१६ बैशाख, काठमाडौं । युवा ब्याटर विल ज्याक्सको आक्रामक शतकमा रोयल च्यालेन्जर्स बेंगलुरुले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा गुजरात टाइटन्समाथि ९ विकेटको शानदार जित हात पारेको छ । २०१ रनको लक्ष्य बेंगलुरुले १६ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो ।
बेंगलुरुको जितमा विल ज्याक्स ४१ बलमा ५ चौका र १० छक्कासहित १०० रनमा नट आउट रहे । १६ औं ओभरमा राशिद खानलाई चार छक्का र एक चौकासहित कुल २९ रन जोड्दै ज्याक्सले शतक पूरा गरेका थिए । आईपीएलमा उनको यो पहिलो शतक हो ।
विराट कोहली ४४ बलमा ६ चौका र ३ छक्कासहित ७० रनमा नट आउट रहे । दोस्रो विकेटका लागि विल ज्याक्स र विराट कोहलीले ७४ बलमा १६६ रनको साझेदारी गरेका थिए ।
फाफ डु प्लेसिस १२ बलमा १ चौका र ३ छक्कासहित २४ रनमा आउट भए । गुजरातका साई किशोरले १ विकेट लिए ।
त्यसअघि अहमदावादमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको गुजरातले २० ओभरमा ३ विकेट गुमाउँदै २ सय रन बनाएको थियो । साई सुदर्शनले ४९ बलमा ८ चौका र ४ छक्कासहित सर्वाधिक ८४ रन बनाए ।
शाहरुख खान ३० बलमा ३ चौका र ५ छक्कासहित ५८, ऋद्धिमान शाह ५, शुभमन गिल १६ र डेविड मिलरले २६ रन बनाए ।
बेंगलुरुका स्वप्निल सिंह, मोहम्मद शिराज र ग्लेन म्याक्सवेलले १–१ विकेट लिए । बेंगलुरु १० खेलमा ३ मा जित र ७ मा हारसहित ६ अंकका साथ पुछारमा छ । गुजरात ८ खेलमा ४ मा जित र ६ मा हारसहित ८ अंकका साथ सातौं स्थानमा छ । राजस्थान ९ खेलमा ८ मा जितका साथ १६ अंक जोड्दै शीर्षस्थानमा छ ।
प्रतिक्रिया 4