
२१ वैशाख, हेटौंडा । बागमती प्रदेश सभाका पाँच वटा विषयगत संसदीय समिति सभापति चयनका लागि ४ जेठमा निर्वाचन गर्ने दलहरूबीच सहमति जुटेको छ ।
प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले राखेको सर्वदलीय बैठकमा सभापति चयनका लागि निर्वाचन गर्ने सहमति जुटेको हो ।
प्रदेश सभामा प्रदेश मामिला समिति, अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, शिक्षा, स्वास्थ्य तथा कृषि समिति र उद्योग, पर्यटन तथा वातावरण समिति छन् ।
प्रदेश सभामा निर्वाचन प्रक्रियाबाट सभापति चयन हुनेछ । सत्ता गठबन्धनले भने सर्वसम्मत तरिकाले चयन गर्न खोजेको छ ।
मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सर्वसम्मत रूपमा सभापतिको टुंगो लगाउने दाबी गरे । उनले प्रदेश सभाका पाँच ठूला दललाई एक–एक वटा समिति सभापति दिएर जाने विषयमा सहमतिको प्रयास खोजिएको बताए ।
जसअनुसार नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राप्रपाले सभापति पाउने छन् ।
उनले सभापतिको दौडबाट विपक्षी दल नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र हाम्रो नेपाली पार्टी बाहिर रहेको संकेत गरे । ‘नेमकिपाले सभापतिमा इच्छा देखाएको छैन । हाम्रो नेपालीबाट एक जना मन्त्री भइसक्नुभयो । अब प्रदेशका पाँच मुख्य दललाई सभापति दिएर जाने सहमति भएको छ । सर्वसम्मत रूपमै टुंग्याउँछौं,’ उनले भने ।
हाम्रो नेपाली पार्टीले समिति सभापति छोडेर प्रदेश नीति तथा योजना आयोगको सदस्य मागेको सत्तापक्षका एक सांसदले जानकारी दिए । हाम्रो नेपाली पार्टीलाई योजना आयोग सदस्य दिन लागिएको हो ? भन्ने प्रश्नमा मुख्यमन्त्री जम्कट्टेलले भने, ‘त्यो विषयमा पनि छलफल हुँदैछ ।’ हाम्रो नेपाली पार्टीले सरकारमा सहभागी हुनु अघि एक मन्त्री र एक सभापति मागेको थियो ।
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिं लामाले ४ जेठमा निर्वाचन गर्ने दलहरूबीच सहमति जुटे पनि भागबन्डा नटुंगिएको बताए । उनले ठूलो दल भएकाले कांग्रेसले २ वटा सभापति मागेको बताए ।
‘हामी ठूलो दल भएकाले दुई वटा सभापति चाहिन्छ । दुई वटा भए सहमति हुन्छ । नत्र निर्वाचनबाट टुंगिन्छ ।’ लामाले भने ।
१८ पुस २०७९ मा प्रदेश सभाको पहिलो बैठक बसेको थियो । त्यसपछि १२ असार २०८० मा आएर मात्रै प्रदेशका पाँच वटा संसदीय समिति गठन भएको थियो ।
संसदीय समिति चयनको जिम्मेवारी सभामुखको भए पनि प्रदेश सभामा रहेका दलहरूबीच भागबन्डा नमिल्दा सभापति चयन हुन सकेको थिएन ।
प्रतिक्रिया 4