+
+

८८ किलोमा उम्किएका बडू : न्यूरोडको पसल बन्द गरेर चीनबाट ओसार्न थाले सुन

स्थलमार्ग प्रयोग गरेर सुन ल्याउने, छोराहरूको सहयोगमा भारतीयलाई बेच्ने

नारायण अधिकारी नारायण अधिकारी
२०८१ वैशाख १४ गते २०:०२

१४ वैशाख, काठमाडौं । डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाखभन्दा बढी नगदसहित प्रहरीले काठमाडौंबाट ७ जनालाई पक्राउ गरेको छ ।

असन क्षेत्रमा तस्करीको सुनको अवैध कारोबार भइरहेको सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार दिउँसो काठमाडौं–२४ असनस्थित एक घरमा छापा हानेको थियो । महाकाली नगरपालिका–३, दार्चुलाका ४७ वर्षीय गणेशदत्त बडू, बिर्तामोड–३, झापाका ३० वर्षीय दिनेश खरेल र तीन भारतीय नागरिक पक्राउ परे ।

सुन खरिद–बिक्री हुँदै गरेका बेला पक्राउ परेका उनीहरूको साथबाट १ किलो २२४ ग्राम सुन र १ करोड २६ लाख रुपैयाँ बरामद भयो । उनीहरूकै सूचनाका आधारमा प्रहरीले नजिकै रहेको अर्को घरमा पनि छापा मार्‍यो, जहाँ झापाका २२ वर्षीय भरतराज खरेल र दार्चुलाका २१ वर्षीय आयुष बडू पक्राउ परे ।

उनीहरूको साथबाट प्रहरीले ७६६.२५ ग्राम सुन र १७ लाख ६० हजार रुपैयाँ बरामद गरेको छ । दुवै ठाउँमा गरेर जम्मा १ किलो ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार रुपैयाँ बरामद भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सएसपी सोमन्द्र सिंह राठौरले जानकारी दिए ।

८८ किलो तस्करीमा छुटेका थिए बडू

अनुसन्धानका क्रममा पक्राउ परेकामध्ये गणेशदक्त बडू ७ वर्षअघि ८८ किलो सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेको छुटेको व्यक्ति भएको खुलेको छ ।

१९ भदौ २०७४ मा तत्कालीन काठमाडौं उपत्यका अपराध महाशाखाको टोलीले क्षेत्रपाटीबाट ८८ किलो सुन बरामद गरेको थियो । यतिधेरै सुन बरामद भएको त्यो पहिलो पटक थियो । । भीआईपी लेखिएको स्टिकर टाँसिएको बा १७ च ६४२७ नम्बरको गाडीबाट ८८ किलो सुन बरामद गरेको थियो ।

केरुङ नाकाबाट भित्रिएको सुनसँगै गाडी चालक मकवानपुरका गणेश अधिकारी पक्राउ परेका थिए । अनुसन्धानका क्रममा प्रहरीले ४ असाेज २०७४ मा बडूलाई पनि नियन्त्रणमा लियो । न्यूराेडमा कार्यविनायक सुनचाँदी गहना पसल सञ्चालन गरेर बसेका उनी तस्करी भएर आएकाे सुन किन्ने व्यक्ति भएकाे अभियाेगमा पक्राउ परेका थिए ।

तर सुनका मालिक भनिएका चिनियाँ दम्पती पान विई मिङ र उनकी पत्नी याङ वेन विङ भने पक्राउ परेनन् । ठमेलमा काठमाडौं वान होटल सञ्चालन गरेका बसेका उनीहरू पक्राउ नगरेपछि प्रहरीले पक्राउ परेका दुवैलाई राजश्व अनुसन्धान विभागमा बुझायो ।

बडू ५ लाख रुपैयाँ धरौटीमा छुटे । पछिल्लाे समय उनले सुन पसल बन्द गरेर आफ्नै याेजनामा सुन तस्करी गर्ने परेको पाइएको प्रहरीले जनाएको छ । ‘कहिले र कसरी छुटे भन्ने यकिन हुन बाँकी छ । तर छुटेपछि फेरि पुरानै कारोबारमा लागेको देखिन्छ’ चीनबाट स्थलमार्ग हुँदै सुन तस्करी गर्ने गरेको भन्दै एसएसपी राठौर भन्छन्, ‘बरामद भएको सुन उनकै योजनामा तस्करी भएको रहेछ ।’

शुक्रबार सुन तस्करीमा पक्राउ परेका बडूलगायतका सातजनालाई प्रहरीले सार्वजनिक गर्दै ।

उनले सुन तस्करी गर्न वीच्याटमार्फत चिनियाँ पक्षसँग कुराकानी गरेको विवरण समेत प्रहरीले फेला पारेको छ, जसले लामो समयदेखि तस्करी गरिरहेको संकेत गर्छ । ‘चिनियाँ र भारतीय पक्षसँग सुन खरिद बिक्रीबारे कुराकानी भएको प्रमाणहरू फेला परेका छन्’ एक अनुसन्धान अधिकृत भन्छन्, ‘निरन्तर कुराकानी गरेको देखिएकाले लामो समयदेखि तस्करी गरेको देखिन्छ ।’

कतिसम्म भने उनले आफ्नै छोरा र आफन्तलाई समेत सुन तस्करीमा लगाएको पाइएको छ ।

छोरा पनि तस्करीमा संलग्न

प्रहरीका अनुसार बिहीबार पक्राउ परेका २२ वर्षीय आयुष, गणेशको आफ्नै छोरा हुन् । झापाका दिनेश र भरतराज खरेल भने उनका सालीका छोराहरू हुन् ।

अनुसन्धान अधिकृतहरूका अनुसार अहिलेसम्म सुन ल्याउने काममा उनीहरू संलग्नता देखिएका छैन । तर तस्करी गरेर ल्याएको सुन बेच्न भने उनीहरू संलग्न रहेको पाइएको छ ।

प्रहरीले छापा मारेको दुई कोठामध्ये एउटा आयुष र अर्को भरतराजले भाडामा लिएको खुलेको छ । भाडामा लिएको कोठा तस्करीका सुन राख्नेदेखि कारोबार गर्नेसम्म गरेको पाइएको अनुसन्धानको लिड गरेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयकी डीएसपी सुरक्षा केसीले बताइन् ।

सुन किन्न पुगेका थिए भारतीय

पक्राउ परेका तीन भारतीय नागरिक महाराष्ट्रका ३७ वर्षीय अमोल विभुते, १८ वर्षीय ऋषिकेश प्रकाश विभुते, १८ वर्षकै गणेश सतीश बाल्टे भने तस्करीको सुन किन्नेहरू भएको पाइएको छ ।

कोटेश्वरमा भाडामा बस्दै आएका उनीहरू तस्करीमा ल्याएको सुन सस्तोमा दिने बताएपछि किन्न पुगेका थिए । प्रारम्भिक अनुसन्धानको क्रममा उक्त सुन काठमाडौंमा खरिद गरेर उनीहरूले भारत पुर्‍याएर बेच्ने गरेको खुलेको छ ।

‘पक्राउ परेका भारतीयलाई हामीले सोधपुछ गर्दा सुनको बजार भारत नै रहेको बताएका छन्’ अपराध अनुनन्धान कार्यालयका एसएसपी सोमन्द्र सिंह राठौरले भने ।

लेखकको बारेमा
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?