
१९ वैशाख, काठमाडौं । सत्तारुढ प्रमुख दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले लाहुरे संस्कृति मुलुकको विकास र समृद्धिको बाधक रहेको बताएका छन् ।
१३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै जागिरको खोजी गर्ने र काम गर्नका लागि विदेश जान खोज्ने लाहुरे संस्कृति विकासको बाधक भएको बताएका हुन् ।
‘ठूलो संख्यामा युवा वैदेशिक रोजगारीको सिलसिलामा जाने जुन परिस्थिति उत्पन्न भएको छ । त्यसमा दुई प्रकारका मनोविज्ञानले काम गरेको छ’, उनले भने, ‘एउटा मनोविज्ञान देशभित्र काम गर्न नचाहने, देशभित्र रोजगारीको कुरा गर्दा सरकारी जागिरको खोजी गर्ने र काम गर्नका लागि बाहिर जाने लाहुरे संस्कृति स्वाभाविक रूपमा हाम्रो मुलुकको विकास र समृद्धिको बाधक रहेको छ भने अर्को रोजगारीका अवसरहरूको अभाव नेपालको श्रम पलायनको एउटा कारण बनिरहेको छ ।’
महासचिव पोखरेलले मुलुकमै काम गर्ने मनोविज्ञान विकास नहुँदासम्म अर्थतन्त्रलाई सही बाटोमा अगाडि बढाउन नसकिने बताए । ‘स्वदेशमै केही गर्छु भन्ने कुरालाई आत्मसात् गर्न जरुरी छ,’ उनले भने, ‘हामीले स्वदेशी श्रमप्रति सम्मान गर्ने संस्कृतिको विकास गर्नुपर्छ ।’
महासचिव पोखरेलले सबै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको दायरामा ल्याउन पनि सरकारसँग आग्रह गरेका छन् ।
अनौपचारिक र औपचारिक क्षेत्रमा ठूलो संख्यामा रहेको श्रमजीवि वर्ग सामाजिक सुरक्षाको अवसरबाट वञ्चित रहेको उल्लेख गर्दै पोखरेलले भने, ‘सरकारले श्रमिकको सम्मान र भविष्यको सुरक्षाको लागि यस्ता कुरामा ध्यान दिन म आग्रह गर्छु ।’
महासचिव पोखरेलले बलियो श्रम संस्कृतिको विकास गर्दै राष्ट्र निर्माणको अभियानमा जुट्ने वातावरण बनाउन पनि सरकारले विशेष पहल गर्नुपर्ने बताए ।
प्रतिक्रिया 4