+
+

उपचुनावको नतिजाले दिने राजनीतिक सन्देश

सइन्द्र राई सुदीप श्रेष्ठ सइन्द्र राई, सुदीप श्रेष्ठ
२०८१ वैशाख १५ गते २१:०५

१५ वैशाख, काठमाडौं । आमचुनाव २०७९ पछि दोस्रोपटक भएको उपनिर्वाचनबाट आउने नतिजाको पर्खाइ सुरु भएको छ । अपरान्ह ५ बजेसम्म मतदान भएको इलाम–२ र बझाङ प्रदेशसभा निर्वाचन क्षेत्र १ मा मत गणनाको तयारी चलिरहेको छ ।

मतदान केन्द्रबाट मतपेटिका संकलन गर्न समय लाग्ने भएकाले बझाङमा आइतबार बिहान मात्रै गणना सुरु हुने निर्वाचन आयोगले जनाएको छ भने इलाममा सम्भव भएसम्म शनिबार राति गणना गर्ने तयारी छ ।

दलहरुको पूर्वतयारी र आमचासो हेर्दा बझाङको प्रदेशसभा सदस्य भन्दा इलामको प्रतिनिधिसभा सदस्यको उपचुनावमा चासो बढी देखिन्छ । यसको कारण भने उपचुनावबाट आउने संसदीय गणित भन्दा यसको राजनीतिक सन्देश ठूलो हुनु हो ।

इलामको उपचुनावपछि उम्मेदवारहरुले आफूले जित्ने दाबी गरेका छन् । नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदानपछि आफू उत्साहित बनेको बताएका छन् । ‘मतदाताहरु एकदमै उत्साहित भेटिए, म पनि अत्यन्तै उत्साहित छु’, नेम्वाङले भने, ‘उपचुनाव भएपनि विगतमा भन्दा धेरै मत खस्नु इलामका मतदाता आर्थिक समृद्धिको पक्षपाती हुन् भन्ने सन्देश हो, यो ।’

४ मंसिर २०७९ मा भएको आम निर्वाचनमा ५९.७८ प्रतिशत मत खसेको थियो । तर शनिबार भएको उपनिर्वाचनमा ६० प्रतिशत मतदान भएको निर्वाचन अधिकृतको कार्यालयको दाबी छ ।

नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले पनि सुहाङकै जस्तो प्रतिक्रिया दिए । कांग्रेस एकतावद्ध भएर आफ्नो पक्षमा मतदान गरेको र आफू उत्साहित रहेको उनले बताए ।

‘हिजोको चुनावमा जे भयो भयो, यो चुनावमा कांग्रेस एकढिक्का भयो । इलामको कांग्रेस मात्र होइन, देशभरको कांग्रेस एकढिक्का भए’, उनले भने ।

बलियो प्रतिस्पर्धी मानिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मिलन लिम्बुले मतदाताले कांग्रेस–एमालेको विकल्प खोजेको बताए । ‘हिजोको जस्तो विकल्परहित अवस्थाबाट यस उपचुनावमा आममतदाताले बलियो विकल्प पाएका छन् । मतदाताले राहतको स्वास फेरेका छन्’, लिम्बुले भने, ‘हामी पनि अत्यन्तै उत्साहित भएका छौं ।’

पहिचान पक्षधरको समर्थन पाएका स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले भने उपचुनावबाट आफ्नो एजेण्डा अनुमोदित भएको बताएका छन् ।

‘एक जना स्वतन्त्र उम्मेदवारको पक्षमा जनसागर उर्लेर मत हालेजस्तो लाग्छ । म त पात्र मात्र हुँ, जितहार त गणना भएपछि थाहा भइहाल्छ नि । तर जनताले पहिचानको मुद्दालाई अनुमोदन गरेको आभास भयो हामीलाई’, थेगिमले भने ।

कसले जिते, के सन्देश ?

इलाम–२ मा सम्पन्न उपचुनावमा राजनीतिक दल र स्वतन्त्र गरी १९ उम्मेदवारबीच प्रतिस्पर्धा भएको छ । मुख्यनिर्वाचन अधिकृत केवशप्रसाद घिमिरेका अनुसार, मतगणनाको नतिजा आउन केही दिन लाग्न सक्छ ।

अन्तिम नतिजा आएसँगै दलहरुको दाबीको समेत मूल्यांकन हुनेछ । किनकि यसपटकको उपचुनावलाई सत्ता र प्रतिपक्षको मध्यावधि परीक्षण मान्न सकिने अवस्था छैन । आमचुनावको डेढ वर्षभित्रै दोस्रोपटक सम्पन्न यो उपचुनावमा समीकरण फेर्दै सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रसँग आफ्नो उम्मेदवार छैन ।

भर्खरै सत्ता समीकरण फेरिएकाले कांग्रेस र एमालेलाई पनि सत्ताको कार्य सम्पादनसँग जोडेर विश्लेषण गर्न उपयुक्त देखिदैन ।

राजनीतिक विश्लेषक कृष्ण पोखरेल सत्ता र प्रतिपक्षको कार्य सम्पादन मूल्याकंन नभएर यो उपचुनावबाट दलहरुको मान्यता परीक्षण हुने बताउँछन् । ‘सत्ता उलटफेर र सत्तासँग जोडिएर उपचुनावको विश्लेषण नभए पनि दलहरुको दावी परीक्षण हुनेछ’, उनी भन्छन् ।

यो क्षेत्रको बलियो शक्ति एमाले भएकाले मुख्य परीक्षण पनि उसकै हुने विश्लेषक पोखरेल बताउँछन् । ‘आफ्नो गढ जोगाएर पार्टीले लिदै आएको मान्यताहरु कायम रहेको सन्देश दिन उपचुनावको नतिजाले तेजाबी परीक्षण गर्नेछ’, उनी भन्छन् ।

आम चुनावमा यस क्षेत्रबाट निर्वाचित एमालेका तत्कालिन उपाध्यक्ष सुवासचन्द्र नेम्वाङकै कान्छा छोरा सुहाङलाई उम्मेदवार बनाएर एमालेले पार्टीभित्र चल्दै आएको मृतक परिवारकै सदस्यलाई उम्मेदवार बनाउने संस्कृतिलाई यो उपचुनावमा पनि निरन्तरता दिएको छ । यस्तो संस्कृति एमालेमा निकै पुरानो हो ।

२०५० सालमा तत्कालीन महासचिव मदन भण्डारीको निधनपछि काठमाडौ–१ मा भएको उपचुनावमा भण्डारीकी पत्नी विद्या भण्डारी उम्मेदवार बनेकी थिइन् । विद्याले कांग्रेसका तत्कालीन सभापति कृष्णप्रसाद भट्टराईलाई पराजित गरिन् ।

यसपछि २०६४ सालको संविधानसभा निर्वाचनअघि नेता ऋषि शर्माको निधन भएपछि सुर्खेत–१ मा उनकै पत्नी कमला शर्मा उम्मेदवार बनेकी थिइन् । २०७४ को चुनावमा कास्की–३ बाट निर्वाचित रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि उपचुनावमा उम्मेदवार बनेकी उनकी पत्नी विद्या भट्टराई निर्वाचित भएकी थिइन् । २०७४ मा दाङ–३ (ख) को प्रदेशसभा चुनावमा निर्वाचित उत्तरकुमार वलीको सडक दुर्घटनामा निधन भएपछि उपचुनावमा उनकै पत्नी विमला वली निर्वाचित भएकी थिइन् ।

यसपटकको उपचुनावमा सुहाङले जितेमा एमालेको परम्परागत शैली अनुमोदित हुनेछ भने राष्ट्रिय राजनीतिमा लिएको एजेण्डालाई आधार मिल्नेछ । विशेषगरी पहिचानको राजनीतिमा एमाले फरक कित्ताको नेतृत्व गर्दै आएकाले पनि उपचुनावमा जित हासिल गरेमा उसको एजेण्डा अनुमोदित भएको रुपमा हेर्न सकिन्छ ।

देउमाई नगरपालिकास्थित देविस्थान आधारभूत विद्यालयमा मतदान गर्न जाँदै ज्येष्ठ नागरिक । तस्वीर : रासस

२०७९ मंसिरको आमचुनावमा सुवाससँग ११४ मतको झिनो अन्तरले पराजित कांग्रेसमा यो उपचुनावमा राष्ट्रिय राजनीति भन्दा बढी आन्तरिक शक्ति संघर्षको परीक्षण हुनेछ । ‘कांग्रेसले गठबन्धन गर्न हुँदैन भन्ने भाष्य पार्टीभित्र छ । यदि कांग्रेसले यो चुनाव जिते एक्लै चुनाव लड्नुपर्छ भन्ने पक्षधर नेताहरुको मान्यता स्थापित हुनेछ’, राजनीतिक विश्लेषक पोखरेल भन्छन् ।

तर पराजित भए गठबन्धन जरुरी रहेको तर्क गर्ने संस्थापन पक्षको तर्क बलियो हुन सक्छ । त्यस्तो अवस्थामा चाहिँ सभापति शेरबहादुर देउवाको कार्यशैलीमाथि प्रश्न उठ्न सक्छ । किनकि संस्थापन इतर पक्षले भेषराज आचार्यलाई उम्मेदवार बनाउन चाहेको भएपनि आफू निकट डम्बर खड्कालाई उम्मेदवार बनाउने निर्णय देउवाले गरेका थिए ।

राजनीतिक परीक्षण हुने अर्को शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हो । विशेषगरी यसका सभापति रवि लामिछानेको व्यक्तिगत आकर्षण र उनको निर्णयबारे आमधारणा बनाउन उपचुनावको नतिजा आधार बन्नेछ ।

किनकि जसरी पनि सत्तामा जाने एकमात्र जोडबलपछि लामिछाने उपप्रधान एवं गृहमन्त्री भइरहँदा उपचुनाव भएको छ । गत वर्ष १० वैशाखमा सम्पन्न तीन क्षेत्रको उपचुनावमध्ये दुई ठाउँमा रास्वपाले जितेको थियो । चितवन–२ मा लामिछाने र तनहुँ–१ मा स्वर्णीम वाग्लेले जितेका थिए ।

चितवनमा लामिछानेले जितेको क्षेत्र भएपनि तनहुँको जितले रास्वपालाई उत्साहित बनाएको थियो । किनकि तनहुँ–१ बाट जितेका रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि सम्पन्न उपचुनावमा कांग्रेसलाई हराएर रास्वपाले जितेको थियो ।

यो उपचुनाव जितेर रास्वपाले मिसन–२०८४ को यात्रा बलियो बनाउने उद्देश्य लिएको छ । प्रचारकै क्रममा रास्वपाका नेताहरुले भनेका छन्– २० बाट २१, २१ बाट २२ हुँदै आगामी चुनावमा बहुमतको सरकार ।

त्यसैले यो उपचुनाव पूर्वी नेपाल प्रवेश गर्ने खुड्किलो बन्न सक्छ । यही बुझाइले माओवादी पृष्ठभूमिका मिलन लिम्बुलाई पार्टीमा ल्याएर उम्मेदवार बनाएको छ । अर्कातिर सहकारी ठगी प्रकरणमा संलग्न भएको आरोपमा कांग्रेसले लामिछानेको राजीनामा मागिरहेको परिस्थिति रहेकाले पनि रास्वपाका निम्ति इलामको नतिजा अर्थपूर्ण छ ।

उपचुनावबाट पहिचान पक्षधरहरुको पनि परीक्षण हुँदैछ । जनता समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी लगायत राजनीतिक दलहरुको समेत समर्थन पाएका पहिचान पक्षधरका तर्फबाट डकेन्द्र थेगिम उम्मेदवार छन् ।

कोशी प्रदेशको नामाकरणप्रति असन्तुष्टहरुले थेगिमलाई साझा उम्मेदवार बनाएकाले यसको जवाफ पनि उपचुनावबाट हुनेछ । ‘पहिचानको आन्दोलनमा एक जनाको ज्यान गएको छ । अहिले एकताबद्ध भएर उपचुनावमा होमिएका छन्’ विश्लेषक पोखरेल भन्छन्, ‘पहिचानको एजेण्डा एलिटहरुको मात्रै हो अथवा जनतास्तरको आवाज भन्ने कुरा उपचुनावबाटै पुष्टि हुनेछ ।’

लेखकको बारेमा
सइन्द्र राई

विशेष संवाददाता राई राजनीतिक ब्यूरोमा कार्यरत छन् ।

सुदीप श्रेष्ठ

श्रेष्ठ अनलाइनखबरका इलाम संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?