+
+

बागमतीको स्वास्थ्य मन्त्रालयमा दुई सचिव

अदालतबाट थमौती लिएका बद्रीबहादुर खड्का हुँदाहुँदै संघले पठायो नयाँ सचिव ।

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १७ गते १४:१९

१७ वैशाख, हेटौंडा । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयमा सचिवलाई लिएर विगत पाँच महिनादेखि किचलो भइरहेको छ ।

२०८० मंसिरबाटै स्वास्थ्य मन्त्रालयमा सचिव हेरफरको विषय चलिरहेको छ । सर्वोच्च अदालतबाट थमौती लिएर बसेका स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर खड्का हुँदाहुँदै संघीय सरकारले अर्का सचिव डा. प्रविन श्रेष्ठलाई पठाउने निर्णय गरेको छ । अदालतबाट थमौती भएपछि खड्का सचिवको जिम्मेवारीमा रहेर काम गर्दै आएका छन् ।

गत बिहीबार बसेको संघीय मन्त्रिपरिषद् बैठकले डा. श्रेष्ठलाई बागमती प्रदेशको स्वास्थ्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको छ ।

काठमाडौंस्थित वीर अस्पतालमा प्रमुख कन्सल्टेन्ट सर्जनको रूपमा कार्यरत श्रेष्ठ यसअघि दुई पटक हेटौंडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) थिए । उनले हेटौंडा अस्पताल सुधारमा उल्लेख्य भूमिका खेलेका थिए ।

निवर्तमान मन्त्री उत्तम जोशी र सचिव खड्काबीचको मनमुटावले उत्पन्न सरुवाको लफडा सर्वोच्च अदालतसम्म पुगेको थियो । मन्त्रालय स्रोतकाअनुसार स्वास्थ्य उपकरण खरिदमा चलखेल देखिएको भन्दै सचिव खड्काले कर्मचारीलाई स्पष्टीकरण सोधेपछि मन्त्री जोशीसँग मनमुटाव बढेको थियो ।

त्यसपछि १२ मंसिर ०८० मा बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले खड्कालाई सचिवको जिम्मेवारीबाट हटाउने निर्णय गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा तानेको थियो । उनलाई विभागीय मन्त्रीसँग समन्वयमा काम नगरेकोलगायत कारण देखाएर सरुवा गरिएको थियो ।

सरुवा गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध खड्का १९ मंसिरमा सर्वोच्च अदालत गएका थिए ।

सरकारले १०औं तहका दीपक तिवारीलाई निमित्त सचिवको जिम्मेवारी दिएको थियो । २० मंसिरमा मन्त्रिपरिषद् बैठकले तिवारीसहित अन्य चार जना स्वास्थ्यकर्मीलाई ११औं तहमा बढुवा गरेको थियो ।

बढुवा हुनेमा तिवारीसहित डा. वसन्त अधिकारी, डा. अर्जुनप्रसाद सापकोटा, डा. नरेन्द्रकुमार झा थिए । बढुवासँगै तिवारीलाई मन्त्रिपरिषद् बैठकबाट स्वास्थ्य मन्त्रालयमा सचिवको जिम्मेवारी दिइएको थियो ।

२८ मंसिरमा सर्वोच्चका न्यायाधीश हरि फुँयालको इजलासले खड्कालाई जिम्मेवारीबाट हटाउने निर्णयमाथि कारण देखाऊ आदेश जारी गर्दै निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।

अदालतको अन्तरिम आदेशपछि खड्काको ठाउँमा आएका सचिव तिवारी स्वास्थ्य निर्देशनालय हेटौंडाको निर्देशक भएर गएका थिए ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. खगेश्वर गेलालले सचिव खड्काले अदालतको आदेशसँगै कामलाई निरन्तरता दिएको बताए । ‘उहाँ (खड्का) ले नै सचिवको जिम्मेवारीमा काम गरिरहनु भएको छ । नयाँ सचिवसम्बन्धी अहिलेसम्म कुनै कागजात वा जानकारी मन्त्रालयमा आएको छैन ।’

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रशासन सचिव निश्चलराज पाण्डेले स्वास्थ्य मन्त्रालयमा दुई जना सचिव हुने भएपछि अन्योल देखिएको बताए ।

‘एक जना अदालतबाट थमौती लिएर बस्नुभएको छ । अर्को सचिव संघीय सरकारले पठाएको छ । अब के गर्ने भनेर अन्योल छ । अदालतको स्टेअर्डर भएकाले सायद खड्काज्यू नै सचिवमा कायम हुनुहुन्छ,’ पाण्डे भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?