+
+

‘परिवारले बुझ्न नमानेका शवबारे राज्यबाटै निर्णय हुनुपर्छ’

मेडिकल साइन्सले प्राविधिक कुरा हेर्ने हो, यस्ता अलपत्र शवहरूमा राजनीतिक, सामाजिक, न्यायिक कुरा पनि जोडिएका हुन्छन् । त्यसैले पहिचान खुलेको तर परिवारले बुझ्न नमानेर अलपत्र शवहरूको हकमा राज्यस्तरबाट नै निर्णय हुनुपर्छ ।

डा. गोपाल चौधरी, फरेन्सिक विज्ञ डा. गोपाल चौधरी, फरेन्सिक विज्ञ
२०८१ वैशाख १४ गते ११:१४

‘फरेन्सिक’ विज्ञान अनुसार, कुनै पनि शरीरलाई लामो समयसम्म राख्नुपर्‍यो भने रेफ्रिजेरेटरको सहयोग लिने गरिन्छ । शवलाई चिसो बनाएर नकुहिने गरी राख्ने हो । यद्यपि, चिसो बनाउने प्रविधि देशभरि उस्तै क्षमताको नहुँदा त्रिवि शिक्षण अस्पतालमा शवहरूको चाप हुने गर्छ ।

चिसो बनाएर नराखेको अवस्थामा २४ घण्टाभित्र शरीर गल्ने प्रक्रियामा जान्छ । शरीर गल्ने प्रक्रियामा गइसकेपछि सबुत प्रमाण नष्ट हुने सम्भावना बढ्दै जान्छ । सबुत प्रमाण नष्ट नहोस् भन्ने हिसाबले नै रेफ्रिजेरेटरमा शवलाई राखिने हो ।

तर, यसले पनि सधैंभरि मृत शरीरलाई संरक्षण गरेर राख्न सक्दैन । रेफ्रिजेरेटरभित्र चिसो र ड्राई वातावरण हुन्छ, त्यस्तोमा शरीरले विस्तारै तरल पदार्थहरू लुज गर्दै जान्छ । लामो समयसम्म राखिरहँदा हड्डी र छाला मात्र बाँकी रहन्छ । त्यसपछि पनि फ्रिजमै राखिरहने हो भने कक्रक्क हुने अवस्थामा पुग्छ ।

नेपालमा कहिले बत्ती जाने, कहिले आउने हुन्छ । एक घण्टासम्म बत्ती गएको खण्डमा त रेफ्रिजेरेटरले चिसो धानिरहेको हुन्छ । तर, त्योभन्दा धेरै बत्ती गयो भने पेटमै भएको ब्याक्टेरिया मल्टिप्लाई हुन थाल्छ । त्यो भयो भने मृत शरीर फेरि कुहिन थाल्छ । एकपटक कुहिने प्रक्रियामा गयो भने त्यसलाई फ्रिजले पनि रोक्न सक्दैन । यस्तो अवस्थामा फ्रिजमा राख्दाराख्दै पनि शरीर कुहिएर अस्थिपञ्जर मात्रै बाँकी हुनसक्छ ।

अहिलेको हाम्रो उपलब्ध प्रविधि अनुसार पोस्टमार्टम गर्दा सबुत प्रमाण नाश नहोस् भनेर अधिकतम तीन महिनासम्म राख्छौं । त्यसपछिको खण्डमा पोस्टमार्टम नगरी राखेर पछि पोस्टमार्टम गर्न निकाल्यो भने चिसोका कारणले नै पनि अल्टरेसन हुनसक्छ । त्यसैले पोस्टमार्टम चाहिं तत्कालै गर्नुपर्छ ।

पोस्टमार्टम गरिसकेको शरीरको हकमा यत्ति नै राख्नुपर्छ भनेर कानुनले उल्लेख गरेको छैन । तर, पहिचान नखुलेसम्म राख्नुपर्ने भन्ने छ । यद्यपि, फ्रिजको क्षमता पनि धेरै छ । अधिकतम डेढ सय जति शव मात्र त्रिवि शिक्षण अस्पतालमा भण्डारण गर्न सकिने क्षमता छ ।

वर्षेनि धेरै शवहरू आइरहेका हुन्छन्, त्यस्तोमा फ्रिज भरिन थालेपछि जहाँबाट प्रहरीले ल्याएको छ, उनीहरूलाई खबर पनि गरिरहेका हुन्छौं । फ्रिजमा पर्याप्त स्थान भएन, डिस्पोज गर्नुपर्‍यो भनेर प्रहरीलाई खबर गरेपछि प्रहरीले एकपटक फेरि पहल गर्छ ।

फेरि लामो समयदेखि अलपत्र भएको शवको सन्दर्भ र बेवारिसे शव फरक कुरा हुन् । पहिचान खुलेको तर परिवारले बुझ्न नमानेर अलपत्र भएका शवहरूको हकमा अस्पतालभन्दा पनि राज्यस्तरबाट नै निर्णय हुनुपर्छ

डिस्पोज हुनुअघि शरीरको पोस्टमार्टम गरेर पहिचान खुल्ने प्रमाण राखेर डीएनए स्याम्पलका लागि एउटा दाँत पनि संरक्षण गरेर राख्छौं । त्यसपछि प्रहरीको स्वीकृति अनुसार त्यसलाई व्यवस्थापन गर्ने प्रक्रियातिर जान्छौं । पहिले भन्दा अहिले बेवारिसे शव आउने क्रम त घटेको छ तर, यो त पहिचान नै नखुलेको शवको कुरा भयो । कतिपय अवस्थामा पहिचान खुलेका शवहरू पनि लामो समयदेखि फ्रिजमा अलपत्र परेका छन् ।

तपाईंले उल्लेख गर्नुभएको नन्दप्रसाद अधिकारीको शव पनि लामो समयदेखि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । शवलाई बोरामा राखेर फ्रिजमा त्यत्तिकै राखेका छौं । त्यसलाई के गर्नुपर्छ भन्नेबारे राज्यले पनि केही भनेको छैन । त्यसैले पहिलेदेखि जस्तो छ, त्यस्तै अवस्थामा छाडेका छौं ।

शरीर ब्यागभित्र राखेर फ्रिजमा राखेका छौं । कोही बीचमा हेर्न आएको अहिलेसम्म मलाई जानकारी छैन । तर, वर्षमा कम्तीमा एकपटक राष्ट्रिय मानवअधिकार आयोगको टोली आइरहेको मलाई थाहा छ । शरीरको अवस्था के छ भनेर उहाँहरू हेर्न आउने गर्नुभएको छ ।

पछिल्लो पटक त मैले पनि हेरेको छैन । कि त पोस्टमार्टम गर्नुपर्‍यो भनेर पत्र आएको हुनुपर्‍यो र खोलिन्छ । नभए, खोल्ने बेलामा फेरि शरीर थप बिग्रिनसक्छ भनेर खोलिन्नँ । नन्दप्रसाद अधिकारीको हकमा पोस्टमार्टम गर्ने वा अरू केही भन्ने केही आएको थिएन ।

वीर अस्पतालमा मृत्यु भइसकेपछि इन्ट्री गरेर के गर्ने भन्ने पर्खाइमा छ । अरू कतिपय फौजदारी कसुर आकर्षित हुने किसिमका घटनाका शव पनि परिवारले नबुझ्दा कहिलेकाहीं लामो समयसम्म रहने गर्छ । फ्रिजको काम नै खास शरीरलाई कुहिन नदिने हो ।

तर, पोस्टमार्टम भनेको जतिसक्दो चाँडो गर्दा राम्रो हुन्छ । त्यसैले शंकास्पद किसिमका घटनामा पहिले पोस्टमार्टम गर्नुपर्छ । कतिपय अवस्थामा पोस्टमार्टमपछि पनि आफन्तले लगिरहनुभएको हुँदैन । त्यस्तो घटनामा उहाँहरूको कुनै पक्षसँग असन्तुष्टि वा अरू कुनै कारण हुनसक्छन् । परिवारले मृत शरीर लैजाँदैनौं भन्दा हामीले जबर्जस्ती गर्न पनि मिल्दैन ।

कानुनी रूपमा पोस्टमार्टम भइसकेपछि सद्गत गर्नुपर्ने भनिएको छ । हामीले त्यही अनुसार, परिवारलाई सद्गत गर्न लैजानुस् पनि भन्छौं । उहाँहरूले लैजानै मान्नुभएन भने मानव शरीर हो, यत्तिकै बेवारिसे अवस्थामा छाड्ने कुरा भएन । त्यही भएर यस्तोमा हाम्रो डिपार्टमेन्टको तहबाट के गर्न सकिन्छ भन्दा सुरक्षित साथ राखिदिने हो । त्यो फ्रिजमा लगेर राख्छौं ।

यस्तो प्रकृतिको घटनामा प्रहरीसँग समन्वय गरेरै हामीले काम गरिरहेका हुन्छौं । प्रहरीको छुट्टै टोली पनि अस्पतालमा हुन्छ । बेवारिसे शवको हकमा राज्यले पनि सद्गत गर्छ । सामान्यतः तीन महिनाभित्रमा बेवारिसे शवको हकमा सद्गत गर्छौं । बेवारिसे भनिसकेपछि केही दिन त्यत्तिकै ताजा शरीर राख्छौं । दुई हप्तासम्म पनि केही पत्ता लागेन भने पोस्टमार्टम गर्न प्रहरीलाई अनुरोध गर्छौं ।

प्रहरीले गर्नु भनेर आधिकारिक पत्र पठायो भने जाँच गरेर राख्छौं । त्यसको तीन महिनासम्म पनि खुलेन भने फ्रिज भरिइसकेको हुन्छ । त्यस्तोमा कतिपय अवस्थामा मेडिकल कलेजले अध्ययन अध्यापनका लागि मृत शरीर चाहियो भनेर माग गरेको अवस्थामा कानुनी रूपमा पनि अध्ययन प्रयोजनका लागि प्रयोग गर्न दिन्छौं । कतिपयले जीवित छँदै पनि अध्ययनका लागि भनेर स्वेच्छाले दान गरेका पनि हुन्छन् । एनाटोमी विभागले त्यस्ता शवहरूलाई अध्ययन अध्यापनमा प्रयोग गर्छ ।

देशभरिका बेवारिसे शव आउँदा त्रिवि शिक्षण अस्पतालमा चाप हुन्छ । सरकारले प्रादेशिक अस्पतालमा शव गृह पनि निर्माण गरेर भण्डारणका लागि राख्नु भनेको छ । पछिल्लो समय प्रायः जिल्ला अस्पतालमा शव राख्नलाई फ्रिज राखिएका छन् । यद्यपि, पर्याप्त छैनन् । कतिपय अवस्थामा शव सुरक्षित साथ राख्न भनिए पनि जिल्लामा त्यो सुविधा पुर्‍याउन सकिएको छैन ।

कतिपय हत्याका घटना, कतिपय जिल्लामा पोस्टमार्टम नहुने, फ्रिज नहुने अवस्थामा अन्य जिल्लाबाट पनि शव त्रिवि शिक्षण अस्पतालसम्म आउँछन् । मुख्यतः काठमाडौं, भक्तपुर, ललितपुर, धादिङबाट शव आउँछन् । भक्तपुर र ललितपुरमा पनि भण्डारण गर्नलाई कम भएकाले त्रिवि शिक्षण अस्पतालमा शवको चाप हुने गर्छ ।

फेरि लामो समयदेखि अलपत्र भएको शवको सन्दर्भ र बेवारिसे शव फरक कुरा हुन् । पहिचान खुलेको तर परिवारले बुझ्न नमानेर अलपत्र भएका शवहरूको हकमा अस्पतालभन्दा पनि राज्यस्तरबाट नै निर्णय हुनुपर्छ । मेडिकल साइन्सले प्राविधिक कुरा हेर्ने हो, यस्ता अलपत्र शवहरूमा राजनीतिक, सामाजिक, न्यायिक कुरा पनि जोडिएका हुन्छन् । त्यसैले यो माथिल्लो तहबाट छिनोफानो हुनुपर्ने विषय हो ।

(त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जका फरेन्सिक मेडिसिन विभागका प्रमुख डा. गोपाल चौधरीसँग अनलाइनखबरकर्मी गौरव पोखरेलले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?