+
+

अदालतमा कँडेलको बयान : स्रोतले दिएको अडियोमा विश्वास गर्‍यौं

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २० गते २०:२८

२० वैशाख, काठमाडौं । अदालतको अवहेलना गरेको आरोपमा सर्वोच्च अदालतमा पुगेका सिधाकुरा डटकमका सञ्चालक युवराज कँडेलले स्रोतले दिएको सूचनामा विश्वास गरेर आफूहरुले सामग्री प्रकाशन गरेको बताएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्ने स्टिङ अपरेशनसँग सम्बन्धित मुद्दा हारजित गराउन सर्वोच्चकै न्यायाधीशसहित छलफल भएको विषयमा सिधाकुरा डटकमले एक अडियो सामग्रीसहितको समाचार प्रकाशन गरेको थियो ।

उक्त सामग्रीविरुद्ध अदालतको अवेहलना मुद्दा परेपछि सर्वोच्चले प्रकाशक कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगानालाई बयानमा बोलाएको थियो । बिहीबार न्यायाधीश हरि फुयाल र महेश शर्मा पौडेलको इजलासमा बयान दिँदै उनले आफूहरुलाई उक्त अडियो गोदावरीका राजकुमार तिमिल्सिनाले दिएको खुलाएका थिए । साथै तिमिल्सिनाबाहेक अरु कसैलाई नचिन्ने र उनीहरुको आवाज पहिचान गर्न पनि नसक्ने बताएका सर्वोच्च अदालत स्रोतले जानकारी दिएको छ ।

इजलासमा न्यायाधीश फुयालले ‘त्यस्तो संवेदनशील विषयवस्तु परीक्षण नगरी कसरी प्रकाशित गर्नुभयो’ भनी सोधेका थिए । जवाफमा कँडेलले आफूहरुलाई स्रोतले अडियो सहित सूचना दिएको र त्यसमा विश्वास गरी समाचार एवं भिडियो बनाई प्रकाशित गरेको बयान दिएका थिए ।

एक कानून व्यवसायीका अनुसार बयानका क्रममा कँडेलले स्टिङ अपरेशनसम्बन्धी मुद्दामा संवैधानिक इजलासलाई प्रभावित पारेको शंका लागेकाले अडियो र त्यसमा आधारित भिडियो बनाएर सार्वजनिक गरेको बताएका थिए ।

न्यायाधीशले कँडेललाई प्राप्त सूचना पुष्टि र पुनर्पुष्टि गर्नुभयो कि गर्नुभएन भनी सोधेका थिए । जवाफमा उनले आफूले स्रोतमाथि विश्वास गरेकाले थप पुनर्पुष्टि नगरेको बयान दिएका थिए । इजलासमा न्यायाधीशले कँडेललाई अदालती कामकारवाही र प्रक्रियाका बारेमा जानकारी भएको वा नभएको सोधेका थिए । जवाफमा उनले ‘स्रोतले दिएको सूचनामात्रै थाहा पाएको’ बताएका थिए ।

अदालतको न्यायसम्पादन जस्तो संवेदनशील विषयमा समाचार प्रकाशित गरेको, इजलासमा संलग्न नभएको न्यायाधीशको नाम जोडिएको विषयमा समेत इजलासले प्रश्न गरेको थियो ।

सर्वोच्च अदालतका एक कर्मचारीका अनुसार, उनको बयानको सार नै समाचार प्रकाशनका लागि स्रोत नै मुख्य विषय हो र उसैले दिएको सूचनामा हामीले समाचार प्रकाशित गरेका हौं भन्ने थियो ।

‘यसअघि पनि स्रोतले दिएको सूचना विश्वास गरेर यसैगरी समाचार प्रकाशित गरिन्थ्यो’, बयानको सार उधृत गर्दै ती कर्मचारीले भने, ‘स्रोतले दिएको सूचनामा विश्वास गरेको हुनाले समाचार बनाएर प्रकाशित गरियो ।’ उनले बयानका क्रममा स्रोतले दिएको सूचनामा भर पर्नु र विश्वास गर्नु गल्ती भयो भनी स्वीकारेको पनि ती कर्मचारीले बताए ।

सर्वोच्च अदालतमा बिहीबार प्रकाशक कँडेलको बयान सकिएको छ भने कार्यकारी सम्पादक नविन ढुंगानाको बयान बाँकी छ । कँडेलको बयानमा गोदावरीका राजकुमार तिमिल्सिनाले अडियो दिएको खुलाएपछि सर्वोच्च अदालतले उनलाई पनि आइतबार विहान १० बजे बयानमा बोलाएको छ ।

सर्वोच्च अदालतको आदेशमा भनिएको छ, ‘…उल्लिखित अडियो/भिडियो सम्बन्धमा अदालतको अवहेलनामा किन कारवाही र सजाय गर्नुनपर्ने हो ? त्यसरी कारवाही गर्नुनपर्ने आधार र कारण भए आफूसँग भएका सबुद प्रमाणसहित बयानका लागि जानकारी दिनू ।’

सिधाकुरा डटकमले उक्त समाचार प्रकाशन गरेपछि सर्वोच्चका उपरजिस्ट्रार गोविन्दप्रसाद घिमिरेले अदालतको अवहेलनासम्बन्धी प्रतिवेदन पेश गरेका थिए ।

उक्त प्रतिवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले उक्त सामग्री हटाउन र यस विषयमा अदालतबाट अन्तिम निर्णय नभएसम्म त्यससँग सम्बन्धित सामग्री प्रकाशन नगर्न आदेश दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?