
काठमाडौं । ‘अलग भएको’ भन्ने चर्चाबीच राजु मास्टर र बल्छी धुर्वे एउटा पत्रकार सम्मेलनमा एकसाथ भेटिए । उक्त जमघटमा उनीहरुले आफूहरुबीच दरार आएको भन्ने चर्चाको खण्डन प्रयास गरे ।
नयाँ टिभी सिरियल ‘बुहारी’को पत्रकार सम्मेलनमा यी दुईले आफूहरु अलग नभएको बताए । ‘सम्बन्ध टुटेको मान्छे अदालतमा भेटिन्छ, प्रोग्राममा भेटिदैंन,’ राजु मास्टरले भने, ‘हाम्रो सम्बन्ध धेरै राम्रो छ । दर्शकलाई हामीले धेरै ठाउँमा, धेरैपटक भन्नुपर्यो । अब त भन्दा भन्दा पनि वाक्क भइसक्यो । कति भन्नु जस्तो ।’
बल्छीले पनि खण्डन प्रयास गर्दै भने, ‘सम्बन्ध टुटेको मान्छे ‘जुठे’मा सँगै खेल्दैन ।’ पैसामा कुरो नमिलेर जोडी छुटेको हो भन्ने चर्चामै आयो, कुरा के हो भनेर सोधिएको प्रश्नमा बल्छी धुर्वेले भने, ‘हामीलाई थाहा छैन, तपाईंले कसरी थाहा पाउनुभयो (लामो हाँसो) ।’
मिडियाले आफूहरुको सम्बन्धलाई लिएर नानाभाँती लेखेको गुनासो बल्छी धुर्वेको छ । ‘हाम्रो समाज छुट्यो, टुट्यो भन्दा एकदमै रमाउने समाज हो । त्यो कुरालाई ठूलो इस्यु बनाएर हेडलाइन बनिदिए,’ उनले भने ।
यो चर्चामा राजु मास्टरले राम्रो भन्दा नराम्रो कुरामा भीड हुने र हल्ला हुने प्रवृत्ति रहेको बताए । ‘हामी नेपालीको बानी कस्तो भइदियो भने जहाँ डोजरले भत्काइरहेको छ, त्यहाँ मान्छे झुम्म हुन्छौं । जहाँ बनाइराख्या छ, इन्जिनियरले घरको नक्सा बनाएको छ । त्यहाँ कोही पनि जम्मा हुँदैन,’ उनले भने ।
उनले अगाडि भने, ‘हामी सँगै छौं । सँगै नभएको भए अदालतमा हुन्थ्यौं । एकले अर्कोलाई मुद्दा हालिरहेको हुन्थ्यौं ।’
अलग सिरियल गर्ने आफूहरुको पूर्वनिर्धारित योजना रहेको राजु मास्टरले सुनाए । भन्छन्, ‘एउटै कुरा के हो भने, ‘मैले सकस भन्ने सिरियल गर्या छु । ‘हल्का रमाइलो’ उसले चलाइराख्या छ । ‘जुठे’ दुईजनाले चलाएका छौं । त्यत्ति मात्र हो । अरु केही होइन ।’
कुनै दिन विवाद आएमा आफू ‘हल्का रमाइलो’मा खेल्न तयार रहेको राजु मास्टर सुनाउँछन् । विवाद नरहेको र सबै योजनाबद्ध रहेको खुलाउँदै उनले भने, ‘एउटा प्रोजेक्ट थपौं न त भनेर सोचेका हौं । अहिले पारिवारिक सिरियलको बाढी आइराख्या छ । यो बाढीमा एउटा पारिवारिक म थप्छु, तैंले ‘हल्का रमाइलो’ गर भन्ने समझदारी हो ।’
उनले आफूहरु कमेडी र ‘हल्का रमाइलो’बाटै जन्मिएको बताए । ‘हामी जन्मिएकै ‘हल्का रमाइलो’ले हो । हामी जन्मिएकै कमेडीबाट हो । कमेडी नछोडौं । तर दुईजना तीनतिर नखेलौं । दुईतिर खेलौं । कुनै दिन साह्रै विवाद आयो भने म पनि हल्का रमाइलोमा खेल्छु,’ राजु मास्टरले भने ।
‘हल्का रमाइलो’मा राजु मास्टर चाहियो भन्नेलाई के भन्नुहुन्छ भनेर अर्को प्रश्नमा राजु मास्टरले भने, ‘अहिलेसम्म मेरी बास्सैमा माग्ने बुढा चाहियो भन्ने ९० प्रतिशत छन् । कमेन्टमा दर्शकको त्यो माया हो । हामीले कमाएको त्यही त हो नि । दुई-चार दिन छुट्टिंदैमा, मिडियाले अलग भयो भन्ने भन्दिने ?’
प्रतिक्रिया 4