
‘फरेन्सिक’ विज्ञान अनुसार, कुनै पनि शरीरलाई लामो समयसम्म राख्नुपर्यो भने रेफ्रिजेरेटरको सहयोग लिने गरिन्छ । शवलाई चिसो बनाएर नकुहिने गरी राख्ने हो । यद्यपि, चिसो बनाउने प्रविधि देशभरि उस्तै क्षमताको नहुँदा त्रिवि शिक्षण अस्पतालमा शवहरूको चाप हुने गर्छ ।
चिसो बनाएर नराखेको अवस्थामा २४ घण्टाभित्र शरीर गल्ने प्रक्रियामा जान्छ । शरीर गल्ने प्रक्रियामा गइसकेपछि सबुत प्रमाण नष्ट हुने सम्भावना बढ्दै जान्छ । सबुत प्रमाण नष्ट नहोस् भन्ने हिसाबले नै रेफ्रिजेरेटरमा शवलाई राखिने हो ।
तर, यसले पनि सधैंभरि मृत शरीरलाई संरक्षण गरेर राख्न सक्दैन । रेफ्रिजेरेटरभित्र चिसो र ड्राई वातावरण हुन्छ, त्यस्तोमा शरीरले विस्तारै तरल पदार्थहरू लुज गर्दै जान्छ । लामो समयसम्म राखिरहँदा हड्डी र छाला मात्र बाँकी रहन्छ । त्यसपछि पनि फ्रिजमै राखिरहने हो भने कक्रक्क हुने अवस्थामा पुग्छ ।
नेपालमा कहिले बत्ती जाने, कहिले आउने हुन्छ । एक घण्टासम्म बत्ती गएको खण्डमा त रेफ्रिजेरेटरले चिसो धानिरहेको हुन्छ । तर, त्योभन्दा धेरै बत्ती गयो भने पेटमै भएको ब्याक्टेरिया मल्टिप्लाई हुन थाल्छ । त्यो भयो भने मृत शरीर फेरि कुहिन थाल्छ । एकपटक कुहिने प्रक्रियामा गयो भने त्यसलाई फ्रिजले पनि रोक्न सक्दैन । यस्तो अवस्थामा फ्रिजमा राख्दाराख्दै पनि शरीर कुहिएर अस्थिपञ्जर मात्रै बाँकी हुनसक्छ ।
अहिलेको हाम्रो उपलब्ध प्रविधि अनुसार पोस्टमार्टम गर्दा सबुत प्रमाण नाश नहोस् भनेर अधिकतम तीन महिनासम्म राख्छौं । त्यसपछिको खण्डमा पोस्टमार्टम नगरी राखेर पछि पोस्टमार्टम गर्न निकाल्यो भने चिसोका कारणले नै पनि अल्टरेसन हुनसक्छ । त्यसैले पोस्टमार्टम चाहिं तत्कालै गर्नुपर्छ ।
पोस्टमार्टम गरिसकेको शरीरको हकमा यत्ति नै राख्नुपर्छ भनेर कानुनले उल्लेख गरेको छैन । तर, पहिचान नखुलेसम्म राख्नुपर्ने भन्ने छ । यद्यपि, फ्रिजको क्षमता पनि धेरै छ । अधिकतम डेढ सय जति शव मात्र त्रिवि शिक्षण अस्पतालमा भण्डारण गर्न सकिने क्षमता छ ।
वर्षेनि धेरै शवहरू आइरहेका हुन्छन्, त्यस्तोमा फ्रिज भरिन थालेपछि जहाँबाट प्रहरीले ल्याएको छ, उनीहरूलाई खबर पनि गरिरहेका हुन्छौं । फ्रिजमा पर्याप्त स्थान भएन, डिस्पोज गर्नुपर्यो भनेर प्रहरीलाई खबर गरेपछि प्रहरीले एकपटक फेरि पहल गर्छ ।
डिस्पोज हुनुअघि शरीरको पोस्टमार्टम गरेर पहिचान खुल्ने प्रमाण राखेर डीएनए स्याम्पलका लागि एउटा दाँत पनि संरक्षण गरेर राख्छौं । त्यसपछि प्रहरीको स्वीकृति अनुसार त्यसलाई व्यवस्थापन गर्ने प्रक्रियातिर जान्छौं । पहिले भन्दा अहिले बेवारिसे शव आउने क्रम त घटेको छ तर, यो त पहिचान नै नखुलेको शवको कुरा भयो । कतिपय अवस्थामा पहिचान खुलेका शवहरू पनि लामो समयदेखि फ्रिजमा अलपत्र परेका छन् ।
तपाईंले उल्लेख गर्नुभएको नन्दप्रसाद अधिकारीको शव पनि लामो समयदेखि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । शवलाई बोरामा राखेर फ्रिजमा त्यत्तिकै राखेका छौं । त्यसलाई के गर्नुपर्छ भन्नेबारे राज्यले पनि केही भनेको छैन । त्यसैले पहिलेदेखि जस्तो छ, त्यस्तै अवस्थामा छाडेका छौं ।
शरीर ब्यागभित्र राखेर फ्रिजमा राखेका छौं । कोही बीचमा हेर्न आएको अहिलेसम्म मलाई जानकारी छैन । तर, वर्षमा कम्तीमा एकपटक राष्ट्रिय मानवअधिकार आयोगको टोली आइरहेको मलाई थाहा छ । शरीरको अवस्था के छ भनेर उहाँहरू हेर्न आउने गर्नुभएको छ ।
पछिल्लो पटक त मैले पनि हेरेको छैन । कि त पोस्टमार्टम गर्नुपर्यो भनेर पत्र आएको हुनुपर्यो र खोलिन्छ । नभए, खोल्ने बेलामा फेरि शरीर थप बिग्रिनसक्छ भनेर खोलिन्नँ । नन्दप्रसाद अधिकारीको हकमा पोस्टमार्टम गर्ने वा अरू केही भन्ने केही आएको थिएन ।
वीर अस्पतालमा मृत्यु भइसकेपछि इन्ट्री गरेर के गर्ने भन्ने पर्खाइमा छ । अरू कतिपय फौजदारी कसुर आकर्षित हुने किसिमका घटनाका शव पनि परिवारले नबुझ्दा कहिलेकाहीं लामो समयसम्म रहने गर्छ । फ्रिजको काम नै खास शरीरलाई कुहिन नदिने हो ।
तर, पोस्टमार्टम भनेको जतिसक्दो चाँडो गर्दा राम्रो हुन्छ । त्यसैले शंकास्पद किसिमका घटनामा पहिले पोस्टमार्टम गर्नुपर्छ । कतिपय अवस्थामा पोस्टमार्टमपछि पनि आफन्तले लगिरहनुभएको हुँदैन । त्यस्तो घटनामा उहाँहरूको कुनै पक्षसँग असन्तुष्टि वा अरू कुनै कारण हुनसक्छन् । परिवारले मृत शरीर लैजाँदैनौं भन्दा हामीले जबर्जस्ती गर्न पनि मिल्दैन ।
कानुनी रूपमा पोस्टमार्टम भइसकेपछि सद्गत गर्नुपर्ने भनिएको छ । हामीले त्यही अनुसार, परिवारलाई सद्गत गर्न लैजानुस् पनि भन्छौं । उहाँहरूले लैजानै मान्नुभएन भने मानव शरीर हो, यत्तिकै बेवारिसे अवस्थामा छाड्ने कुरा भएन । त्यही भएर यस्तोमा हाम्रो डिपार्टमेन्टको तहबाट के गर्न सकिन्छ भन्दा सुरक्षित साथ राखिदिने हो । त्यो फ्रिजमा लगेर राख्छौं ।
यस्तो प्रकृतिको घटनामा प्रहरीसँग समन्वय गरेरै हामीले काम गरिरहेका हुन्छौं । प्रहरीको छुट्टै टोली पनि अस्पतालमा हुन्छ । बेवारिसे शवको हकमा राज्यले पनि सद्गत गर्छ । सामान्यतः तीन महिनाभित्रमा बेवारिसे शवको हकमा सद्गत गर्छौं । बेवारिसे भनिसकेपछि केही दिन त्यत्तिकै ताजा शरीर राख्छौं । दुई हप्तासम्म पनि केही पत्ता लागेन भने पोस्टमार्टम गर्न प्रहरीलाई अनुरोध गर्छौं ।
प्रहरीले गर्नु भनेर आधिकारिक पत्र पठायो भने जाँच गरेर राख्छौं । त्यसको तीन महिनासम्म पनि खुलेन भने फ्रिज भरिइसकेको हुन्छ । त्यस्तोमा कतिपय अवस्थामा मेडिकल कलेजले अध्ययन अध्यापनका लागि मृत शरीर चाहियो भनेर माग गरेको अवस्थामा कानुनी रूपमा पनि अध्ययन प्रयोजनका लागि प्रयोग गर्न दिन्छौं । कतिपयले जीवित छँदै पनि अध्ययनका लागि भनेर स्वेच्छाले दान गरेका पनि हुन्छन् । एनाटोमी विभागले त्यस्ता शवहरूलाई अध्ययन अध्यापनमा प्रयोग गर्छ ।
देशभरिका बेवारिसे शव आउँदा त्रिवि शिक्षण अस्पतालमा चाप हुन्छ । सरकारले प्रादेशिक अस्पतालमा शव गृह पनि निर्माण गरेर भण्डारणका लागि राख्नु भनेको छ । पछिल्लो समय प्रायः जिल्ला अस्पतालमा शव राख्नलाई फ्रिज राखिएका छन् । यद्यपि, पर्याप्त छैनन् । कतिपय अवस्थामा शव सुरक्षित साथ राख्न भनिए पनि जिल्लामा त्यो सुविधा पुर्याउन सकिएको छैन ।
कतिपय हत्याका घटना, कतिपय जिल्लामा पोस्टमार्टम नहुने, फ्रिज नहुने अवस्थामा अन्य जिल्लाबाट पनि शव त्रिवि शिक्षण अस्पतालसम्म आउँछन् । मुख्यतः काठमाडौं, भक्तपुर, ललितपुर, धादिङबाट शव आउँछन् । भक्तपुर र ललितपुरमा पनि भण्डारण गर्नलाई कम भएकाले त्रिवि शिक्षण अस्पतालमा शवको चाप हुने गर्छ ।
फेरि लामो समयदेखि अलपत्र भएको शवको सन्दर्भ र बेवारिसे शव फरक कुरा हुन् । पहिचान खुलेको तर परिवारले बुझ्न नमानेर अलपत्र भएका शवहरूको हकमा अस्पतालभन्दा पनि राज्यस्तरबाट नै निर्णय हुनुपर्छ । मेडिकल साइन्सले प्राविधिक कुरा हेर्ने हो, यस्ता अलपत्र शवहरूमा राजनीतिक, सामाजिक, न्यायिक कुरा पनि जोडिएका हुन्छन् । त्यसैले यो माथिल्लो तहबाट छिनोफानो हुनुपर्ने विषय हो ।
(त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जका फरेन्सिक मेडिसिन विभागका प्रमुख डा. गोपाल चौधरीसँग अनलाइनखबरकर्मी गौरव पोखरेलले गरेको कुराकानीमा आधारित ।)
प्रतिक्रिया 4