
१४ वैशाख, काठमाडौं । शिक्षकलाई पेशामा टिकाइराख्न पेशागत सवालहरू सम्बोधन गरिनुपर्ने शिक्षकहरूले बताएका छन् ।
अन्तर्राष्ट्रिय शिक्षक महासंघका सदस्य, संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु), नेपाल राष्ट्रिय शिक्षक संगठन र नेपाल शिक्षक संघले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा शिक्षकहरूले यस्तो बताएका हुन् ।
नेपालमा शिक्षकलाई आवश्यक तालिम, शैक्षिक सामग्री र पारिश्रमिक सुनिश्चित नहुँदा पेशामा टिक्न मुस्किल परिरहेको उनीहरूले बताए ।
यी विषयमा माग गर्दासमेत सुनुवाइ नहुने अवस्था रहेको नेपाल शिक्षक संघका केन्द्रीय अध्यक्ष सोमनाथ गिरीले बताए । यस्तो अवस्थामा पनि शिक्षकहरू इमान्दार भएर काम गरिरहेको तर स्थानीय सरकारले शिक्षा र शिक्षकमाथि अनावश्यक हस्तक्षेप र प्रतिशोध साँध्ने काम गरिरहेको समेत उनले आरोप लगाए ।
इस्टुका अध्यक्ष होमकुमार थापाले निजी विद्यालयमा कार्यरत शिक्षकमाथि पेशागत ज्यादती भइरहेको बताए । उनले भने ‘निजी क्षेत्रका शिक्षकहरू माथि पेशागत ज्यादती भइरहेको छ । कम पारिश्रमिकमा काम धेरै गर्नुपर्ने अवस्था छ ।’
कार्यक्रममा सहभागी शिक्षकहरूले दिगो विकास लक्ष्य, २०३० प्राप्त गर्नका लागि शिक्षामा पर्याप्त लगानी, शिक्षक क्षमता वृद्धि बालमैत्री विद्यालय, आधुनिक प्रविधिको प्रयोग आदिमा ध्यान पुर्याउनुपर्ने बताएका थिए ।
प्रतिक्रिया 4