
१७ वैशाख, काठमाडौं । विकास साझेदार संस्थाहरूले नेपालमा लगानीको वातावरण बन्दै गए पनि कानुन र प्रक्रियामा रहेका समस्या हटाउन सरकारलाई सुझाव दिएका छन् ।
तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा सहभागी विश्व बैंक, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) सहित विकास साझेदार संस्थाका प्रतिनिधिले सोमबार कार्यक्रम स्थल होटल सोल्टीमा अर्थमन्त्री वर्षमान पुनसँग भएको साइडलाइट वार्तामा यस्तो सुझाव दिएका हुन् ।
त्यस क्रममा उनीहरूले कानुनी र प्रक्रियागत सुधारबाट लगानीको वातावरण बन्ने बताए । सत्तारुढ र प्रतिपक्षी दलबीच विकासबारेको समान धारणाले समेत यस्तो वातावरण बनाउने उनीहरूको भनाइ छ ।
सम्मेलन उदघाटन सत्रमा नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विकासका एजेन्डामा नेपालका सबै दलसँगै रहेको प्रतिबद्धता जनाएका थिए ।
विकास साझेदारले नेपालका दलहरूमा देखिएको विकास र लगानीप्रतिको ऐक्यबद्धताले लगानीकर्तामा उत्साह थपिएको बताए ।
बैठकमा मन्त्री पुनसँगै मुख्यसचिव बैकुण्ठ अर्याल, अर्थसचिव मधुकुमार मरासिनी, राजस्व सचिव डा. रामप्रसाद आचार्य, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र मन्त्रालयका सह–सचिवद्वय श्रीकृष्ण नेपाल र धनीराम शर्मालगायत सहभागी थिए ।
प्रतिक्रिया 4