१४ वैशाख, काठमाडौं । अखिल नेपाल टेबल टेनिस संघको निर्वाचनका लागि अझै केही समय लाग्ने भएको छ ।
शुक्रबार राष्ट्रिय खेलकुद परिषद्मा बसेको बैठकले पनि चुनाव गराउने वातावरण निर्माण गर्न नसकेको राखेपका संघसंस्था समन्वय शाखा प्रमुख चन्द्र राईले बताए ।
‘यस तदर्थ समितिको म्याद ९ महिना लामो हुँदा पनि निर्वाचन गराउन नसकेपछि हामी अब अर्को तदर्थ समिति बनाउने तयारीमा छौं,’ उनले अनलाइनखबरसँग भने ।
यसअघि राखेपले वार्ताका लागि बोलाउँदा उपस्थित नभएका संयोजक चतुरानन्द वैद्य यस पटक भने उपस्थित थिए ।
राखेप, चतुरानन्द वैद्य, सुदील शाही र वीजेन्द्र हमाल पक्षसहित बसेको बैठक पुनः आइतबार बस्ने गरी स्थगित भएको छ । बैठकमा तदर्थ समितिका सहसंयोजक रहेका वीजेन्द्र हमाल भने बीच बैठकबाटै उपस्थितिमा समेत हस्ताक्षर नगरी बाहिरिएका थिए ।
शुक्रबार बसेको बैठकमा तदर्थ समितिका संयोजक चतुरानन्द वैद्य र वरिष्ठ सहसंयोजक सुदील शाही नयाँ तदर्थ समिति बनाएर चुनावी प्रक्रिया अगाडि बढाउनुपर्छ भन्ने पक्षमा थिए ।
वीजेन्द्र हमालले पुरानै तदर्थ समितिलाई निरन्तरता दिनुपर्छ भन्ने मत राखेका थिए । कुरा नमिलेपछि उनी बैठक छोडेर हिंडेको स्रोतले बतायो ।
प्रतिक्रिया 4