+

जानौं, खाना खाएपछि टहलिनु कति फाइदाजनक ?

२०८१ वैशाख  २३ गते १८:३१ २०८१ वैशाख २३ गते १८:३१
जानौं, खाना खाएपछि टहलिनु कति फाइदाजनक ?

खाना खाइसकेपछि राम्ररी पचाउन आराम गर्ने कि हिंड्ने ? कतिपयले खाना खाइसकेपछि खाना राम्ररी पचाउन केही समय आराम गर्नुपर्छ भनी सुझाव दिन्छन् भने कसैले १५ मिनेट हिंड्न सल्लाह दिन्छन् । यस्तोमा के गर्नु फाइदाजनक भन्ने अन्योल हुन्छ ।

तौल घटाउन र फिट रहन स्वस्थ आहार र व्यायाम गर्नुपर्छ । फिट हुने लक्ष्य दैनिक केही घण्टा मात्र व्यायाम गर्दा प्राप्त हुँदैन । स्वस्थ रहनु भनेको समग्रमा स्वास्थ्य जीवनशैली हो, जुन दिनभर पालना गर्नुपर्छ । दिन मात्र होइन, यसमा सुत्ने समय र अवस्था पनि समावेश हुन्छ । खासगरी खाना खाइसकेपछि के गरिन्छ त्यो सबैभन्दा महत्त्वपूर्ण हुन्छ ।

आफ्नो आहारमा पोषक तत्त्वहरू समावेश गर्नुका साथै खानापछिको दिनचर्यामा पनि ध्यान दिनुपर्छ । यस सम्बन्धमा विभिन्न प्रकारका धारणाहरू छन् ।

खाना खाइसकेपछि हिड्नु फाइदाजनक

हिंड्नु कसरत हो, जसले धेरै स्वास्थ्यलाभ दिन्छ । हिंडाइबाट हुने फाइदाका लागि हिंडाइको दूरी र तीव्रतामा ध्यान दिनुपर्छ ।

अनुसन्धानअनुसार खाना खाएपछि छोटो पैदल यात्राले मानिसको रगतमा चिनी र चापको स्तर व्यवस्थापन गर्न मद्दत गर्छ । ग्यास र ब्लोटिंगको समस्या पनि छोटो दूरीको पैदल यात्रा गरेर कम गर्न सकिन्छ । यसले निद्रामा सुधार गर्न र मुटुको स्वास्थ्यलाई बढावा दिन्छ ।

खाना खाएपछि हिड्नुका स्वास्थ्यलाभ

ग्यास र ब्लोटि कम गर्छ

सन् २०२० मा गरिएको एक अध्ययनअनुसार खाना खाएपछि हिंड्दा अपचबाट पीडित व्यक्तिमा ग्यास र अपच जस्ता लक्षण सुधार हुन्छ । अध्ययनले निष्कर्ष निकालेको छ कि यदि हिंड्ने पाइला लगभग ९५ हजार छ भने तपाईंको लक्षण ५० प्रतिशतसम्म कम गर्न सकिन्छ । अन्वेषकहरूले सुझाव दिन्छन् कि शरीर चल्ने बित्तिकै यसले पाचन प्रणालीलाई उत्तेजित गर्छ, जसले खाना पचाउन मद्दत गर्छ ।

एक जर्मन अध्ययनले खाना खाएपछि हिंड्नु भनेको छिटो ग्यास खाली हुने देखाएको छ । यसले पेटबाट खाना कति चाँडो जान्छ र आन्द्रामा पुग्ने निर्णय गर्छ । खाना खाइसकेपछि छोटो दूरी हिंड्दा पाचनक्रिया बलियो बनाउँछ र गति बढ्छ ।

ब्लड सुगर नियन्त्रण गर्छ

खाना खाएपछि रगतमा चिनीको मात्रा स्वाभाविक रूपमा बढ्छ । यसको कारण भनेको आफ्नो आहारमा कार्बोहाइड्रेट समावेश हुनु हो । यसले रगतमा चिनीको मात्रा अस्थायी रूपमा बढाउँछ । मधुमेह नभएको व्यक्तिको शरीरमा इन्सुलिन निस्कन्छ । इन्सुलिनले रगतमा चिनीको मात्रा कम गर्छ र स्तर नियन्त्रणमा राख्न मद्दत गर्छ । रगतमा चिनीको मात्रालाई स्वस्थ स्तरमा ल्याउन खाना खाइसकेपछि हिंड्नुपर्छ ।

सन् २०१८ को एक अध्ययनको निष्कर्षले खाना खानुअघि हिंड्दा भन्दा खानापछि थोरै समय हिंड्दा रगतमा चिनीको मात्रा कम हुने देखाएको छ ।

निद्राको गुणस्तर बढाउँछ

कुनै पनि रूपमा नियमित व्यायामले अनिद्रा हटाउन मद्दत गर्न सक्छ । यो व्यायाममा खाना खाएपछि हिंड्नु पनि समावेश हुन्छ । बेलुकाको खानापछि फुर्सदमा हिंड्न जाँदा निद्राको गुणस्तर सुधार गर्न सकिन्छ । ठिक्क मात्रामा एरोबिक गतिविधि गर्नाले व्यक्तिलाई राति गहिरो निद्राको अनुभव हुन्छ ।

मानसिक स्वास्थ्यका लागि फाइदाजनक

हिंड्नु मानसिक स्वास्थ्य सुधार गर्ने सम्भावित तरिका हो । किनभने यसले एड्रेनालाइन र कोर्टिसोलसहित तनाव हार्मोन कम गर्छ ।

हिंड्दा शरीरले एन्डोर्फिन उत्सर्जन गर्छ, जसलाई खुसी हार्मोन पनि भनिन्छ । तिनीहरूले चिन्ता कम गर्छन्, मुड बढाउँछन्, तनाव कम गर्छन् र आरामको भावना उत्पन्न गर्छन् । खाना खाएपछि हिंड्दा विशेष गरी व्यक्तिको मानसिक स्वास्थ्यमा सुधार हुन्छ ।

केही बेफाइदा छन्

हिंड्नु धेरैजसो व्यक्तिका लागि सुरक्षित र स्वस्थ गतिविधि हो । यद्यपि, केही मानिसले खाना खाएपछि तुरुन्तै हिंड्न गएमा पेट दुख्ने, थकान वा असुविधाको अनुभव गर्छन् । यदि कसैले भारी खाना खाएको छ भने उसले खाना खानेबित्तिकै हिंड्नु हुँदैन केही समयपछि हिंड्नुपर्छ ।

खाना खाएपछि कति समयपछि हिंड्ने भन्ने कुरा व्यक्ति र व्यक्तिको खानाको आकारमा निर्भर हुन्छ ।  किनकि हरेक व्यक्तिको पाचन शक्ति फरक हुन्छ । उनीहरूले खाना खाएपछि कस्तो महसुस गर्छन् भन्ने कुरामा ध्यान दिनुपर्छ र उनीहरूका लागि के राम्रो छ भनेर जान्नुपर्छ ।

खाना खाएपछि तुरुन्तै सुत्नु बेफाइदाजनक

बिहानको वा बेलुकाको खानापछि तुरुन्तै सुत्नु नराम्रो बानी हो । यसो गर्दा एसिड रिफ्लक्सको समस्या निम्तिन सक्छ । अमिलो डकार, असजिलो महसुस हुने र मुख तीतो हुने लगायत समस्या निम्त्याउन सक्छ । मसालेदार वा तेलयुक्त खानेकुरा खाएर सुत्दा यो समस्या अझ बढ्न सक्छ ।

एजेन्सीको सहयोगमा

खाना स्वास्थ्य हिंडाइ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय