+
+

‘डढेलो हेर्ने अलग्गै संरचना आवश्यक छ’

सदनमा पनि अनेक मुद्दा उठ्छन् तर डढेलोको कुरा हत्तपत्त उठ्दैन । डढेलोले मान्छे मरिरहेका छन्, हामी ग्यास च्याम्बरमा बसिरहेका छौं तर यसबारेमा प्रभावकारी रूपमा कोही पनि बोल्दैन ।

सुन्दर शर्मा, डढेलो विज्ञ सुन्दर शर्मा, डढेलो विज्ञ
२०८१ वैशाख २१ गते २०:१०

हरेक वर्ष गर्मीयाममा डढेलो र आगलागीका घटना हुन्छन् । हावाहुरी चल्ने मौसम भएकाले त्यो आगोलाई झन् फैलाइदिन्छ । गर्मीयाममा आगलागी हुन्छ र वर्षा सुरु भएपछि रोकिन्छ । कतिपयलाई यो नौलो लाग्दैन ।

हरेक वर्ष हुने घटना त हो नि भनेर हामी यसलाई सामान्य रूपमा लिन्छौं । सदनमा पनि अनेक मुद्दा उठ्छन् तर डढेलोको कुरा हत्तपत्त उठ्दैन । डढेलोले मान्छे मरिरहेका छन्, हामी ग्यास च्याम्बरमा बसिरहेका छौं तर यसबारेमा प्रभावकारी रूपमा कोही पनि बोल्दैन ।

चैत–वैशाख लागेपछि डढेलो लाग्छ, वन–बस्तीमा आगलागी हुन्छ, आगो लापरवाहीपूर्वक प्रयोग गर्न हुँदैन भन्ने कुरा हाम्रो वार्षिक क्यालेन्डरमै छ । यो हामी सबैलाई थाहा भएकै कुरा हो । तर हामीमा अझै चेतना आएन ।

अब सरकारले के गर्ने त ? भन्ने प्रश्न आउला । त्यसको जवाफ सरकारले देला । म त आगोलाई नजिकबाट हेरिरहेको एउटा प्राविधिक विद्यार्थी मात्रै हुँ । मैले यति मात्र भन्न सक्छु कि केन्द्र, प्रदेश र स्थानीय पालिकाहरूबीच अझै बढी समन्वयको खाँचो देखिएको छ ।

डढेलो यो वर्ष भयावह छ । आगलागीका घटना अत्यधिक भएपछि मंगोलिया जाने मेरो पूर्वनिर्धारित कार्यक्रम नै रद्द गरें । यो वर्ष गत वर्षको भन्दा बढी आगलागी र डढेलोका घटना भए । म महोत्तरीको मटिहानीस्थित बस्ती जलेको ठाउँमा पनि पुगेर आएँ । डढेलोकै कारणले लुम्बिनी प्रदेशमा करिब साढे दुई सय घरहरू जलेका छन् । यो क्रम बढिरहेको छ । गुल्मीमा मात्रै ६७ वटा घर जलेका छन् ।

केही वर्षदेखि बसाइँसराइ बढ्दै गयो । गाउँ–बस्ती रित्तिंदै गएका छन् । यसले गर्दा खरबारी, झाडीहरू बढे । जंगल र बस्ती जोडिन थाले ।  यसले ज्वलनशील पदार्थलाई पनि घर–बस्तीसँग जोडिदियो । कसैको लापरवाहीले त्यहाँ आगो लाग्यो भने बस्ती नै सखाप हुने स्थिति आयो ।

डढेलोले पुर्‍याउने क्षति बहुआयामिक हुन्छ । यसले जंगलका झारपात मात्रै जलाउँदैन हाम्रो घर र आफन्त पनि जलाएको छ । पर्यावरणलाई सन्तुलनमा र वातावरण स्वच्छ राख्न मद्दत गर्ने, बोटबिरुवा, जीवजन्तु, कीरा–फट्याङ्ग्रा, चरा सबै जलाएको छ । हिमाल पग्लिन र हिमताल फुट्न सघाइरहेको छ ।

डढेलो लागेको ठाउँमा पहिरो जाने सम्भावना पनि हुन्छ । आगो लागेर जमिन सुक्खा हुन्छ, चिरा पर्छ र माटो–ढुंगा जमेर बसेको ठाउँ खुकुलो हुन्छ । पानी पर्‍यो भने सीधै माटोमा ठोक्किन्छ । पहाडमा पहिरो जान्छ । बालुवा–माटो मिश्रित भल–बाढीले समथर भागमा कटान हुन्छ । तर नेपालमा डढेलो र बाढी–पहिरोको अन्तरसम्बन्धबारे अध्ययन–अनुसन्धान भएको जानकारी छैन ।

यसैगरी आगलागी र डढेलोबाट भएको क्षतिको यकिन तथ्य र तथ्यांक पनि छैन । तथ्यांकमा हामी प्रहरीको मात्र भर परिरहेका छौं । प्रहरी मार्फत पनि सबै विवरण आउँदैनन् । सामान्य घटना हो, सामान्य क्षति हो भनेर विवरण नै नराख्ने चलन पनि देखिन्छ ।

अब डढेलो हेर्ने अलग्गै संरचना आवश्यक छ । साना–ठूला जस्ता भए पनि तथ्य सहितको तथ्यांक हामीसँग हुनुपर्छ । यसका लागि डाटाबेस म्यानेजमेन्ट सिस्टम बनाएर व्यवस्थित ढंगले अभिलेख राख्नुपर्छ । भविष्यमा त्यही डाटाको आधारमा योजना र नीति तथा कार्यक्रम बनाउन सहज हुन्छ । त्यसरी लागू गरिएका कार्यक्रम मात्रै प्रभावकारी हुन्छ ।

आनन्द वनको अवस्था देख्दा नमज्जा लाग्यो

ललितपुरको आनन्द वन जंगलमा आगो लागेको थाहा पाएपछि म आफैं त्यो ठाउँमा गएको थिएँ । हाम्रो टोली पुग्दा आगो आनन्द वन अस्पतालको नजिकै पुगेको थियो । प्रहरीहरू स्याउलाले आगो निभाउन खोजिरहेका थिए । उनीहरूलाई गाह्रो भइरहेको थियो । दुई जना प्रहरी त घाइते भए । उनीहरूको उपचारको क्रममा मृत्यु नै भयो ।

आगो निभाउन भनेर दमकल पनि पुगेका थिए तर आगो लागेको ठाउँसम्म जाने बाटो थिएन । त्यहाँको दृश्य साह्रै नमज्जाको थियो । म डीएसपीको कमाण्डमा फायर फाइटरहरूको टिम सहित गएको थिएँ । हामीसँग दमकलले जसरी पानी फ्याक्ने पोर्टेबल फायर पम्प थियो । त्यसको सहयोगले सजिलै आगो निभाउन सकियो । अस्पताल, अस्पतालका कर्मचारी र बिरामीहरू सुरक्षित भए । हामीसँग यदि पोर्टेबल उपकरण हुँदैनथ्यो भने ठूलो क्षति हुनसक्थ्यो ।

म आफैंले फायर फाइटिङको तालिम लिएको छु । युरोपका धेरै ठाउँमा आगो निभाउने काम गरेको छु । नेपालमा पनि गरेको छु । म आफैंले ठाउँ–ठाउँमा ट्रेनर पनि बनाएको छु । धेरै वर्ष अगाडि विदेशबाट ट्रेनरहरू ल्याएर हेटौंडामा २४ जनालाई तालिम दिएको थिएँ । कहिलेकाहीं आगो निभाउन ठूलो जनशक्ति चाहियो भने मैले उनीहरूलाई सहयोगका लागि बोलाउँछु । कसैले हामीलाई आगो निभाउने तालिम दिनुपर्‍यो भनेको बेला उनीहरू गएर तालिम पनि दिन्छन् ।

हामीसँग तालिम प्राप्त अग्नि नियन्त्रक जनशक्ति र आगो निभाउने आधुनिक खालका उपकरणको कमी छ । यदि पर्याप्त हुने हो भने आगलागी नियन्त्रण अझ छिटो र सहज हुन्छ । सुरक्षाकर्मीमा तालिमप्राप्त केही जनशक्ति छन् । तर त्यहाँ पनि अपर्याप्त छ ।

हामीमा तालिमको कमी छ भन्ने कुरा त बैतडीमा तीन जना सैनिक र ललितपुरमा दुई जना प्रहरीको मृत्युको घटनाले पनि देखियो । केही वर्ष अगाडि रामेछापको मन्थलीमा पनि आगो निभाउन खटिएका १३ जना सैनिकको मृत्यु भएको थियो ।

हाम्रा सुरक्षाकर्मीहरूसँगै हरेक पालिकामा पर्याप्त बजेट विनियोजन गर्दै अग्नि नियन्त्रण गर्ने दस्ता बनाउनु आवश्यक छ । उनीहरूलाई अग्नि नियन्त्रण गर्ने उपकरणबाट सुविधासम्पन्न बनाउनु छ । हरेक राजनीतिक दलका कार्यकर्तालाई पनि त्यो काममा परिचालन गर्न सकिन्छ ।

यति मात्रै होइन, तपाईं–हाम्रो परिवारका हरेक सदस्यलाई आगोबाट जोगिने, निभाउने लगायत आधारभूत तालिम दिनुपर्ने हुन्छ । गाउँ–गाउँमा अग्नि नियन्त्रक स्वयम्सेवी टोली र तिनलाई आवश्यक उपकरणले सुसज्जित बनाउन सकिए मात्रै पनि आगलागी र डढेलोले हुने क्षति कम गर्न सकिन्छ ।

(दक्षिण एशियाली डढेलो व्यवस्थापन सञ्जालका संयोजक, डढेलो विज्ञ शर्मासँग अनलाइनखबरका लागि विनोद घिमिरेले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?