अल्जाइमर भनेको एक प्रकारको डिमेन्सिया हो । सरल भाषामा अल्जाइमर्स एक प्रकारको बिर्सने वा भुल्ने रोग हो, जुन दिमागसित सम्बन्धित हुन्छ । यसले स्मरण शक्ति, सोच्ने क्षमता लगायत मानिसको व्यवहारलाई असर पार्ने काम गर्छ ।
मस्तिष्कमा हुने एमिलोइड नामक प्रोटिनका कारण न्युरोनहरु बन्द हुन पुग्छन् । जसकारण मस्तिष्कले राम्रोसँग सूचना प्रवाह गर्न सक्दैन । त्यसलाई अल्जाइमर भनिन्छ ।
अल्जाइमरको लक्षण
अल्जाइमरलाई माइल्ड, मोडेरेट र सिभिएर गरी तीन भागमा विभाजन गर्न सकिन्छ । माइल्ड अर्थात् सुरुवाती चरणमा बिर्सने लक्षण देखापर्छ । यसमा साथीको नाम बिर्सने र बिस्तारै अन्य कुराहरु पनि नियमित रुपमा बिर्सने र सम्झिन खोज्दा समय लाग्ने हुन्छ । केही कुरा सोध्दा त्यही प्रश्न उल्टै बारम्बार दोहोर्याउने र एउटै शब्द तीन-चार पटक दोहोर्याइरहने समस्या देखिन्छ ।
मोडेरेटमा घर र परिवारको सदस्यलाई नचिन्ने, के गर्दैछु, कहाँ जाँदैछु भन्ने कुरा पनि थाहा नहुने हुन्छ । हिंड्डुल गर्न नसक्ने, शारीरिक असन्तुलन हुने समस्या हुन्छ । साथै डिप्रेसन र साइकोसिस (मनोविकृति)को समस्या थपिन्छ । अल्जाइमर्स भएका व्यक्ति एक्लै बाहिर निस्किएमा घर फर्किन नसक्ने हुनसक्छ ।
सिभिएरमा डिप्रेसन, एन्जाइटी, हिंड्डुल गर्न नसक्ने, अहिले बोलेको वा खाएको कुरा बिर्सने, कसैलाई पनि नचिन्ने, एक्लै कतै जान नसक्ने र खानेकुरा, सरसमान केही पनि नचिन्ने हुन्छ ।
के छ औषधि उपचार ?
अल्जाइमर एउटा निको नहुने रोग हो र आजसम्म यसलाई निको पार्ने कुनै औषधि बनेको छैन । किनभने रोग पत्ता लाग्यो तर किन हुन्छ भन्ने कुरा आजसम्म स्पष्ट भएको छैन । त्यसैले अल्जाइमर्सको समस्या देखिएमा बिरामीको लक्षणअनुसार औषधि उपचार गर्ने गरिन्छ ।
जस्तै अल्जाइमरका बिरामीलाई हिंड्डुल गर्न समस्या छ भने हिंड्न सहज बनाइदिने औषधि दिइन्छ । यसले हिंड्डुलको समस्या कम गर्न मद्दत गर्छ । त्यस्तै बिरामीको मेमोरी (स्मरण शक्ति) कमजोर छ भने मेमोरी बढाउने औषधि दिन सकिन्छ । यसले बिरामीको मेमोरी बढाउन मद्दत गर्छ । डिप्रेसन र एन्जाइटीको समस्या देखिएमा त्यसको औषधि दिन सकिन्छ ।
त्यस्तै शरीर कडा भएर हिंड्डुल गर्न गाह्रो हुन्छ भने कडापन कम गर्ने औषधि प्रयोग गरिन्छ । यसले कडापन कम हुने र हिंड्डुल गर्न सहज बनाइदिन्छ । निद्रा नलाग्ने, उच्च रक्तचाप र मधुमेहको समस्या छ भने त्यसलाई नियन्त्रणमा राख्ने औषधि बिरामीलाई दिइन्छ ।
यसरी चिकित्सकले बिरामीको स्वास्थ्य अवस्था अनुसार समस्या कम गर्ने औषधि प्रयोग गर्छन् । यी औषधि बिरामीले खान बिर्सने वा नखाएमा समस्या झन् बढ्दै जान सक्छ र मृत्युसमेत हुनसक्छ ।
जोखिम
अल्जाइमर विशेषगरी ६० वर्षभन्दा माथिको उमेरमा देखिन्छ । जतिजति उमेर बढ्दै गयो यो समस्यामा सामान्य भन्दा बढी नै बिर्सिने समस्या बढ्ने हुन्छ ।
व्यस्थापन गर्ने तरिका
सबैभन्दा महत्वपूर्ण कुरा त हामीले अपनाउने जीवनशैली र खानपानमा विशेष ख्याल गर्नुपर्छ । नियमित व्यायाम, स्वस्थ खानेकुरा सेवन गर्ने र मस्तिष्कलाई सक्रिय बनाउनुपर्छ । मस्तिष्कलाई सक्रिय बनाउन लागि चेस खेल्ने, बाघचाल तथा मस्तिष्कलाई सक्रिय बनाउने खालको खेल खेल्न सकिन्छ ।
अल्जाइमरको बिरामीलाई मधुमेह, रक्तचाप जस्ता अन्य दीर्घरोग भएमा बढी ख्याल गर्नुपर्छ । ती रोगको औषधि नियमित खुवाउनुपर्छ ।
अल्जाइमरको लक्षण १०-१२ वर्षअघिदेखि नै देखिन्छ । त्यसैले बिर्सने समस्या छ र त्यसले दैनिक दिनचर्यामा नै बाधा पुर्याएको छ भने तुरुन्तै चिकित्सकसँग परामर्श लिनुपर्छ । यद्यपि अहिलेसम्म यो रोग निको पार्ने औषधि पत्ता लागेको छैन ।
प्रतिक्रिया 4