
हुने बिरुवाको चिल्लो पात। उजेली सानैदेखि पढाइमा अब्बल भएर निस्किइन्। ‘एकपटक हेरेपछि यसलाई सबै कण्ठ हुन्छ’ – स्कुलका लगभग सबैजसो सर–मिसहरूले त्यसै भन्थे। स्मरणशक्ति मात्र होइन उजेलीको तार्किक क्षमता पनि उत्तिकै राम्रो थियो।
उसो त उजेलीकी आमा पनि शिक्षिका थिइन्। त्यसले उजेलीलाई पढाइमा अब्बल अनि आत्मविश्वासी बन्न पनि अझ धेरै सहयोग पुग्यो। आमा शिक्षिका मात्र होइनन् गाउँभरिकै सबैले सम्मान गर्ने एक आदर्श नारी र सम्मानित शिक्षिका थिइन् । छोरीलाई आफैंले पढाउने स्कुलमा बिहान हात समाएर लिएर जान्थिन्, छुट्टी भएपछि हात समाएर सँगै घर ल्याउँथिन्।
पाँच कक्षातिर पुगेपछि हो उजेलीले बल्ल आमाको हात छोडेर साथीहरूसँग स्कुल जान थालेकी। ६ कक्षादेखि त आमाले नै स्कुलमा सामाजिक र नैतिक शिक्षा पढाउँथिन्। चौबीसै घण्टा शिक्षिका आमाको रेखदेख र मायामा हुर्किएकी उजेली झनै लगनशील र अनुशासित विद्यार्थीको रूपमा बढ्दै गइन्।
उजेली १ देखि १० कक्षासम्म कहिल्यै पनि दोस्रो भइनन्। एसएलसी परीक्षामा समेत स्कुलको सबै रेकर्ड तोड्दै सबैभन्दा बढी अङ्क ल्याउने विद्यार्थी बन्दै उत्तीर्ण भइन्।
गाउँको स्कुल १० कक्षासम्म मात्र भएकाले थप पढ्नको लागि सदरमुकाम या त काठमाडौं जानुपर्थ्यो। सबैको सल्लाहसुझाव अनुसार परिवारबाट उजेलीलाई काठमाडौं नै पठाउने निर्णय भयो किनकि सदरमुकाम भन्दा अवसरहरू पनि तुलनात्मक रूपमा बढी अनि बाहिरी संसार पनि अलि ठूलो हुन्थ्यो।
स्कुलका प्रत्येक सर–मिसले ‘यसले छात्रवृत्तिमा सजिलै नाम निकालेर डाक्टर पढ्न सक्छे’ भन्थे। अपेक्षा पनि सबैले त्यही गरेका थिए। तर उजेलीलाई डाक्टर बनेर हस्पिटलका कोठाहरूमा बसिरहन भन्दा पाइलट बनेर खुल्ला आकाशमा उड्नु रमाइलो हो भन्ने लाग्यो।
उनले आफूलाई पाइलट चाहिं बन्ने रुचि भएको कुरा घरमा सुनाइन्। त्यत्रो पढेलेखेकी, शिक्षिका आमाले उनको इच्छा नबुझ्ने कुरै थिएन। अत: उजेली पाइलट बन्ने सपना लिएर काठमाडौं लागिन्।
घरव्यवहार चलाउन खासै गाह्रो थिएन। आमाको जागिर छँदै थियो। बुबा पनि परिआएको बेलामा जजमानी गर्थे। आफ्ना छोराछोरी शिक्षित होउन्, संसार देखुन्/बुझुन् भन्ने कसको मनमा हुँदैन र! त्योमाथि उजेली त त्यति लगनशील, इमानदार र अनुशासित थिइन्। शिक्षाको महत्व बुझेकी आमाले घरबाट टाढा हुँदा पढाइ नबिग्रियोस् भनेर उजेलीलाई केही कुराको अभाव महसुस हुन दिइनन्।
उजेलीले सबैको साथ, सहयोग, प्रोत्साहनलाई सदुपयोग नै गरिन्। दुई वर्षमा त उजेली काठमाडौंमा छुट्टै उचाइमा पुगिसकेकी थिइन्। उजेलीले यति धेरै प्रगति गरिन् कि दोस्रो वर्षको अन्त्यमा, अन्तर्राष्ट्रियस्तरको प्रवेश परीक्षामा प्रथम भएर पाइलट पढ्नको लागि अमेरिकी सरकारको पूर्ण छात्रवृत्तिमा अमेरिका जाने भइन्।
काठमाडौं गएर उजेलीले डाक्टरी पढ्छे र हाम्रो स्कुल र गाउँबाटै उजेली पहिलो डाक्टर बन्छे भन्नेमा चाहिं स्कुल र गाउँका सबै लगभग पक्का थिए। तर विश्वकै टप विश्वविद्यालयमा, त्यो पनि पूर्ण छात्रवृत्ति सहित पढ्न अमेरिका नै जाली भनेर त गाउँमा खासै कसैले पनि कल्पना गरेका थिएनन्।
आकाशतिर टाउको फर्काएर हेर्दा चरो उडेको जस्तो देखिने हवाइजहाज आफ्नै गाउँकी उजेलीले उडाउने कुरा सम्झेर सबै गाउँले खुसी भए ।
आफ्नी छोरीलाई राम्रो शिक्षादीक्षा दिएर, असल बानी व्यवहार सिकाएर हुर्काएकोले यो सब सम्भव भएको हो भन्दै स्कुलमा, अनि गाउँका विभिन्न समूहहरूले पनि उजेलीकी आमालाई सम्मान कार्यक्रमको आयोजना गरे।
स्कुलको नाम राखेकोमा सबै सर–मिस अनि विद्यार्थीहरू गौरवान्वित भए। ‘उजेली दिदी जस्तै बन्नुपर्छ’ भनेर प्रत्येक कक्षामा, प्रत्येक सर–मिसहरूले उजेलीकै उदाहरण दिन थाले। स्कुलको अभिभावक भेलामा आफ्ना छोराछोरीहरूलाई कसरी हुर्काउने भन्ने कुरा उजेलीकी आमाबाट सिक्न सबै अभिभावकहरूलाई पनि प्रेरित गरियो।
***
हेर्दाहेर्दै उजेली पाइलट बन्न अमेरिका गएको पनि पाँच वर्ष बित्यो। थप एक वर्षजति बस्न पाएकी भए उजेलीले आफैं प्लेन उडाएर अमेरिकाबाट नेपाल आउन पनि सक्थिन्। तर पढाइ नसकिएसम्म, लगभग पाँच वर्ष घर र देशबाटै टाढा बस्दा उजेलीलाई पनि घरको न्यास्रो लाग्यो, घरकालाई पनि उजेलीको। त्यसैले उजेली पाइलट पढाइ सकिने बित्तिकै घर फर्किइन्। फर्किएको केही दिनमै उनलाई जागिरका प्रशस्त प्रस्तावहरू आइहाले।
समय बित्न के बेर ! उजेलीले जागिर खाएको पनि एक वर्ष बित्यो। यी सब हुँदा उनी पनि २८ वर्ष लागिसकेकी थिइन्। छुट्टीमा घर आएको बेला एकदिन आमाले उजेलीको विवाहको कुरो उठाइन्- “हेर छोरी यत्रो देश-विदेश घुमेर, देखेर, पढेर, बुझेर आयौ। अहिलेको लागि पढाइ पनि लगभग पूरा गरिहाल्यौ। जागिर पनि छँदैछ। राम्रा कुलघरानाबाट कुरा पनि आउन थालेका छन्। अब त बिहे पनि गर्नुपर्छ होला। केही सोचेकी हौली नि तिमीले पनि?”
उजेलीले अलिअलि लाज माने जस्तो गर्दै भनिन्, ‘सोचेकी छु नि आमा। मैले त आफ्नो जीवनसाथी पनि खोजिसकेकी छु। हामी एउटै अफिसमा काम गर्छौं। अब कहिले विवाह गर्ने भनेर घरमा पनि सल्लाह गर्ने हो कि भनेर कुरा हुँदैथियो हाम्रो पनि।’
आमा झसङ्ग भइन्। आँखा अलि ठूला पारिन्। दायाँबायाँ हेरिन्। कसैले सुन्ने हो कि भने जस्तो गर्दै सानो स्वरमा सोधिन्- “के जातको ?”
प्रतिक्रिया 4