+
+

‘पुजार सार्की’को प्रवर्द्धनमा दलित आयोगले सघाउने

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २१ गते १६:४१

काठमाडौं । जातीय विभेदविरुद्ध तीन पात्रले गर्ने संघर्षको कथावस्तुमा बनेको फिल्म ‘पुजार सार्की’बारे राष्ट्रिय दलित आयोगले चासो दिएको छ ।

फिल्मका कलाकार र लेखकलाई आयोगमा बोलाएर अध्यक्षसहितका पदाधिकारीले फिल्मबारे जानकारी लिए । पटकथाकार विकास सुवेदी, कलाकार अञ्जना बराइली र परीक्षा लिम्बू आयोगको कुपण्डोलस्थित कार्यालयमा पुगेका थिए ।

फिल्मको टिमलाई स्वागत गर्न आयोगले विशेष कार्यक्रम नै राखेको थियो । पटकथा लेखक सुवेदीले आयोगलाई फिल्मको कथावस्तुबारे जानकारी दिंदै आफूले देखेको घटनामा आधारित भएर फिल्म निर्माण गरिएको बताए ।

‘गाउँठाउँमा देखेको घटनामा फिल्म लेखेको हुँ । केही घटनालाई प्रगतिशील विचार राख्नेले समेत मुर्ख्याइँको रुपमा लिने गरेका छन् जुन कुरा बाहिर आउन जरुरी छ,’ उनले भने, ‘यसले समाजको दृष्टिकोण अझै बदलिएको रहेनछ भन्ने मलाई लाग्यो ।’

तत्कालीन राजा महेन्द्रले मुलुकी ऐन जारी गर्दै छुवाछूत जघन्य अपराध हो भन्ने स्वीकार गरेको सन्दर्भ र २०४६ सालको जनआन्दोलन वरपरको कथावस्तुलाई फिल्ममा समावेश गरिएको सुवेदीले जानकारी दिए ।

अभिनेत्री बराइलीले आफू पनि दलित समुदायबाट प्रतिनिधित्व गर्ने भएकाले बच्चैदेखि विभेद देखेको स्मरण गरिन् । कथा सुनेपछि काम गर्न उत्साहित भएको बताउँदै उनले सुटिङको क्रममा अझै धेरै चीज सिक्न पाएको अनुभव बाँडिन् ।

अभिनेत्री लिम्बूलाई सुरुमा यस्तो कथामा अझै पनि फिल्म बनाउन जरुरी छ र भन्ने लागेको रहेछ । उनले भनिन्, ‘जुन समुदाय र स्थानमा म हुर्किएँ, त्यहाँबाट हेर्दा अझै पनि यस्तो कथामा फिल्म बनाउन जरुरी छ र भन्ने लागेको थियो ।’ तर फिल्म छायांकन सुरु भएपछि आफूले यसबारे धेरै कुरा देख्ने र बुझ्ने मौका पाएको उनले बताइन् ।

आयोगका अध्यक्ष देवराज विश्वकर्माले जातीय विभेद अन्त्य गर्ने उद्देश्यले यो फिल्म बनेकोमा खुसी व्यक्त गरे । फिल्मलाई आयोगले सहयोग गर्ने प्रतिबद्धता उनले जनाए ।

‘विभेदको विषय १४ प्रतिशत दलित समुदायको मात्र होइन, यसले हाम्रो देशको अर्थतन्त्रमै गम्भीर असर पारेको छ । यो कुराको अन्त्यका लागि फिल्म बनाएर जुन कदम चालिएको छ, त्यसका लागि सम्मान छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?