+
+
प्रसंगवश :

खगेन्द्रप्रसाद-रुद्रकली अस्वीकार गर

चिरञ्जीवी मास्के चिरञ्जीवी मास्के
२०८१ वैशाख १५ गते ६:४५

रत्नपार्कको आकाशे पुलमा ढेसिएर ज्याकाराण्डा फूलको वैजयन्ती रङमा टोलाइरहँदा क्षितिजपारि कता हो कता बादलुको टुक्राहरू छल्दै एउटा बडेमाको हवाईजहाज पश्चिमतिर हुँइकिएको देखियो ।

एकैछिन अघि सामाजिक सञ्जालको वालभरि एक जोडी हात्तीले देश छोड्न लागेको भिडियो सहितको मार्मिक पोष्ट र ती जोडी हात्तीको भावनात्मक गतिविधिले विभोर बनेको मनलाई थप पीडा बनायो पश्चिमतिर हुँइकिएको हवाईजहाजको गतिले । पापी मन, त्यही हवाईजहाजले मेरो देशका दुई अबोध हात्तीलाई कतार लग्यो भन्ने भ्रम पलायो ।

हामी मानिस भावनाको लेखाजोखा राख्छौं । आफ्ना कोही पीडामा पर्दा दुःखी बन्छांै, सफलतामा खुशी हुन्छौं । कहिले आफ्नालाई पीडा दिएर प्रफुल्लित हुन्छौं अनि कहिले आफन्तको पीडामा मर्माहत बन्छौं । तर हामी कमै मात्र हुन्छौं पशु–पक्षी वा अरू मानव बाहेकका जीवनसँग हरेक गतिविधिमा हातेमालो गर्ने ।

तर अहिले फरक अवस्था बनेको छ । कतारका राजा शेख तमिमलाई उपहारको रूपमा पठाउन लागिएको भनिएको जोडी हात्तीको मर्माहत गतिविधि र उनीहरूले आफ्नो भूमिप्रति देखाएको भावनाले ढुंगा सरी मनहरूलाई पनि सहजै पगालिदिएको छ । गाडीमा चढ्न लाग्दा हात्तीले भूमिलाई स्पर्श गरेको, आफूले टेकेको कुर्सीलाई माथि राखेको र भावशून्य मुद्रामा गाडीभित्र बसेको दृश्य यति पीडादायी छ कि ढुंगासरी मन पनि पञ्चाग्नि निकट परेको बरफ झैं चुर–चुर भएका छन् । हरेक कठोर मनहरू उद्वेलित बनेका छन् जोडी हात्तीको विवशतामा । आफ्नो बथान छोडेर सुटुक्क अर्को कुनै नौलो भूमिमा जानुपर्दा हात्तीको आर्तनाद हाउभाव हरेक मानिसको लागि स्पात पगाल्ने आगोका तेजिलो लप्का झैं भएको छ ।

सामाजिक सञ्जालमा छरिएको जोडी हात्तीको आर्तनाद हाउभाउ सहितको भिडियो दृश्यमा हरेक मानिसले मर्माहत कमेन्ट गरेका छन् । सामाजिक सञ्जालको पोष्ट र ती पोष्टहरूमा आएका कमेन्टले पशु विछोडको पीडाले देश नै रोएको आभास दिएको छ ।

पीडा नहोस् पनि कसरी, ती दुई अबोध हात्तीको पराया गन्तव्य यात्राको प्रस्थान गतिविधि हृदयमा परेको बज्रपातले रन्थनिएको जीवनको मधुरो धुकधुकी जस्तै देखिन्थ्यो । उनीहरू जोडी त थिए तर सामूहिक परिवारको बथानबाट बाध्यताले टाढिएको टुहुरो जोडी !

सामाजिक सञ्जालका प्रत्येक पोष्टले मलाई सौराहाको सयर गराइरहेको थियो । म सामाजिक सञ्जालमा जोडी हात्तीको भिडियो सहित आएका कमेन्ट पढेर त्यसैगरी भक्कानिएको थिएँ, जसरी २०७९ सालको असारमा सौराहाको कुनै ठाउँमा पीडादायी मृत्यु कुरिरहेको काजलकली हात्तीको कहानी पढ्दा भक्कानिएको थिएँ ।

काजलकली र जोडी हात्तीको कहानी उस्तै–उस्तै लाग्यो मलाई । काजलकलीले उमेर छँदासम्म मानिसलाई पिठ्युँमा बोकेर सौराहाको धेरै ठाउँको सयर गराउन भ्याइन् । जब बुढेसकालमा उनको शरीरले मानिसको बोझ बोक्न नसक्ने भयो उनलाई तिनै मानिसको अपहेलित भावनाले पीडादायी मृत्यु कुर्न बाध्य बनाएर छोडिदियो । अनि जोडी हात्तीलाई पनि यस्तै कुनै बहानामा तिनै मानिसहरूले नै आफ्नो परिवार, आफ्नो जन्मभूमि–मातृभूमिबाट धेरै टाढा अपरिचित, अन्जान भूमितिर धकेलिदिए ।

काजलकली र जोडी हात्ती दुवैको मनसाय थिएन आफ्नो परिवेश, आफ्नो भूमि छोडेर सधैं–सधैंको लागि विरानो संसारमा अलप हुने । तर विडम्बना यो चराचर जगतको असाध्य चतुर र स्वार्थी मानव जातिले उनीहरूको हृदय छाम्नै सकेनन् र उनीहरूलाई मायावी संसारबाट क्षितिज पारिको त्यही बादलुको टुक्राहरूसँग अलप गरिदिन खोजे ।

तर मलाई सामाजिक सञ्जालमा भाइरल भएको जोडी हात्तीको आर्तनाद गतिविधिले तर्साउन छोडेको छैन । ती जोडी हात्ती सौराहाको खगेन्द्रप्रसाद–रुद्रकली थिएनन् भने कहाँको के–के नामका हात्ती थिए होलान् ? उनीहरूलाई कुन भूमिबाट, कहाँ, के प्रयोजनको लागि लगिंदै थियो ? यी र यस्तै सवालहरूले म तर्सिरहेको छु ।

०००

एउटा वेगमा आकाशिएको हवाईजहाज पुच्छ«ेतारासँग साउती गर्दै ओझेल परिसकेको छ । विस्मित मेरा आँखाहरू जोडी हात्तीको पीडादायी विछोड यात्राको भावभङ्गी सम्झिएर रसाएका छन् । मनमनै म आक्रोशित छु कतारका राजालाई हात्ती उपहार टक्र्याउने निर्णयकर्ताको महानतासँग ।

रत्नपार्कको आकाशे पुलबाट गन्तव्य पहिल्याउन मेरा पाइलाहरू राजी छैनन् । त्यसैले मन मात्र हैन मस्तिष्कका भावनाहरू पनि निकै गह्रुँगो बनेका छन् । भावनाका द्वन्द्वहरूसँग आकाशे तरङ्गको प्रहार खेपिरहँदा झस्केलाबाट गफिंदै अघि बढेको एकहूल तन्नेरी मनहरूका खैलाबैलाले मलाई झस्काएको छ ।

उडन्ते समाचारले पनि आजित गरेको छ यार– एउटा तन्नेरीले सामाजिक सञ्जालको पोष्टप्रति तिखो प्रहार गरेका छन् ।

हो भन्या, कतिसाह्रो झुट लेख्न सकेका– सँगैकी युवतीले हो–मा–हो मिलाउँदै छिन् ।

म सचेत भएर उनीहरूको कुरा सुनिरहेको छु । उनीहरूले त्यही जोडी हात्तीको भिडियो पोष्ट र कमेन्टको बारेमा गन्थन गरिरहेका छन् भन्ने अनुमान लगाएँ । कतारका राजा शेखलाई नेपाल सरकारले हात्ती उपहार दिएको सत्य भए पनि सामाजिक सञ्जालमा चर्चा कमाएको भिडियो पोष्टको जस्तो अवस्थामा ती हात्तीहरूले सौराहा छोडिनसकेको विषयमा तन्नेरी मनहरू बीच बहस भइरहेको थियो ।

उनीहरूको बहस यात्रा सकिएलगत्तै मैले पनि सामाजिक सञ्जालमा जोडी हात्तीको थप खबरहरूको खोजी गरें । नभन्दै केही अनलाइनहरूले भिडियोमा देखिएका जोडी हात्ती कतारका राजा शेखलाई उपहार दिन तयार गरिएको सौराहाको खगेन्द्रप्रसाद–रुद्रकली नभएको स्पष्टीकरण छापेका रहेछन् । साइटिस महासन्धि सम्बन्धी प्रक्रिया बाँकी रहेकोले हात्ती कतार गइनसकेको र भिडियोमा देखिएको हात्ती अन्यत्रैको भएको खबरहरूमा उल्लेख थिए ।

मन हलुङ्गो भयो । खगेन्द्रप्रसाद–रुद्रकलीको कतार यात्रा रोकिएको खबर मेरो र आम नेपालीको लागि सुखद् थियो । किनभने त्यो जोडी हात्तीको मार्मिक भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि कसैले पनि खगेन्द्रप्रसाद–रुद्रकली कतार जाओस् भन्ने चाहेकै छैनन् । सामाजिक सञ्जालमा अर्को एउटा भाष्य भने भाइरल बनेको छ– नेपालको मानिस मात्र हैन जनावर र पशु–पक्षीहरू समेत विदेशिएर नेपाल चाँडै रित्तिंदैछ !

पाहुना भगवान् सरह हुन्छन् भन्ने मान्यता हाम्रो सांस्कृतिक पहिचान भित्रैको हो । विदेशी पाहुनाको सत्कार र उपहार दिने कुरा आफैंमा उच्च संस्कारी लाग्दछ । तर के उपहारको लागि पशु–पक्षी वा कुनै जनावरको छनोट उचित हो ? उपहार दिने यो तौरतरिका उचित हैन भन्दै आम नेपालीले सामाजिक सञ्जाल मार्फत आफ्ना मत अभिव्यक्त गरिसकेका छन् । यदि नेपाली राजनेताहरूको चेत खुल्छ भने खगेन्द्रप्रसाद–रुद्रकलीलाई कतार पठाउने निर्णयमा पुनर्विचार गरियोस् । उपहारको अरू कुनै उपयुक्त वस्तुको खोजी गरियोस् ।

नेपाली नागरिकको पीडा, तिरस्कार र छटपटीको अव्यक्त भावनाबाट त्यसै पनि नेपाली राजनीति अस्थिर र अधकल्चो बन्दै गएको छ । त्यसमाथि अबोध जङ्गली जनावरको आर्तनाद असहमतिको अपराध लाग्यो भने राजनीतिक शुद्धता असम्भव हुनेछ । सतीले सरापेको यो देश जनावरको आर्तनादले गुञ्जायमान हुनेछ ।

म त यही शाब्दिक भावनाको सन्देश कतारी राजा शेखसम्म पनि पु¥याउन चाहन्छु– महाराज तपाईं र तपाईंको देशको सहयोग नेपाल र नेपालीको लागि अविस्मरणीय र अनुकरणीय छ । तापनि तपाईंलाई नेपाली भूमिमा रमाएका खगेन्द्रप्रसाद–रुद्रकलीहरूको आर्तनादमा खुशी हुने छुट छैन । विन्ती छ भावशून्य जनावर उपहारको रूपमा स्वीकार गर्ने गल्ती नगर्नुहोला !

मेरो यो सन्देश कतारका राजा शेखसम्म पुग्ने र राजा शेखकै आग्रहमा खगेन्द्रप्रसाद–रुद्रकलीलाई कतार पठाउने निर्णयबाट सरकार पछि हट्ने विश्वास मेरो छ ।

तर मलाई सामाजिक सञ्जालमा भाइरल भएको जोडी हात्तीको आर्तनाद गतिविधिले तर्साउन छोडेको छैन । ती जोडी हात्ती सौराहाको खगेन्द्रप्रसाद–रुद्रकली थिएनन् भने कहाँको के–के नामका हात्ती थिए होलान् ? उनीहरूलाई कुन भूमिबाट, कहाँ, के प्रयोजनको लागि लगिंदै थियो ? यी र यस्तै सवालहरूले म तर्सिरहेको छु । उनीहरूको यात्रा कुशलता, गन्तव्य समय र काम तथा विश्रामको टाइम कार्ड अस्पष्ट भएकोले म र म जस्तै हजारौं मानिस भावनाको ऐंजेरु हुर्काएर तथ्य खबरको प्रतीक्षा गरिरहेका छन् ।

प्रविधिको यो युगमा जोडी हात्तीको तथ्य खोज्नु कठिन पक्कै छैन । म सरकारलाई आग्रह गर्न चाहन्छु कृपया सामाजिक सञ्जालमा भाइरल बनेको त्यो जोडी हात्तीको तथ्य खबर तत्कालै सार्वजनिक गर्ने तदारुकता देखाऊ । किनभने नेपाल भूमिले ओगटेको जमिनभित्र रहेका हरेक प्राकृतिक उत्पादनको संरक्षण गर्ने जिम्म्ेवारी तिमी सरकारकै हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?