+
+

डढेलो रोक्न स्याउलाको भर

बर्सेनि आगो निभाउन खटिएकाहरुकै ज्यान गइरहनुले डढेलो नियन्त्रणका लागि आवश्यक औजार व्यवस्थापन र तालिम प्राप्त जनशक्ति उत्पादनमा सरकारको उदासीनता देखाउँछ ।

गौरव पोखरेल गौरव पोखरेल
२०८१ वैशाख २१ गते २०:१२

२१ वैशाख, काठमाडौं । कुनै दूरदराजको ठाउँमा होइन, काठमाडौं उपत्यकामै गएको मंगलबार डढेलो निभाउन जाने क्रममा २ जनाले ज्यान गुमाए । गोदावरी नगरपालिका–२, बडिखेलस्थित जंगलमा लागेको आगो नियन्त्रणमा लिने प्रयास गर्दा स्थानीय शंकर पहारी र रमेश पहारीको मृत्यु भयो ।

प्रहरी प्रभाग, बडीखेलका इन्स्पेक्टर नकुल गौतमका अनुसार बसपार्कबाट कम्तिमा ३ किलोमिटर पर यो घटना भएको हो । ‘अलिपर भीरजस्तो ठाउँमा तारबार लगाइएको अवस्थामा तपेश्वर महादेवको मन्दिर थियो’, उनले अनलाइनखबरसँग भने, ‘मन्दिर जोगाउन जंगलबाट स्याउला लिएर जाँदा दुःखद् घटना भयो ।’

मन्दिरको माथि पानीको ड्रम पनि राखिएको थियो । उनीहरु स्याउला लिएर ड्रमतिर जान लागेका थिए । ‘त्यहीबेला अर्को दिशाबाट आएको हावाले उहाँहरुलाई भेटेछ’, गौतमले भने, ‘गम्भीर अवस्थामा सीआरभी भ्यान (कन्ट्रोल रुम भेहिकल) मा राखेर कीर्तिपुर अस्पताल लगिएको थियो ।’

अस्पतालमा पुर्‍याएको केही समयमै उनीहरुको मृत्यु भयो । बडिखेलको जंगलमा मंगलबार बिहानैदेखि आगो लागेको थियो । गौतमका अनुसार त्यसक्षेत्रमा बस्ती पनि नभएकाले त्यहाँ जानुपर्दैन भनेर प्रहरीले पटक–पटक भनेको थियो । ‘आगोको बीचमा भएकाले मन्दिर जोगाउन जान जोखिम हुन्छ भनेका थियौं’, गौतम भन्छन् ।

एक साताअघि बाग्लुङको तमानखोला–२, सिलगुममा पनि स्याउला लिएर आगो निभाउन जाँदा ४८ वर्षका देवसिंह कामीले ज्यान गुमाएका थिए ।

बाग्लुङ प्रहरी प्रमुख एसपी ऋषिराम कँडेलका अनुसार, आफ्नै घरदेखि एक किलोमिटर पश्चिममा रहेको जंगलको आगो फैलिँदै वस्तीतिर आउन लागेपछि देवसिंह निभाउन गएका थिए । ‘त्यसक्रममा गोरेटो बाटोमा आगो निभाउने क्रममा हावा चल्दा आगोले भेट्दा उहाँको निधन भयो’, उनी भन्छन् ।

कामीसँगै आगो नियन्त्रणका लागि खटिएका २१ वर्षीय ज्ञानबहादुर बुढा मगर र ३३ वर्षीय प्रेमबहादुर घर्तीमगर घाइते छन् । दुवैको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ ।

वडाध्यक्ष नारायण सुनारका अनुसार, अघिल्लो दिनदेखि सुरु भएको डढेलो वस्तीतिर पस्न खोजेपछि नियन्त्रणका लागि गाउँले त्यतातिर गएका थिए । ‘सल्लाको रुखहरुमा लागेको आगो हो’, सुनार भन्छन्, ‘स्याउला र माटो हालेर निभाउने प्रयास गर्दै हुनुहुन्थ्यो, त्यहिबेला अर्कोतिरबाट आएको आगोको लप्काले भेटेछ ।’

उनका अनुसार, गाउँमा दमकल त टाढाको कुरा डढेलो नियन्त्रणका लागि न्यूनतम उपकरणहरु पनि छैनन् । ‘जसरी पनि नियन्त्रणमा ल्याउनै पर्‍यो, टोलका साथीहरुले स्याउला माटो, पानी लगायत प्रयोग गरेर बल्लतल्ल आगो नियन्त्रणमा भयो’, उनी भन्छन्, ‘त्यहीक्रममा अप्रिय घटना पनि भयो ।’

राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका डढेलो नियन्त्रण विज्ञ सुन्दर शर्माका अनुसार, आवश्यक पूर्वतयारीविनै सुरक्षा सावधानी नअपनाइ डढेलो नियन्त्रणका लागि जाँदा मानवीय क्षति भइरहेको छ । ‘डढेलो नियन्त्रण गर्न गर्न जानु भनेको युद्धमा लड्न जानु सरह हो’, उनी प्रश्न गर्छन्, ‘सोच्नुस् त युद्धमा हतियार नलिइ जाँदा के हुन्छ ?’

आमनागरिक मात्र होइन, राष्ट्रिय निकुञ्ज सुरक्षाको जिम्मेवारी समेत पाएको नेपाली सेनाका युनिटहरुसँग पनि डढेलो नियन्त्रणका लागि पर्याप्त सामग्री छैनन् । डोल्पाको ठुलीभेरी नगरपालिका–४ मा २६ चैत २०८० मा मष्टा भवानी सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा देवीदत्त गुल्ममा कार्यरत् तीन सैनिकको मृत्यु भयो ।

काभ्रे घर भएका ३८ वर्षीय जमदार केशवबहादुर जर्गा मगर, २३ वर्षका सिपाही आशिष बुढा र जुम्ला घर भएका हेमन्त रावतको मृत्यु भएको सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले जनाएको छ । विडम्बना त सेनाको छाउनीस्थित अस्पतालमा जलनका विरामीलाई उपचार गर्ने वार्ड हालसम्म छैन ।

सेनाले हेलिकोप्टरमार्फत उद्दार गरेर दुई जना सैनिकलाई काठमाडौं ल्याउँदा छाउनी अस्पतालतर्फ लगिएको थियो । तर, उपचार सम्भव नहुने चिकित्सकहरुले बताएपछि बल्ल कीर्तिपुरस्थित वर्न अस्पतालमा लगिएको थियो ।

जानकारहरुका अनुसार, अन्य आगलागीभन्दा डढेलोलाई फरक तरिकाले नियन्त्रणमा लिनुपर्छ । त्यसका लागि पर्याप्त सुरक्षा तयारी, उपयुक्त औजार पनि हुनुपर्छ

जलन पीडितहरुको पक्षमा काम गरिरहेका उज्जवल थापाका अनुसार, युद्धका लागि सधैँ तयार रहनुपर्ने सैनिक अस्पतालमा ‘बर्न वार्ड’ अनिवार्य हुनुपर्ने हो । ‘सायद हाम्रो सेनासँग मात्र बर्न नभएको होला’, उनी भन्छन् ।

ठूली भेरी नगरपालिका–४ का वडाध्यक्ष जुद्धबहादुर बुढाका अनुसार, मष्टा भवानी सामुदायिक वनमा लामो समयदेखि सुकेर बसेका स्याउलाहरु थिए । उनले थाहा पाएअनुसार पछिल्लो २ दशकमा त्यहाँ आगो लागेको थिएन ।

‘त्यस्तोमा सेनाको गणमा सरसफाई गरिरहेका बेला आगो बालेका रहेछन्, एक्कासि हुरी चल्दा त्यही लप्को बाहिरसम्म आएछ’, उनले अनलाइनखबरसँग भने, ‘अन्यत्र आगो फैलिएपछि नियन्त्रणका लागि सैनिक जवानहरु जाँदा दुःखद् घटना भयो ।’

सेनाले स्याउला, माटो र फायर लाइन बनाएर आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको थियो ।

डढेलो नियन्त्रणका लागि जाँदा सैनिक जवानको मृत्यु भएको पहिलो पटक होइन । रामेछापमा ११ वैशाख २०६६ मा डढेलो नियन्त्रणमा लिने क्रममा जलेर १३ सैनिकको मृत्यु भएको थियो ।

जिल्ला अस्पताल नजिकै डढेलो आइपुगेपछि नियन्त्रणको प्रयास गरिरहेका बेला तलबाट माथि आउँदै गरेको आगोको लप्काले भेट्दा उनीहरुको मृत्यु भएको थियो । यो घटनामा ज्यान गुमाएका सबै सैनिक सेनाको श्रीजंग गणमा कार्यरत् थिए ।

नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसी सैनिक युनिटहरुमा विपद् व्यवस्थापनका केही सामग्रीहरु भएपनि ती सधैँ पर्याप्त नहुने बताउँछन् । ‘कतिपय अवस्थामा स्थानीयसँग समन्वय गरेर पनि पालिकामा भएका सामग्रीहरु डढेलो नियन्त्रणका लागि प्रयोग गरिरहेका हुन्छौं’, उनी भन्छन्, ‘त्यस्तो घटना थाहा पाउनासाथ फौजले नियन्त्रणमा लिने प्रयास गर्छ ।’

जानकारहरुका अनुसार, अन्य आगलागीभन्दा डढेलोलाई फरक तरिकाले नियन्त्रणमा लिनुपर्छ । ‘त्यसका लागि पर्याप्त सुरक्षा तयारी, उपयुक्त औजार पनि हुनुपर्छ’, डढेलो नियन्त्रण विज्ञ शर्मा भन्छन्, ‘हामी कहाँ तालिमको पनि अभाव देखिन्छ, जतिसक्दो धेरै तालिम प्राप्त जनशक्ति उत्पादन गर्नुपर्ने छ ।’ डढेलो नियन्त्रणका लागि वडा तहसम्मै जनशक्ति तयार गर्नुपर्ने उनी बताउँछन् ।

उनका अनुसार, डढेलो नियन्त्रणका लागि जानेले अनिवार्य रुपमा पर्सनल प्रोटेक्टिभ इक्यूपमेन्ट (पीपीई) प्रयोग गर्नुपर्छ । ‘डढेलोको प्रकृति फरक हुन्छ, हावा हुरी चलेका बेला जतिसुकै बेला लप्काले भेट्न सक्छ’, शर्मा भन्छन्, ‘त्यस्तोमा आफू सुरक्षित हुने गरी पर्याप्त तयारी गरेर मात्र नियन्त्रणमा खटिनुपर्छ ।’

नेपालले साढे दुई दशकमा २६ प्रतिशतबाट वन क्षेत्रलाई ४५ प्रतिशतले बढाएको छ ।

तर, वन क्षेत्रलाई डढेलोबाट जोगाउन त्यसअनुसारको तालिम प्राप्त जनशक्ति उत्पादन र चेतना फैलाउने काम पर्याप्त गर्न नसकिएको राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल पोखरेलको स्वीकारोक्ति छ ।

बिहीबार मात्र ४२६ स्थानमा डढेलो लागेको रेकर्ड प्राधिकरणमा छ भने यसबाट ५३ जिल्ला प्रभावित छन् ।

‘यो वर्ष १४ जिल्लाका १२० हटस्पट पालिकामा पोर्टेबल फायर पम्प लगायत सामग्री पठाएका थियौं, यद्यपि त्यो मात्र पर्याप्त होइन’, पोखरेल भन्छन्, ‘बर्सेनि यो समस्या आइरहने हुँदा जिल्लास्थित वन उपभोक्ता समितिमार्फत पनि दक्ष जनशक्ति उत्पादन, पोखरी निर्माण, पीपीई र अरु सामग्री खरिदमा लगानी गर्नुपर्ने देख्छु ।’

 

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?