+
+

प्रमुख निर्वाचन आयुक्त थपलिया भोलि भारत जाने

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २१ गते १६:५४

२१ वैशाख, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया आम चुनाव अवलोकनका लागि भोलि भारत जाने भएका छन् । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्रमुख निर्वाचन आयुक्त थपलियाको भारत भ्रमण स्वीकृत गरेको हो ।

भारतको निर्वाचन आयोगले आम चुनावको अवलोकनका लागि निम्तो गरेको थियो । ९२ देशका निर्वाचन आयोगका पदाधिकारीलाई बोलाएको छ ।

पर्सि आइतबार त्यहाँको निर्वाचन आयोगका अधिकारीहरुले कसरी चुनाव हुँदैछ भनेर जानकारी गराउने कार्यक्रम छ ।

मंगलबार निर्वाचन अवलोकनको कार्यक्रम राखिएको छ ।

नेपाल र भारतका प्रमुख निर्वाचन आयुक्तबीच चार वटा विषयमा छलफल गर्ने कार्यसूची छ । आयोगका अनुसार दक्षिण एसिया क्षेत्रका निर्वाचन आयोगको साझा संस्था ‘फेम्बोसा’को अधिवेशन आगामी नोभेम्बरमा नेपालमा गर्ने तयारी छ । यसबारे पनि दुई देशका प्रमुख आयुक्तबीच छलफल गर्ने एजेन्डा छ ।

भारतको चुनावमा प्रयोग भएको ईभीएम (इलेक्ट्रोनिक भोटिङ मसिन) अनुदानमा माग गर्ने नेपालको तयारी छ । भारतमा प्रयोग भएको ईभीएम पाए त्यहाँ प्रयोग गरेर आयोगले पूर्वतयारीका काम गर्न सक्छ । यसले भोलि नेपालमा पनि इलेक्ट्रोनिक भोटिङ हुने भयो भने सहज हुनेछ ।

निर्वाचन आयोगका कर्मचारीहरूलाई तालिम र आगामी निर्वाचनहरूमा सामाजिक सञ्जाल तथा एआईको दुरुपयोग हुनसक्ने विषयमा रणनीति तयार गर्ने विषयमा साझा मञ्च बनाउने पनि छलफलको एजेन्डा छ ।

गत वर्ष निर्वाचन आयोगका २१ कर्मचारीले भारतमा तालिम लिएका थिए । यो वर्ष ३० जनालाई तालिम दिन प्रस्ताव गरिएको छ ।

प्रमुख निर्वाचन आयुक्त थपलिया २७ गते स्वदेश फर्किने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?