपैयाँ पर्ने व्याच नं. एएल/वाईएल२३ का चाउचाउ जफत गरेपछि, १५० ग्राम नमूना चाउचाउ परीक्षणका लागि प्रयोगशालामा पठाइएको थियो । यसरी पठाइएको नमूनामा कम्पनी र उत्पादनको विवरण गोप्य राखिएको थियो । वैशाख ७ गते प्रयोगशालामा दिइएको नमूनाको रिपोर्ट ११ गते प्राप्त भएको थियो ।
प्रयोगशालाको रिपोर्ट आउनुअघि स्थलगत अवस्थाको प्रतिवेदन दिँदै खाद्य प्राविधिक अनिल बस्नेत र अशोक पराजुलीले, न्युन गुणस्तरको तेल प्रयोग गरेर चाउचाउ फ्राई गरिएको हुन सक्ने, कच्चा पदार्थ न्युन गुणस्तरको हुन सक्ने प्रतिवेदन दिएका थिए । नमूनाको प्रयोगशाला परीक्षणबाट आएको प्रतिवेदनले गुणस्तरको विवरण लेख्दै भनेको छ, ‘खैरो रङ्गको चाउचाउमा गाढा खैरो र काला धब्बा थिए ।’
रिपोर्टअनुसार चाउचाउमा एसिड भ्यालु १३.९३४ एमजीकिलो/ग्राम देखिएको छ । यसको भ्यालु १ एमजीकिलो/ग्राम भन्दा बढी हुनु हुँदैन । खाद्य प्राविधिक बस्नेतकाअनुसार यसो हुनु भनेको तेलको गुणस्तर नभएको भन्ने बुझिन्छ ।



प्रतिक्रिया 4