
विश्वकै ठूलो प्रजातान्त्रिक देश मानिने भारतमा सात चरणमा हुने चुनाव २०२४ अप्रिल १९ देखि सुरु भएर जून १ सम्म हुँदैछ। जसले लोकसभाको लागि ५४३ प्रतिनिधि छान्नेछ; थप दुई सदस्य मनोनित गरेपछि लोकसभामा ५४५ सदस्य पुर्याइनेछ। यसरी गरिएको चुनावको नतिजा ४ जून २०२४ मा सार्वजनिक हुनेछ।
यहाँ चुनाव बारेमा खासै कुरा गर्न लागिएको होइन; किनकि, नेपालका (विशेषतः काठमाडौंका) धेरै घरहरूमा भारतीय च्यानलहरूले चुनाव मात्रै होइन, भारतको संस्कृति नै धेरै वर्षदेखि पुर्याइरहेका छन्। जसको प्रतिफल हामी, हाम्रो जीवनका दिनानुदिन गरिने चाड, पर्व, विवाह इत्यादिहरूमा देखिरहेका छौं, व्यहोरिरहेका छौं।
यो लेखमा उठाउन लागेको कुराचाहिं, राजनीतिले हस्तक्षेप गरेको धर्म हो। धर्मले राजनीति मात्रै पनि होइन, हुँदाहुँदा शिक्षा क्षेत्रको पनि एउटा अचम्म पार्ने समाचार २७ अप्रिल, २०२४ को टाइम्स अफ इन्डिया लगायतका समाचारपत्रहरूमा छापिएको छ।
जसअनुसार, भारतको उत्तरप्रदेश राज्य मार्फत सञ्चालन भएको जौनपुरस्थित ‘वीरबहादुर सिंह पूर्वाञ्चल युनिभर्सिटी’को ‘डिप्लोमा इन फार्मेसी’को जाँचमा चार जना विद्यार्थीले परीक्षामा केवल ‘जय श्रीराम’ र केही नाम चलेका क्रिकेटरको नाम लेखेको भरमा ५० प्रतिशत नम्बर पाएका छन्। भनेपछि धर्मले के के मात्रै बाँकी राख्यो त ?
हुनत, युपीका गभर्नर, जो सोही युनिभर्सिटीका चान्सलर समेत छन्; उनले सो विषयमा छानबिन गर्न एउटा कमिटी बनाएका छन्। तर, यसले धर्मको नाउँमा गरिने राजनीतिले समाजको हरेक क्षेत्रलाई कसरी पञ्जामा पारिरहेछ भन्ने देखाउँछ।
भारतका नेताहरू, विशेषगरी भारतीय जनता पार्टी (बीजेपी) ले आफ्नो चुनावी भाषणमा आफूले आफ्नो क्षेत्रका बासिन्दाको लागि के–कस्ता योजना र नीति निर्माण गर्छौं भन्ने कुराभन्दा बढी मुस्लिम लगायत अन्य धर्महरूमा आस्था राख्नेहरूलाई गाली गर्ने र उनीहरूका विरुद्धमा भ्रम फैलाउने काम गरेको भनी भारतका केही पत्रकारहरूले नै प्रश्न उठाइरहेका छन्।
बीजेपीका भक्तहरू यतिसम्म एकोहोरो भएका वा पारिएका छन् कि, मोदीको सरकारले महँगाइ रोक्न सकेन भने ५०० रुपैयाँ पर्ने ग्यासको सिलिन्डरलाई ५ हजार तिर्न पनि तयार छन्। पुरुषहरूले त गञ्जी लगाउन छाडिदिन्छु समेत भनेका छन्। मोदी यसैको फाइदा उठाएर भाषण गर्छन्।
त्यस्तै, उत्तरप्रदेशका मुख्य मन्त्री योगी आदित्यनाथले, २३ अप्रिल २०२४ मा उत्तरप्रदेशको अमरोदा शहरमा चुनावी र्यालीलाई सम्बोधन गर्दै भने, ‘कंग्रेसले देशमा मुसलमानहरूको ‘सरिया कानुन’ लागू गर्ने उद्देश्य राखेको छ र सर्वसाधारणको सम्पत्तिलाई बाँड्ने विचार गरेको छ।’
यस्तै यस्तै झुट फैलाएर, बीजेपीले हिन्दु बाहेक अन्य धर्म मान्ने मानिसहरूलाई ह्वाट्सएप मेसेज पठाएर प्रचारप्रसार गरिएको आरोप लगाइएको छ। यो प्रक्रियालाई, ‘ह्वाट्सएप युनिभर्सिटी’का माफियाको नाम दिइएको छ।
यस्तै कुराहरूबाट कतै न कतै नेपालका केही समूहहरू पनि प्रभावित भएको हो कि जस्तो लाग्छ। अझ, बेलाबखत यहाँ आएर भारतका केही धार्मिक कथावाचकहरू पनि धर्मको नाममा राजनीति घुसाएर बोलिरहन्छन्। त्यसको उदाहरण, केही महिना अगाडि बागेश्वरधामबाट आएका बाबाले बोलेका विवादास्पद कुराहरू टिकटक लगायतमा देखिए/सुनिएको थियो।
गत २७ चैत २०८० देखि ५ वैशाख २०८१ सम्म गौशालास्थित होटल आनन्दमा ‘श्रीराम कथा’को आयोजना गरिएको थियो। त्यहाँ कथावाचन गर्न भारतबाट बोलाइएका जगद्गुरु द्वाराचार्य श्रीमलूकपीठाधीश्वर स्वामी श्री राजेन्द्र दास देवाचार्यजी महाराज थिए।
नेपालका मारवाडी परिवारको आयोजनामा लगाइएको उक्त कथावाचनको अन्तिम दिन राम नवमीमा त्यहाँ पुग्दा वाचकले हनुमानजी लंका पुगेको कथा वाचन गरिरहेका थिए। त्यति गर्दागर्दै, उनले बीचमै, नेपालको राजनीति र कम्युनिज्मबारे बोल्न थाले।
त्यति मात्रै होइन, कम्युनिज्मले धर्म मान्दैन; भारत र नेपाल एउटै देश हो। भारत नरहे, नेपाल रहँदैन… आदि कुराहरू गर्न थाले। त्यस्तो धार्मिक प्रवचनमा कसले त्यो कुराको विरोध गर्ने ? यसरी धार्मिक प्रवचनमा घुसाएको राजनीतिले सर्वसाधारणलाई कस्तो प्रभाव पारिराखेको हुन्छ होला ? प्रश्न सधैं उठ्छ, यी राजनैतिक र धार्मिक नेताहरू, यो धर्म र राजनीतिलाई छुट्टाछुट्टै रहन किन दिंदैनन् ?
विश्वमा धर्म, जात, रंगभेद आदित्यादि कुराहरूले कति नराम्रा घटनाहरू घटेका छन्; कति भयंकर अपराधहरू भएका छन्। अझै पनि ती कुराहरूबाट किन सिक्दैनन् ? किन अझै, विश्वमा युद्ध र अपराध निम्त्याउन चाहन्छन् ?
यी कुराहरू सोच्दै गर्दा, मलाई २०५५ साल साउन १० गते पूर्वी जर्मनीको वाइमरस्थित ‘बुकेनवाल्ड कन्सन्ट्रेसन क्याम्प’मा पुगेको याद आयो। जुन क्याम्पलाई नाजी शासनको बेलामा गरिएको भयंकर अपराधको प्रमाणहरूलाई मेमोरियल साइटमा रूपान्तरण गरिएको छ।
त्यहाँ जाने अघिल्लो दिन, अर्थात् २०५५ साउन ९ गते हामी चेक रिपब्लिकभन्दा ६ किलोमिटर पर पूर्वी जर्मनीको क्रोटेनहाइटस्थित एउटा सेमिनारमा हिटलरको नाजी सरकारद्वारा प्रतिपादित ‘होलुकास्ट सिस्टम’बारे जानकारी लिंदै थियौं।
जानकारी दिइरहेका डाक्टर बोस्टर नाम गरेका एकजना इन्स्ट्रक्टर डाँको छाडेरै रोएका थिए। त्यो दृश्य मानसपटलमा अझै ताजै छ। त्यो कुराले के पनि संकेत दिएको थियो भने, त्यो मेमोरियल साइट पुग्दा के के हेर्नुपर्ने होला!
जब हामी त्यहाँ पुग्यौं, हामीलाई भनिएको थियो– त्यहाँ हल्ला गर्ने वा हाँस्ने जस्ता कार्य गर्दा, त्यहाँ आउने अन्य पर्यटकहरूलाई नराम्रो लाग्न सक्छ। किनकि, त्यहाँ हजारौं कैदीहरूले हिटलर र नाजीवादको आतंकको शिकार हुनुपरेको थियो।
सन् १९३७ मा निर्माण गरिएको बुकेनवाल्ड कन्सन्ट्रेसन क्याम्प नामकरण गर्नु अगाडि त्यो क्याम्पको नाउँ, ‘एट्टेनबरो’ पहाडको नामबाट ‘एट्टेनबरो कन्सन्ट्रेसन क्याम्प’ राखिएको थियो। उक्त क्याम्पमा सन् १९३८ मा जर्मनी र अष्ट्रियाबाट १३ हजारभन्दा बढी यहुदी ल्याइएको थियो।
जनवरी १९४५ सम्ममा त्यहाँ १ लाख १० हजार कैदीहरू राखिएको तथ्य त्यहाँको इतिहासले बताउँछ। त्यहाँको इतिहास खोतल्दा, त्यहाँ कैद गरिएकामध्ये, १९३७ देखि १९ अप्रिल १९४५ सम्ममा ३४ हजार ३७५ पुरुषहरू मारिएको तथ्य त्यहाँका तत्कालीन सेक्रेटरीले राखेको रेकर्डबाट प्राप्त भएको जानकारी त्यहाँ लेखेर राखिएको थियो।
साथै, त्यहीं सुरक्षित अन्य डकुमेन्ट अनुसार ८ हजारभन्दा बढी सोभियत कैदीहरूलाई तबेलामा गोली ठोकेर मारिएको थियो। करिब १९०० कैदीहरूलाई झुन्ड्याएर मारिएको थियो भनिन्छ। यो सबै जोड्दा, झन्डै ५६ हजार मानिसहरू त त्यहीं मात्रै मारिएको देखिन्छ। त्यहाँ, मार्ने प्रक्रियाहरू सबै विस्तृत रूपमा फिंजाएर राखिएको छ भनौं कि, जस्ताको तस्तै छ भनौं !
ढोकाबाट भित्र छिर्ने बित्तिकै मार्बलको जस्तो देखिने डाक्टरहरूले अप्रेसन गर्ने टेबल, जहाँ मारेपछि मानिसको काम लाग्ने अंगहरू झिक्ने ज्यावल, छेउमै, मानिसको छालाबाट बनाएको टेबुल ल्याम्पसेड, मान्छेलाई मार्नुभन्दा अगाडि नुहाउने, कपाल खौरने, रोगी छ कि छैन जाँच्ने, गोली ठोक्ने कोठाको बाहिर सिसामा मानिसको हाइट अनुसारको गोली हान्ने प्वाल… के के हो के के !
मारिएकाहरूलाई गाडामा हालेर सामूहिक जलाउने भट्टी, खरानी राख्ने भाँडो…. लेख्दा लेख्दै ती दृश्यहरू सम्झिंदा मन अझै विक्षिप्त हुन्छ। ती सबै इतिहासको साक्षी बनेर पनि यो मान्छेको जात कहिल्यै चेतेन।
सन् १९४४ मा ‘ज्यू’ वंशका पोलिश वकील राफेल लेमकिनले भनेका थिए, ‘नरसंहार (जेनोसाइड) भनेको व्यवस्थित तरिकाले ठूलो संख्यामा जातीय, धार्मिक, राष्ट्रियता इत्यादिको नाममा मान्छे मार्नु हो।’
तत्पश्चात्, त्यस्ता घटनाहरू नदोहोरियून् र कसैले त्यस्ता अपराध गर्यो भने कानुनी कारबाही गर्न सकियोस् भनेर सन् १९४८ मा ‘कन्भेन्सन अन द प्रिभेन्सन एन्ड पनिस्मेन्ट अफ द क्राइम अफ जेनोसाइड’ को आर्टिकल २ मा समेटिएको थियो। तर, जति कडा कानुन बनाए पनि आपराधिक कार्यहरू किन रोकिन्थे र !
हिटलरको अपराधको विश्व समुदायमै जतिसुकै विरोध भए पनि त्यसपछि, बोत्स्निया हर्जगोविना, रुवान्डा, सुडान, युक्रेन, कम्बोडिया आदि देशहरूमा घटेरै छाड्यो। अहिले पनि, धर्म, जात, समुदाय आदिको नाममा वर्गीकरण गरेर शक्तिशालीले कमजोरलाई विना अपराध आरोप/प्रत्यारोप भइनैरहेछ।
यो लेख्दै गर्दा धर्मको कुरा किन उठाएको ? हिन्दु धर्मको किन विरोध गरेको ? भनेर ममाथि आक्रमण हुन्छ भन्ने थाहा हुँदाहुँदै पनि म प्रश्न गर्छु धार्मिक तथा राजनैतिक नेताहरूलाई– तपाईंहरू राजनीतिमा धर्म किन घुसाउनुहुन्छ वा त्यो आशयको भाषण र व्यवहार किन गर्नुहुन्छ ? धर्म भनेको नितान्त व्यक्तिगत आस्थाको विषय हो; यसलाई यस्तै रहन दिए हुन्न ?
प्रतिक्रिया 4